कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीउ विक्रेताको तथ्यांक संकलन गरिँदै

गरिमा धान पसाएन
भवानी भट्ट

(कञ्चनपुर) — कैलाली र कञ्चनपुरमा रोपिएको गरिमा जातको धान नपसाएपछि बीउ विक्रेतामाथि कारबाही प्रक्रिया अघि बढेको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरले दुवै जिल्लाका धानको बीउ बिक्रेताहरूको तथ्यांक संकलनको काम सुरु गरेको हो । तथ्यांक संकलनपछि मुद्दा दर्तालगायतको कारबाही प्रक्रिया अघि बढाइने ज्ञान केन्द्रले जनाएको छ । 

बीउ विक्रेताको तथ्यांक संकलन गरिँदै

बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रले बिक्रेताहरूको यथार्थ जानकारी संकलन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन पत्राचार गरेको छ । सोहीअनुसार बिक्रेता र बिक्री भएको बीउको मात्राबारे विवरण संकलनको काम भइरहेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त प्रमुख रामचन्द्र भट्टले बताए ।


कृषि ज्ञान केन्द्रले संकलन गरेको तथ्यांकअनुसार हालसम्म कैलाली र कञ्चनपुरमा अढाई टन गरिमा धानको बीउ बिक्री भएको विवरण प्राप्त भएको छ । उक्त परिमाण अझै बढ्न सक्ने देखिन्छ ।


यसैगरी कैलाली र कञ्चनपुरमा १ हजार २ सय १९ परिवारले ३ सय ४९ हेक्टरमा गरिमा जातको धान लगाएको तथ्यांक संकलन भएको छ । जसमध्ये कैलालीमा ६५ प्रतिशत र कञ्चनपुरमा ३५ प्रतिशत रहेको छ । यो तथ्यांक बढ्ने क्रममा रहेको निमित्त प्रमुख भट्टले बताए । ‘कृषक र बिक्रेताहरूबाट निरन्तर तथ्यांक संकलन भइरहेको छ,’ उनले भने, ‘अझै एक/डेढ हप्ता लाग्न सक्छ ।’


गत वर्ष केही किसानले मात्रै गरिमा धान लगाएका थिए । बढी फल्ने र खानमा मिठो हुने भएकाले कृषकहरूले यसलाई धेरै रुचाएका हुन् । तर, यसपटक धान नै नपसाएपछि कृषकहरू निकै चिन्तित भएका छन् । ‘राम्रो धानको बीउ छ भन्दै यसपालि डेढ बिघामा लगाए तर अहिलेसम्म पसाएन,’ भीमदत्त नगरपालिका–२ उल्टाखामकी मीना भण्डारीले भनिन्, ‘मलखाद, जोताइ र सिँचाइमा पनि धेरै खर्च भयो ।’


कञ्चनपुरको भीमदत्तसँगै शुक्लाफाँटा, बेलौरी र पुनर्वास नगरपालिका तथा बेलडाँडी गाउँपालिकामा गरिमा धानको खेती गरिएको छ । यसैगरी कैलालीमा जोशीपुर, गौरीगंगा, कैलारी, जानकी गाउँपालिका तथा घोडाघोडी र टीकापुर नगरपालिकालगायतका ठाउँमा यस जातको धान रोपिएको छ । कात्तिकसम्म पनि धान नपसाएपछि कृषकहरू निकै चिन्तित बनेका छन् । कतिपय बीउ बिक्रेताप्रति आक्रोशित पनि छन् ।


सुदूरपश्चिम कृषि विकास निर्देशनालयले असोज पहिलो साता गरिमा धानको अनुगमन तथा छानबिनका लागि कार्यदल बनाएको थियो । निर्देशनालयका प्रमुख यज्ञराज जोशीको संयोजकत्वमा रहेको कार्यदलले तथ्यांक संकलनसँगै धानको अहिलेको अवस्थाबारे पनि अनुगमन गरिरहेको छ ।


गरिमा धान भारतमा उत्पादन गरिएको हाइब्रिड जात हो । यो नेपालमा ०७२ मा सूचीकृत भएको हो । नेपालमा यसको आधिकारिक बिक्रेता दाङको सनराइज एग्रिकल्चर एन्ड रिसर्च सेन्टर रहेको छ । गरिमा भनी बिक्री गरिएको धानको कृषि अनुसन्धान परिषद्ले डीएनए परीक्षण गरिरहेका छ । उक्त धान नक्कली वा सक्कली कस्तो प्रकारको हो भन्ने विषय डीएनएको रिपोर्ट आएपछि थाहा हुनेछ ।


बीउबिजन बिक्री वितरण ऐन ०४५ ले खराब बीउ वा गलत सूचना दिनेलाई क्षतिपूर्ति र कारबाहीको व्यवस्था गरेको छ । ऐनको नियम ३६ मा बीउको गुणस्तर र सूचनाका आधारमा कसैलाई आर्थिक हानि वा नोक्सानी पुग्न गएमा मूल्यांकन समितिले गरेको मूल्यांकन र सिफारिसका आधारमा सम्बन्धित पक्षलाई क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गरिएको छ । ‘तथ्यांक संकलनपछि बीउबिजन बिक्री वितरण ऐनअनुसार बिक्रेतामाथि मुद्दा चलाउन सकिनेछ,’ निमित्त प्रमुख भट्टले भने ।


प्रकाशित : कार्तिक ४, २०७६ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?