स्वी छिङलाई पछ्याउन हतारिए चिनियाँँ

लक्ष्मी लम्साल

(बेजिङ) — नेपाल भ्रमण वर्ष २०२० का लागि चिनियाँ सद्भावना दूत नियुक्त भएपछि अभिनेत्री स्वी छिङलाई पछ्याउन हजारौं चिनियाँ हतारिएका छन् । उनीहरूको यो हतारो चिनियाँ ट्वीटर मानिने ‘वैपो’ मा देखिएको छ । 

सामाजिक सञ्जालमा उनले फोटोसहितआफ्नो प्रतिक्रिया लेखेकी थिइन् । केही घण्टामै लाखौं शुभेच्छुकहरूले उनीप्रति सद्भाव र गौरव लागेको भन्दै नेपाल यात्राका लागि व्यग्र प्रतीक्षा गरिरहेको उल्लेख गरेका छन् । चिनियाँ रंगमञ्चमा निकै लोकप्रिय यी अभिनेत्रीका लाखौं प्रशंसक छन् । उनको यो नियुक्तिप्रति सौन्दर्य देवी, चिनियाँकी गौरव, रहस्यमयी सुन्दरी, अद्भूत प्रतिभाशालीजस्ता विशेषण प्रयोग गरेर धेरै वैपो प्रयोगकर्ताहरूले प्रशंसा गरेका छन् ।

चिनियाँ समयअनुसार आइतबार दिउँसो सवा १ बजेतिर उनले नेपाल र चीनबीचको मित्रता युगौंदेखि पुरानो रहेको उल्लेख गर्दै एउटा स्टाटस वैपोमा पोस्ट गरेकी थिइन् । उनले लेखिन्, ‘नेपाल र चीनबीचको युगौं पुरानो मित्रता छ । हिमालय क्षेत्र रहस्य र सौन्दर्यले भरिएको छ । नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत बन्न पाएकामा अत्यन्त सम्मानित महसुस गरेकी छु ।’

अभिनेत्री स्वी छिङले पोस्ट गरेको केही घण्टामै हजारौंले रिट्वीट गरेका छन् भने उत्तिकै संख्यामा कमेन्ट र लाइकहरू देखिएका छन् । अधिकांश प्रयोगकर्ताले नेपालको भ्रमण गर्न आतुर रहेको प्रतिक्रिया दिएका छन् भने कतिपयले मन्त्री योगेश भट्टराई र स्वी छिङ सँगसँगै भएको तस्बिर पोस्ट गर्दै ‘राम्रो’ देखिएको टिप्पणी लेखेका छन् ।

युआन अर नाम गरेकी वैपो प्रयोगकर्ताले भ्रमण गर्न मन पराउने अभिनेत्रीका लागि पर्यटन दूत बन्नु निकै सान्दर्भिक अवसर भएको उल्लेख गरेकी छन् । अधिकांश प्रयोगकर्ताले जस्तै उनले स्वीलाई चिनियाँ गौरवको संज्ञा दिएकी छिन् । स्याउ चिङ नाम गरेकी वैपो प्रयोगकर्ता लेख्छिन्, ‘समय भएमा नेपाल यात्राको ‘ब्लग’ पोस्ट गर्नुहोस्, हामी पनि हेरौं, नेपाल कस्तो छ ?’

‘रहस्यले भरिएको देश नेपाल’, अर्का प्रयोगकर्ता समरले लेखेकी छन्, ‘मेरो नयाँ यात्राको पवित्र गन्तव्य ।’ आफ्नो विदेश यात्राको एउटा गन्तव्य थपिएको भन्दै उनले स्वीबाट प्रभावित भएको जनाउ दिएकी छन् ।

नेपालकी दुलही भन्दै जेडवाईडब्लू एलडी नाम गरेका प्रयोगकर्ताले नेपालको प्राकृतिक दृश्यको भ्रमण पर्खिरहेको प्रतिक्रिया लेखेका छन् । त्यस्तै स्याउ याथौ थोङले लेखेकी छन्, ‘रहस्यमयी तथा विशेष नेपाल, रहस्यमयी तथा विशेष तिमी ।’

यो पोस्ट सार्वजनिक हुँदासम्म स्वी छिङका वैपो फलोअरको संख्या १ करोड ६८ लाख ५५ हजारभन्दा बढी पुगेको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच चिनियाँ तथा हलिउड अभिनेत्री स्वीलाई नेपाल भ्रमण वर्ष सद्भावना दूत घोषणा गरिएको थियो ।

सन् १९६९ मा बेइजिङमा जन्मिएकी स्वी छिङले ‘पियान्चौ पियान्छाङ (लाइफ अन अ स्ट्रिङ)’ नामक चलचित्रबाट डेब्यु गरेकी थिइन् । हलिवुड तथा चिनियाँ चलचित्र दुनियाँमा निरन्तर सक्रिय स्वीको पछिल्लो उपलब्धि ‘गुड अगेन्स्ट एभिल’ नाम चलचित्र गत वर्ष ५५औं ताइवान गोल्डेन हर्स अवार्डमा छानिनु थियो । यसबाहेक उनीद्वारा अभिनित नाटक, टेलिचलचित्रलगायत कलाकर्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारका लागि छानिएका थिए ।

प्रकाशित : कार्तिक ४, २०७६ ११:०७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सीले सम्झिए नेपाल भ्रमण

लक्ष्मी लम्साल

बेइजिङ — चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो नेपाल भ्रमणको पुनः स्मरण गरेका छन् । चीनको हुपै प्रान्तस्थित वुहानमा शुक्रबारदेखि सुरु भएको विश्व सैन्य खेलकुद प्रतियोगिताको उद्घाटनमा नेपालका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेट्दै उनले आफ्नो हालसालैको नेपाल भ्रमणप्रति चर्चा गरेका हुन् ।

प्रतियोगिताको उद्घाटन गरेपछि सीले त्यहाँ उपस्थिति विभिन्न देशका मन्त्री तथा उच्च पदाधिकारीहरुसँग छोटो कुराकानी गर्दै हात मिलाएका थिए ।

त्यस क्रममा राष्ट्रपति सीले कुराकानी भएको मन्त्री पोखरेलले सुनाए । सीको भनाई उद्धृत गर्दै पोखरेलले भने, ‘हामीले नेपाल भ्रमणको बेलामा धेरै विषयमा लामो कुराहरू गरेका थियौं ।’

सीले असोज २५ र २६ गते नेपालको दुई दिने राजकीय भ्रमण गरेका थिए। प्रतियोगिताको उद्घाटन समारोहमा भाग लिएपछि मन्त्री पोखरेल बेइजिङ उत्रिएका थिए । उनले आइतबार चिनियाँ रक्षामन्त्री वेई फेन्ग्हेसँग भेटवार्ता गरेको र सम्झौतामा हस्ताक्षर गरिएको जानकारी दिए ।

उनले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा भएका सम्झौताहरू कार्यान्वयनको चरण सुरु भएको प्रतीकका रूपमा यस सम्झौतालाई लिए। उनले भने, ‘सम्भवतः सीको नेपाल भ्रमणको सम्झौता कार्यान्वयनको यो नै पहिलो कार्यक्रम हो ।’

प्रकाशित : कार्तिक ३, २०७६ २०:०४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्