कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनीमा चिनियाँ पर्यटक बढ्ने आशा

मनोज पौडेल

(कपिलवस्तु) — चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा नेपाल भ्रमण वर्ष २०२० लाई सघाउने प्रतिबद्धता आएपछि लुम्बिनी क्षेत्र आसपास चिनियाँ पर्यटक बढ्ने आश पलाएको छ । दुई मुलुकबीच यस्तो सहमतिले चिनियाँ पर्यटक बुद्धजन्मस्थल आउन प्रोत्साहित हुने विश्वास सरोकारवालाले गरेका छन् । 

लुम्बिनीमा चिनियाँ पर्यटक बढ्ने आशा

राष्ट्रपति सीले यहाँ आउनुअघि लेखेको लेखमा लुम्बिनीको प्रसंग जोडेका छन् । लुम्बिनीमा आफ्नो मुलुकले बनाएको चिनियाँ बौद्ध मन्दिर चीन र नेपालबीचको धार्मिक र सांस्कृतिक आदानप्रदानको प्रतीक बनेको उल्लेख गरेका छन् ।


पाँच वर्षयता यहाँ चिनियाँ पर्यटक बढेका छैनन् । ‘अघिल्लो वर्ष नेपालमा नरेन्द्र मोदी आउँदा लुम्बिनीमा भारतीय पर्यटक बढेका थिए,’ लुम्बिनी होटल संघका महासचिव लीलामणि पौडेलले भने, ‘राष्ट्रपति सीको भ्रमण र प्रतिबद्धतापछि चिनियाँ पर्यटक बढ्ने कुरामा ढुक्क छौं ।’


चिनियाँ सञ्चार माध्यमले राष्ट्रपति सीको भ्रमणका क्रममा नेपाली आतिथ्यबारे सकारात्मक सन्देश प्रवाह गरेको पौडेलले बताए । ‘करोडौं खर्च गरेर चिनियाँ सञ्चार माध्यममा विज्ञापन दिनुपर्थ्यो । राष्ट्रपतिको भ्रमणले खर्च पनि जोगियो,’ उनले भने, ‘आतिथ्य मन पराउने चिनियाँ पक्कै लोभिएका छन् ।’


सन् २०१४ मा २० हजार ७ सय चिनियाँ पर्यटक लुम्बिनी आएका थिए । त्यसपछि संख्या ओरालो लागेको छ । २०१५ मा १२ हजार १ सय र २०१६ मा १६ हजार ३ सय पर्यटक लुम्बिनी आए । २०१७ मा १५ हजार ७ सय र २०१८ मा १८ हजार ४ सय पर्यटक आए । २०१९ को नौ महिनामा १३ हजार ७ सय ९५ चिनियाँ पर्यटक आएका छन् ।


भारतसँग सहज आउजाउ छ । प्रभाव तत्काल देखिन्छ । राष्ट्रपति सीको भ्रमण र प्रतिबद्धताले प्रभाव पार्न केही समय लाग्ने व्यवसायीले बताए । ‘राष्ट्रपतिको भ्रमणले अवश्य प्रभाव पार्छ,’ होटल संघ लुम्बिनीका अध्यक्ष मिथुनमान श्रेष्ठले भने, ‘केही समय कुर्नुपर्छ । कनेक्टिभिटी बढाउनुपर्छ । स्थल मार्ग सहज छैन । हवाई भाडा महँगो छ । त्यसैले चिनियाँ पाहुना बढाउन स्थल मार्ग सहज र धेरै चीनका सहरसँग नेपाली वायुसेवाले सिधा हवाई सम्पर्क बढाउनुपर्छ ।’


समूहमा हिँड्ने चिनियाँ पर्यटकले धेरै खर्च गर्छन् । अधिकांशले प्याकेजमा यात्रा गर्छन् । सन् २०१८ मा १५ करोडभन्दा बढी चिनियाँ विदेश घुम्न निस्केका थिए ।


चीनले आफ्ना नागरिकलाई विदेश घुम्नका लागि प्रोत्साहित गर्छ । चीनको एप्रुभ्ड डेस्टिनेसन स्टाटस (एडीएस) मा नेपाल पनि पर्छ । चीनले सन् २००२ देखि नेपाललाई एडीएसमा राखेको थियो । एडीएस नपाएको मुलुकमा घुम्न जान चिनियाँ नागरिक हिच्किचाउँछन् । ‘राष्ट्रपति घुमेको मुलुक भनेर चीनका पर्यटकले नेपाललाई बुझ्छन्,’ लुम्बिनी विकास कोषका निमित्त उपाध्यक्ष सुरेन्द्रमुनि शाक्यले भने, ‘त्यो अवसरलाई हामीले उपयोग गर्नुपर्छ ।’

प्रकाशित : कार्तिक ३, २०७६ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?