कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

बीउसँगै भित्रियो फौजी किरा

ठाकुरसिंह थारू

(बर्दिया) — नौ वर्षअघि देखिएको फौजी किराको प्रकोपबाट यहाँका किसानले बर्सेनि क्षति बेहोर्नु परिरहेको छ । ०६७ मा राजापुर र बढैयाताल क्षेत्रमा यसको प्रकोप फैलिएको थियो । त्यसयता बर्सेनि किराको आतंक जारी छ । नियन्त्रण प्रयास गरिए पनि सफलता मिलेको छैन ।

बीउसँगै भित्रियो फौजी किरा

अहिले मकै, गहुँ र तरकारीमा फौजी किरा देखिन थालेपछि किसान मारमा पर्दै आएका छन् । ‘खास गरी हावापानी र बीउबाट सरेर नेपाल भित्रिएको हो । विदेशबाट खरिद गरिएको बीउबाट आउन सक्छ । मानिसको शरीरमा पनि जीवाणु टाँसिएर भित्रिएको हुन सक्छ,’ बाँकेको खजुरास्थित बाली संरक्षण प्रयोगशाला प्रमुख पुष्पराज बेलवासेले भने, ‘छिमेकी मुलुकबाट भित्रिने सम्भावना बढी हुन्छ ।’ पछिल्लो समय आयात गरिएका हाइब्रिड प्रजातिका बीउ बढी प्रयोग हुन थालेपछि नयाँनयाँ रोग भित्रिन थालेको कृषिविज्ञको भनाइ छ । ०६७ को दसैंमा धानको बाला भुइँमा खसिरहेको पहिलोपटक किसानले देखे । त्यो देखेर आश्चर्यमा परेका थिए । उनीहरूले त्यसको कारणबारे पत्ता लगाउन गुरुवा र धामीको सहारा लिए ।


क्षति हुन नरोकिएपछि कृषि अधिकारी गुहारे । उनीहरूको अनुसन्धानपछि फौजी किरा लागेको बारे पत्ता लाग्यो । त्यसयता किसान बर्सेनि यसबाट पीडित बन्दै आएका छन् । धानमा मात्रै होइन, मकै, गहुँ र मसुरोमा पनि फौजी किराको प्रकोप देखिन थालेपछि खेतिपातीमा चुनौती थपिएको छ । तर, फौजी किराको प्रकोप नियन्त्रण हुन सकेको छैन । बर्दियाबाट सुरु भएको प्रकोप छिमेकी बाँके, कैलालीलगायतका जिल्लामा सर्दै गएको छ । दीर्घकालीन रूपमा किराको प्रकोपको नियन्त्रणमा समस्या देखिएको छ । ‘फौजी किरा अन्य वैकल्पिक बालीमा पनि सरिसक्यो । धानबाट मकै, गहुँमा पनि त्यसको जीवाणु सरिसकेकाले नियन्त्रणमा चुनौती थपिएको हो,’ बाली संरक्षण प्रयोगशालाका प्रमुख बेलवासेले भने, ‘खेतबारीमा पुतली देखिसकेपछि निरन्तर फ्लोअप गर्ने हो भने नियन्त्रण गर्न सकिन्छ । तर, यो दीर्घकालीन समाधान भने होइन ।’


विभिन्न जातको बीउमा फौजी किराको जीवाणु सरिसकेकाले दीर्घकालीन रूपमा समस्या समाधान हुन कठिनाइ भएको हो । दीर्घकालीन रोकथाम गर्न पुतलीको जीवनचक्रको सूक्ष्म अध्ययन गर्न आवश्यक छ । किराले क्षति पुर्‍याएपछि मात्रै किसानले थाहा पाउँछन् । एनपीभी नामक भाइरसले काम नगर्न सक्छ । निरन्तर बिजुलीको व्यवस्था नभएका कारण भाइरस उत्पादनमा समस्या भएको हो । ‘खैरो खालको पुतली देखेपछि निगरानी गर्न सुरु गर्नुपर्छ । लाइफ साइकल चार–पाँच दिन हुन्छ । काँचुली फेर्दै १२ दिनमा तयार हुन्छ,’ प्रमुख बेलवासेले भने, ‘यो चरण एकदमै खतरनाक हो । वातावरण राम्रो पायो भने पुतली बनेर उड्छ । होइन भने जमिनमै बस्छ ।’ पछिल्लो समय मकैमा लाग्ने अमेरिकाबाट (फल अर्मीवार्म) अमेरिकन फौजी किरा नेपालमा भित्रिएको छ । अमेरिकाबाट अफ्रिका पुग्यो । त्यहाँबाट बंगलादेशसम्म पुग्यो । भारतमा १९१८ मा भित्रियो । ०७६ जेठ महिनामा नवलपरासीको गैंडाकोटका किसानले लगाएको मकैमा अमेरिकन फौजी किराको प्रकोप देखियो । त्यसमो प्रकोप मुलुकभरि फैलिन सक्ने चेतावनी कृषि अधिकारीहरूले दिएका छन् ।


सन् २०१३ मा बाँके र बर्दियाका किसानले छरेको मसुरो बालीमा फौजी किरा देखिएको थियो । मसुरो बालीमा फौजी किराको प्रकोप त्यसबेला पहिलोपल्ट देखिएको हो । बर्दियाको सानोश्री र ताराताका किसानले लगाएको मसुरो बालीमा फौजी किराको प्रकोप देखिएको थियो । त्यस क्षेत्रका किसानले लगाएको डेढ हेक्टर जग्गाको मसुरोमा क्षति पुगेको थियो ।


बाली संरक्षण निर्देशनालय कार्यक्रमका तत्कालीन निर्देशक युवकध्वज जीसी, वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदी र क्षेत्रीय बाली संरक्षण प्रयोगशाला, खजुराका अधिकारीहरूले अध्ययन गरेका थिए । सन् २०१४ मा बाँकेको हिरमिनियाका किसानले लगाएको तरकारीमा फौजी किराको प्रकोप फैलिएको थियो । बिक्री गर्न तयार भइसकेको भिन्डी, मुला, पिँडालु, खुर्सानी र लहरे तरकारीमा किराले बढी क्षति पुर्‍याएको थियो ।


कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले फौजी किरा नियन्त्रणका लागि इमिडा क्लोप्रिट नामक विषादी छर्नुपर्ने बताए । तर, यो दीर्घकालीन उपाय भने होइन । ‘यसका लागि बीउको प्रयोगदेखि किसानमा सचेतना र कृषि वैज्ञानिकहरूको अनुसन्धान आवश्यक पर्छ,’ उनले भने, ‘बीउको प्रयोग धेरै भइसकेकाले कहाँ कसरी नियन्त्रण गर्ने समस्या भएको हो ।’ हजारौंको संख्यामा बस्ने उक्त किराले एकसाथ एक स्थानबाट आर्मी शैलीमा चारैतिर फैलिंँदै बालीेको कलिलो भाग काटेर त्यसभित्रको रस चुस्छ । दिउँसो बालीको जरामा लुकेर बस्ने र रातिको समयमा मात्रै यसले आक्रमण गर्छ । दिउँसो किरा नदेखिने तर बाली काटेर भुइँमा झर्दा पशुचौपायाले चरेको जस्तो देखिन्छ । त्यसैले किसानहरू फौजी किराको प्रकोपबारे ढिलो गरी थाहा पाउँछन् । फौजी शैलीमा किराले धानको बालामा आक्रमण गर्ने भएका कारण कृषि अधिकारीहरूले ‘आर्मी वर्म’ नाम दिएका हुन् ।

प्रकाशित : आश्विन ३०, २०७६ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?