कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

विदेश अध्ययन र भ्रमण खर्च घट्यो

यज्ञ बञ्जाडे

काठमाडौँ — नेपालीले विदेशमा घुमघाम र अध्ययनमा गर्ने खर्च घटेको छ । केही वर्षयता अध्ययन र भ्रमणका नाममा ठूलो रकम बाहिरिँदै आएकामा चालु वर्षको सुरुदेखि त्यस्तो खर्च घटेको राष्ट्र बैंकको गत साउन महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनले देखाएका हो । सरकारले कर्मचारीको विदेश भ्रमणमा कडाइ गरेको, राष्ट्र बैंकले विदेशी मुद्रा सटही सुविधाको सीमा घटाएको लगायतका कारण घुमघाम र अध्ययनका लागि बाहिरिने खर्च घटेको बताइएको छ । 

गत साउनमा मात्र नेपालबाट विदेश भ्रमणका लागि ७ अर्ब १ करोड रुपैयाँ बाहिरिएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो खर्च करिब ८.३ प्रतिशतले घटेको हो । आर्थिक वर्ष ०७५/७६ मा साउनमा भ्रमण शीर्षकमा ७ अर्ब ६४ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ । विदेश भ्रमणमा भएको गत साउनको खर्च आर्थिक वर्ष ०७४/७५ को भन्दा पनि कम हो । आर्थिक वर्ष ०७४/७५ मा भ्रमण शीर्षकमा ७ अर्ब ९ करोड रुपैयाँ बाहिरिएको थियो ।


राज्यको नीतिगत व्यवस्थाका कारण विदेश भ्रमणमा बाहिरिने खर्च घटेको हुन सक्ने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । ‘राष्ट्र बैंकले पनि विदेशी मुद्रा सटही सुविधामा कडाइ गरेको छ,’ उनले भने, ‘सरकारले कर्मचारीको विदेश भ्रमणमा कडाइ गरी मातहतको मन्त्रालयबाट स्वीकृत गराएर मात्र विदेश जान पाइने व्यवस्था गरेको छ ।’


पहिलो महिनामा विदेश अध्ययन र भ्रमणको खर्च घट्यो भन्दैमा यसलाई सुधारका रूपमा विश्लेषण गर्न नसकिने उनले बताए । ‘आउँदा दिनमा कस्तो प्रवृत्ति देखिन्छ, त्यसको आधारमा विश्लेषण गर्न सजिलो हुन्छ,’ उनले भने । भ्रमणमा हुने खर्च घटेसँगै विदेश अध्ययनका लागि बाहिरिने रकममा पनि कमी आएको छ । राष्ट्र बैंकका अनुसार गत साउनसम्म अध्ययनका लागि मात्र ३ अर्ब ४९ करोड रुपैयाँ बाहिरिएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत साउनमा बाहिरिएको रकम ९.१ प्रतिशतले कम हो । आर्थिक वर्ष ०७५/७६ को साउनमा अध्ययनका लागि ३ अर्ब ८४ करोड रुपैयाँ बाहिरिएको थियो ।


गत वर्ष विदेशमा अध्ययनकै लागि ४६ अर्ब ३२ करोड रुपैयाँ बाहिरिएको सरकारी तथ्यांक छ । अघिल्लो वर्ष यस्तो रकम ३८ अर्ब ८ करोड रुपैयाँ थियो ।


भारत, चीन, अमेरिका, अस्ट्रेलिया, जापानलगायत राष्ट्रमा पढ्न जाने विद्यार्थी संख्या बढेसँगै हरेक वर्ष मुलुकबाट बाहिरिने विदेशी मुद्राको परिमाण पनि बढेको प्रतिवेदनमा जनाइएको थियो ।


शिक्षामा हरेक वर्ष ठूलो रकम बाहिरिन थालेपछि सरकारले पनि विदेशमा अध्ययनका लागि कडाइ गर्ने कि भन्ने विषयमा नीति निर्माण तहमा छलफल सुरु गरेको छ भने नैतिक रूपमा निरुत्साहित गर्न थालेको छ । यही कारण चालु आर्थिक वर्षको सुरुदेखि नै सुधार देखिन थालेको राष्ट्र बैंकको दाबी छ । चालु आर्थिक वर्षको बजेटमा विदेशी अध्ययनलाई कडाइ गर्ने कि भन्ने सम्बन्धमा व्यापक छलफल भएको थियो । छलफलमा भारत, चीन, अमेरिका, अस्ट्रेलिया, जापानलगायत मुलुकबाट पछिल्लो समयमा रेमिट्यान्स बढ्न थालेको र विदेशमा अध्ययन गरी स्वदेश फर्किने प्रवृत्ति सुरु भएकाले भन्दै विदेशमा अध्ययनलाई कडाइ गर्ने बेला भइनसकेको निष्कर्ष निकालियो । सोही कारणलगायत पछिल्लो समयमा दुई वटा तर्क बलियो भएपछि उक्त विषय अन्तिम समयमा बजेटमा राखिएको थिएन ।


एकैपटक बन्द नै गर्नुको साटो बिस्तारै निजी खर्चमा विदेश पढ्न जाने प्रवृत्ति नियन्त्रण गरिँदै जाने अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए । ‘छात्रावृत्तिमा विदेशमा अध्ययन गर्न जानेलाई कुनै अप्ठेरो हुँदैन,’ ती अधिकारीले भने, ‘तर, घरबाटै सबै खर्च व्यहोर्ने गरी गरिएका विदेशी अध्ययन निरुत्साहित गर्ने नीति सरकारको छ ।’ यस विषयमा निरन्तरजसो छलफल हुँदै आए पनि मुलुकको चालु खाता र भुक्तानी सन्तुलन घाटामा जान थालेपछि सरकार अलि बढी तातेको उनले बताए । ‘नेपालमा पनि धेरै राम्रा र गुणस्तरीय स्कुल क्याम्पस छन्, ती पर्याप्त नभए अरू पनि थपौं,’ उनले भने, ‘तर, पैसा छ भन्दैमा विदेशमा धेरै पैसा खन्याउनुभएन ।’


प्रकाशित : आश्विन ३०, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?