कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गरिबी निवारणका अनुसन्धातालाई नोबेल

रोयटर्स

स्टकहोम — करोडौं बालबालिकालाई गरिबीबाट उतार्ने प्रयोगात्मक अवधारणाको विकास गरेबापत तीन अमेरिकी अर्थशास्त्रीहरूलाई २०१९ को नोबेल पुरस्कार प्रदान गरिने भएको छ । 

गरिबी निवारणका अनुसन्धातालाई नोबेल

फ्रान्सेली मूलकी अमेरिकी इस्टर डफ्लो, भारतीय मूलका अमेरिकी अभिजित बनर्जी र अमेरिकी माइकल क्रेमरलाई द रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो । डफ्लो अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाउने दोस्रो महिला र सबैभन्दा कम उमेरकी (४६ वर्ष) हुन् । डफ्लो र बनर्जी दम्पति हुन् ।


स्विडिस एकेडेमीका अनुसार यी अर्थशास्त्रीहरूको अध्ययनले गरिबीजस्तो बृहत् विषयलाई शिक्षा, स्वास्थ्य लगायतका निश्चित क्षेत्र र तहमा टुक्र्याएर सम्बोधन गर्न सकिन्छ भन्ने देखाएको छ । उनीहरूको अध्ययन र स्थलगत रूपमा भएको प्रयोगले विश्वभरका सरकारहरूलाई शिक्षा र स्वास्थ्यमा लगानी बढाउन प्रोत्साहित गरेको छ । ‘यस्ता कुराको थालनी गरिब मान्छेलाई एउटा पात्र बनाउने शैलीबाट हुन्छ,’ डफ्लोले भनिन्, ‘जसले सहायता गर्छु भन्छन्, उनीहरूलाई पनि गरिबका समस्याको जरो थाहा हुँदैन । हाम्रो उद्देश्य गरिबी विरुद्धको लडाइँ बढी वैज्ञानिक तथ्यहरूका आधारमा होस् भन्ने हो ।’ उनले विद्यार्थीमाझ पाठ्यपुस्तक नपुग्नु वा शिक्षक नहुनुजस्ता ससाना समस्यालाई लिएर गरिबीको समीक्षा हुनुपर्ने बताइन् । अर्थशास्त्रीहरूको यो समूह ‘टिचिङ एट द राइट लेभल’ भन्ने कार्यक्रमसँग जोडिएका छन् । यो कार्यक्रमले भारत र विभिन्न अफ्रिकी मुलुकका प्राथमिक तहका ६ करोड विद्यार्थीका गणितको ज्ञान र पढ्ने क्षमता विकासमा जोड दिएको छ ।


संयुक्त राष्ट्रसंघले विश्वको गरिबी सन् २००० यता आधा घटेको जनाएको छ । उसका अनुसार विकासशील विश्वको १० प्रतिशत जनसंख्या प्रतिदिन १.९ डलरमा जीवन गुजारा गर्दै आएको छ । सब सहारा अफ्रिकी मुलुकमा गरिबीको अनुपात ४२ प्रतिशत रहेको छ ।


अर्थशास्त्रतर्फको नोबेल पुरस्कारको धनराशी ९ लाख १५ हजार अमेरिकी डलर तीन अर्थशास्त्रीलाई दामासाहीले वितरण गरिनेछ । अन्य विधाका नोबेल पुरस्कार अल्फ्रेड नोबेलको स्मृति कोषबाट दिइने भए पनि अर्थशास्त्रतर्फको धनराशी स्वीडेनको केन्द्रीय बैंकले प्रायोजन गर्दै आएको छ ।


प्रोफेसर दम्पती बनर्जी र डफ्लो एमआईटी आबद्ध हुन भने क्रेमर हार्वर्ड युनिभर्सिटीसँग आबद्ध छन् । ‘यस वर्षका पुरस्कार विजेताहरूको अध्ययनले विश्वको गरिबी निवारण गर्ने हाम्रो लडाइँमा उल्लेख्य रूपमा सुधार ल्याएको छ,’ स्विडिस एकेडेमीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मात्रै दुई दशकको अवधिमा उनीहरूको प्रयोगात्मक अवधारणाले विकास अर्थशास्त्रलाई रूपान्तरण गरेको छ ।’ गत वर्ष जलवायु परिवर्तन र अर्थशास्त्रमा भएको प्राविधिक विकाससम्बन्धी अध्ययनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको थियो ।

प्रकाशित : आश्विन २८, २०७६ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?