कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाकेको धान नास, फौजी कीराको प्रकोप

प्रदेश ब्युरो

खेतमा धान पाकेको बेला फौजी कीराले बोट र बाला काटेपछि किसान मारमा परेका छन् । बर्दियाको बढैयाताल गाउँपालिकाको कालिका, गुलरिया र ठाकुरबाबा नगरपालिकाका केही किसानले धानमा फौजी कीरा लागेको जानकारी कृषि प्राविधिकलाई दिएका छन् । कृषि प्राविधिकले कीराको प्रकोप नियन्त्रणका लागि प्रयासरत रहेको जनाएका छन् ।

पाकेको धान नास, फौजी कीराको प्रकोप

करिब दुई सातादेखि नै कीराले धानमा नोक्सान पुर्‍याउन सुरु गरेको थियो । कीराले एक हजार हेक्टरभन्दा बढी खेतमा लगाइएको धानबालीमा क्षति पुर्‍याएको छ । ‘कीरा मार्ने विषादी छरे पनि खासै नियन्त्रणमा आएको छैन,’ ठाकुरद्वारा-३ का शंकर चौधरीले भने, ‘कीराले पाक्न लागेको राधा-४ धान टुक्रटुक्रा पारेको छ ।’ भारतबाट ल्याइएको धानको बीउ लगाएको खेत फौजी कीराको आक्रणबाट प्रभावित भएको गेरुवाका किसान परशु थारुले बताए । फौजी कीरा मार्ने विषादी धेरै प्रयोग गर्दा त्यसको असर किसानमा पर्ने भएकाले नियन्त्रणमा समस्या भएको उनले बताए ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका, राप्ती सोनारी र डुडवा फाँटमा पनि फौजी कीराले धान सखाप पारेको छ । बर्दियामा फौजी कीराको प्रकोप सुरुवाती चरणमा रहेकाले नियन्त्रणमा सहज छ । तर, बाँकेमा भने तीन सय बढी हेक्टर जग्गाको पाकेको कीराले सखाप भएको छ । बर्दिया र बाँकेको कृषि क्षेत्र हेर्दै आएका कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले फौजी कीराले पुर्‍याएको क्षतिबारे स्थलगत अध्ययन भइरहेको बताए । उनका अनुसार बर्दियाका विभिन्न क्षेत्रमा फौजी कीरा देखिएको जानकारी किसानले दिएका छन् । ‘बर्दियाको बढैयाताल गाउँपालिकाको बकोटिया, ठाकुरबाबा, गुलरिया नगरपालिकाका किसानबाट फौजी कीरा देखिएको जानकारी आएको छ । ‘स्थलगत अध्ययन भइरहेको छ,’ उनले भने, ‘तर, बाँकेमा भने हालसम्म तीन सय हेक्टर बढीमा कीराको प्रकोप रहेको पाइएको छ ।’

पश्चिम तराईको बाँके र बर्दियाका एक दर्जन बढी गाविसमा पाकिसकेका बाला फौजी कीराले काटेर भुइँमा खसाउँदा धानबाली विनाश हुने क्रम जारी छ । फौजी कीराको आतंक नियन्त्रणमा आउन सकेको छैन । स्थानीय किसान तेसाउरअलि साइयदले औषधि छर्किंदा पनि फौजी कीरा नमरेपछि समस्यामा परेको बताए । दिउँसो कीरा लुक्ने र रातिमा बढी क्षति पुर्‍याउने गरेको छ । फौजी कीरा मार्न एनपीभी नामक भाइरस आवश्यक पर्छ । भाइरस उत्पादनका लागि त्यही कीरा पाल्नुपर्ने र भाइरस सारेर कीरा मारेर पोट्रिन उत्पादन गर्नुपर्ने कृषिविज्ञको सुझाव छ ।


फौजी कीरा दिनभर धानको गुबारोमा लुक्ने र राति एकसाथ धानबालीमा आक्रमण गर्छन् । वरपरको खेतमा पनि फौजी कीराले काटेर बाला जति रित्तै पार्छन् । कीराले खानेभन्दा बढी काट्ने हुँदा खेतैभरि धान छरिएको छ । नियन्त्रण अभावले किसान कृषि कार्यालयमा हारगुहार गरिरहेका छन् । कृषि अधिकारीहरूका अनुसार फौजी कीराको प्रकोप धान, मकै र गहुँ बालीमा देखिन्छ । फौजी कीराको संक्रमण देखिएपछि कृषि अधिकारीले किसानलाई इमिडा क्लोप्रिट नामक विषादी छर्ने सुझाव दिएका छन् ।

पानीमा उक्त विषादी मिसाएर छरे फौजी कीराको प्रकोप नियन्त्रणमा आउने उनीहरूको सुझाव छ । त्यस्तै पाकिसकेको धान छ भने तत्काल काट्न सुझाव दिइएको छ । ‘पाकिसकेको धान छ भने छिटो काटे छुटकारा पाउन सकिन्छ,’ कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख ढकालले भने, ‘बाला लाग्न लागेको हो भने गरामा पानी भर्‍यो भने केही हदसम्म नियन्त्रण हुन सक्छ ।’

फौजी कीराबाट बाली जोगाउने तीन उपाय

गत वर्षको तुलनामा यस वर्ष धानमा फौजी कीराले छिटो र धेरै आक्रमण सुरु गरेपछि जानकी गाउँपालिका-६ का पृथ्वीराज हरिजन चिन्तित छन् । नौ कठ्ठामा लोकल र हाइब्रेट गरी दुई थरी धान लगाएका उनले जतिबेला धान पाक्छ, त्यसै बेला फौजी कीराले धानका बाला भुइँभरि बनाउने गरेको बताए । बाँकेका धेरै किसान यस्तो समस्याबाट पीडित छन् । गत वर्षको तुलनामा यस वर्ष फौजी कीराको मनोमानी थप बढेको किसानको गुनासो छ ।

जानकी गाउँपालिका-६ कै अर्का किसान रविशंकर पासी यतिबेला धान काट्ने कि नकाट्ने भन्ने संकटमा छन् । नपाकेको धान काटेर चामल राम्रो आउँदैन । नकाट्ने हो भने कीराले सबै बाला काटेर नष्ट गर्दै छ । १० बिघा जमिनमा बटैया खेती गरेका उनले उत्पादन भएको अन्नको ६० प्रतिशत भाग जमिनदारलाई बुझाउनुपर्छ । त्यसपछि बचेको अन्नले वर्षभरि परिवार धान्नु छ । हावा, पानी अनुकूल पाएर धान राम्रै भए पनि पाकेको बाली कीराले खेर फाल्दा उनी खिन्न छन् ।

फौजी कीराले हैरान भएका किसानलाई सचेत गराउन कृषि ज्ञान केन्द्र बाँकेले सञ्चारमाध्यम, सामाजिक सञ्जाल र नमुनाका रूपमा गाउँमै गएर सिकाउन थालेको छ । केन्द्रका प्रमुख ढकालले फौजी कीराबाट बाली जोगाउन तीन तरिका अपनाउन सकिने बताए । उनका अनुसार ८० प्रतिशत धान पाकेको छ भने त्यसलाई काटिहाल्ने, सिँचाइ गर्ने र धान हरियो रहेकै अवस्थामा ‘एमिडा क्लोक्रिड’ औषधि छर्किने गर्नुपर्छ । हरियो धान हुँदै एक लिटर पानीमा एक एमएल औषधि मिसाएर साँझ धानमा छर्किंदा फौजी कीराको आक्रमणबाट बच्न सकिन्छ । तर, यो सामूहिक रूपमा गर्नु पर्छ । ‘एक जना किसानले औषधि छर्केर मात्रै सम्भव हुँदैन,’ उनले भने, ‘छेउछाउका सबै किसान मिलेर औषधि प्रयोग गरे फौजी कीराबाट बाली जोगाउन सम्भव छ ।’ फौजी जस्तै हुल बाँधेर ठूलो समूहमा आउने हुँदा यस्तो कीरालाई फौजी कीरा भनिएको हो । यसले सबै खेतमा एकैसाथ आक्रमण गर्छ । सामूहिक रूपमा किसानले हरियो धान हुँदै औषधि छरे केही प्रतिशत नियन्त्रण गर्न सकिने उनले बताए ।

खेतमा धान पाकेपछि धेरै सुक्ने गरी नराख्न पनि केन्द्रका प्रमुख ढकालको सुझाव छ । यसले चरा, कीराले टोकेर बाली नष्ट पार्छ भने अर्कोतर्फ धानको गुणस्तरमै ह्रास आउँछ । बाँकेको कम्दी, राप्तीपारि, हिरिमिनियालगायत स्थानका किसानका धानमा फौजी कीराको बढी असर छ ।

पश्चिम नवलपरासीका किसानलाई पनि फौजी कीराले सताएको छ । एकै रातमा एक बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको धान खेतीमा क्षति पुर्‍याएको छ । काला र खैरा रंगका कीराले जराबाट धान काटिदिने गरेका हुन् । रातभर धानको पात र डाँठ खाएर नोक्सान पुर्‍याएका छन् ।

प्रतापपुर-२ का रवीन्द्र चौधरीले पाँच कट्ठाभन्दा बढी खेतमा लगाएको धान फौजी कीराले एकै रातमा सखाप पारेको बताए । ‘अघिल्लो वर्ष गहुँ खेतीमा सताएको थियो,’ उनले भने, ‘अहिले धान खेती सखाप पार्‍यो ।’ समयमै औषधि छर्केर केही जोगाएको उनले बताए । जिल्लाको दक्षिणी क्षेत्र हकुही, गुठीप्रसौनी, सनहीलगायत स्थानमा एक सय बिघाभन्दा बढी क्षेत्रफलमा लगाएको धानमा कीराले असर गरेको छ । धान खेतमा पानी सुकेपछि कीरा फैलिन्छ । पाल्हीनन्दन गाउँपालिकाका कृषि प्राविधिक मनोजकुमार साहनीका अनुसार कीराले रातको समयमा मात्र बालीमा क्षति पुर्‍याउने गर्छ । उज्यालोमा कीरा नै देखिँदैन ।


ठाकुरसिंह थारू/कमल पन्थी (बर्दिया), मधु शाही (बाँके) र नवीन पौडेल (नवलपरासी)

प्रकाशित : आश्विन २७, २०७६ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?