कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

७ सय हेक्टरमा बाला पसाएन

भवानी भट्ट

(कञ्चनपुर) — कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ पीताम्बरका दलबहादुर चौधरीले जेठ पहिलो साता धानको बेर्ना राखे । २० दिनभित्रै रोपाइँ पनि गरे । राम्रो फलाउने उद्देश्यका साथ मलखाद र सिँचाइ पनि पटक–पटक गरिरहे । उनीभन्दा पछि रोपाइँ गर्नेको धान पसाउन लाग्यो । पाकेर काट्न पनि थाले । तर उनको बारीमा अझै पनि धान पसाएको छैन ।

७ सय हेक्टरमा बाला पसाएन

पोहोर साल १ बिघामा गरिमा धान लगाएका दलबहादुरले ५० क्विन्टल बढी धान फलाएका थिए । गत वर्ष राम्रो फलेपछि यसपालि आफूसंँग भएको डेढ बिघा पूरैमा त्यही धान रापे । तर यस वर्ष अहिलेसम्म पनि पसाउने छाँटकाँट छैन । ‘हाइब्रिड धान हो भनेर पोहोरभन्दा बढी मिहिनेत गरे, मलखाद र सिँचाइ पनि बढी नै गरे,’ दलबहादुरले भने, ‘तर यो बढी त के फल्नु पसाउँदै पसाएन ।’


दलबहादुरको आम्दानीको स्रोत त्यही डेढ बिघा जमिन हो । यसपालि आम्दानी त के खानका लागि समेत धान किन्नुपर्ने भएको छ । ‘बिहान साँझ खेतमा जान्छु, बोट हेर्छु केही देख्दिनँ निराश भई घर फर्किन्छु,’ उनले भने, ‘अब समय गएपछि खेतबारीमा जान पनि मन लाग्दैन ।’ नपसाउने धान लगाएको भन्दै उनको घरपरिवारमा पनि बेला बेला झगडा भइरहन्छ । ६ जनाको परिवारलाई के खुवाउने भन्ने चिन्ता छ ।


ब्याड राख्नेदेखि जोताइ, रोपाइँ, मलखाद र सिँचाइमा ४० हजार बढी खर्च भइसकेको उनले बताए । हिउँदमा आलु तथा अन्य तरकारी लगाउने भएकाले त्यसका लागि पनि ढिलो भएको उनी बताउँछन् । अब तरकारी फलाउन पनि नसकिने उनी बताउँछन् । ढिलासम्म धान नपसाएका कारण तरकारी लगाउन ढिला भएको उनले बताए ।


पीताम्बरमा दल बहादुरले गत वर्ष राम्रो फलाएको धान देखेर करिब २५ परिवारले गरिमा धान रोपेको छन् । उनीहरू सबैको धान अहिलेसम्म पसाएको छैन । उनीहरूले आवश्यक अनुसन्धान तथा छानबिनका लागि कृषि ज्ञान केन्द्रमा निवेदन पनि दिएका छन् । ‘पोहोर साल दाइले राम्रो फलाएको देखेर मैले पनि खोजी खोजी गरिमा धान लगाएँ,’ शुक्लाफाँटा नगरपालिका ७ पीताम्बरकै बिसराम रानाले भने, ‘यसपालि त धानै पसाएन ।’ उनका अनुसार पीताम्बरका कृषकहरूले स्थानीय डीके एग्रोभेटबाट बिउँ ल्याएर लगाएका हुन् ।


अधियाँ गर्नेलाई झनै समस्या

कैलालीको जोशीपुर गाउँपालिका १ बडरियाका रामब्रह्म भगतले ५ बिघा जमिन अधियाँ बनाएका थिए । पोहोर साल अलि अलि गरिमा धान लगाएका उनले यसपाला पूरै जमिनमा फेरि त्यही धान रोपे । ‘पोहोर साल राम्रो फलेको थियो, भात पनि मिठो हुन्थ्यो’ उनले भने, ‘बढी फल्ने र मिठो भातको लोभमा यसपालि डुबे ।’


ब्याड राख्नेदेखि जोताइ, मलखाद, रोपाइँ र सिँचाइका लागि एक/डेढ लाखभन्दा बढी खर्च भइसकेको उनले बताए । धान बेचेर ऋण तिर्ने उद्देश्यले गाउँबाटै पैसा सापटी लिएका उनी यतिबेला निराश छन् । उनले स्थानीय जोशीपुर बजारकै गणेशप्रसाद चौधरीको एग्रोभेटबाट बीउ खरिद गरी गरिमा धान लगाएका हुन् । उनकै जमिन पनि अधियाँ बनाएका छन् ।


जोशीपुरकै नागेश्वर डगौंराले पनि डेढ बिघामा गरिमा धान लगाएका छन् । सुरुदेखि गाँज राम्रो फोड्ने र हलक्क बढेका कारण उनले राम्रै मिहिनेत गरेका थिए । ‘हाइब्रिड धानमा कम्ती मिहिनेत चाहिँदैन, मलखाद र सिँचाइ पुर्‍याउन सके मात्रै राम्रो उत्पादन दिन्छ,’ उनले भने, ‘त्यही भएर गरिमामा पनि धेरै मिहिनेत र खर्च भयो, तर अहिलेसम्म पसाएन ।’ उनले पोहोर साल १० कठ्ठामा गरिमा धान लगाउँदा १५ क्विन्टल फलाएका थिए । डेढ बिघामा कम्तीमा पनि ४० क्विन्टल धान फल्ने गरेको उनले बताए ।


कृषि ज्ञान केन्द्रले कैलाली र कञ्चनपुरमा ७ सय हेक्टरमा गरिमा धान रोपिएको अनुमान गरेको छ । एक सातासम्म गरेको स्थलगत अनुगमनपछि ज्ञान केन्द्रले उक्त अनुमान गरेको छ । ज्ञान केन्द्रका प्रमुख रामचन्द्र भट्टका अनुसार कञ्चनपुरमा शुक्लाफाँटा, कृष्णपुर, बेलौरी र पुनर्वास नगरपालिका तथा बेलडाडी गाउँपालिकामा गरिमा धान रोपिएको छ । सबैभन्दा बढी शुक्लाफाँटा, बेलौरी र पुनर्वास नगरपालिकामा उक्त धान रोपिएको उनले जानकारी दिए । यसैगरि कैलालीमा घोडाघोडी, गौरीगंगा, जोशीपुर, कैलारी, जानकी गाउँपालिकासँगै टीकापुर र भजनी नगरपालिकामा धेरै कृषकले गरिमा धान लगाएका छन् । कतिपय कृषकले आफ्नो पुरै जमिनमा उक्त धान लगाएका छन् । अहिले नपसाएपछि उनीहरू निकै चिन्तित बनेका छन् ।


‘कैलाली र कञ्चनपुरमा करिब ७ सय हेक्टरमा धान रोपिएको प्रारम्भिक अनुमान गरिएको छ’ भट्टले भने, ‘हामी तथ्यांक संकलनमै छौं, विस्तृत विवरण आउन बांकी छ ।’ उनका अनुसार एग्रोभेटहरूबाट प्राप्त तथ्यांक हेर्दा गरिमा धानको बीउ १० मेट्रिक टनभन्दा बढी कैलाली र कञ्चनपुरमा बिक्रि भएको छ । कैलाली र कञ्चनपुरमा धानको उत्पादकत्व प्रतिहेक्टर ३ मेट्रिक टन रहेको छ । यसका आधारमा धान उत्पादनमा ठूलो ह्रास आउने देखिन्छ ।


उनका अनुसार गरिमासंगै सिन्दूरी र राधा १४ जातको धानमा पनि समस्या देखिएको छ । सिन्दूरी नपसाउने र राधा १४ मा विभिन्न रोगको प्रकोप बढी देखिएको छ । गरिमाको तुलनामा सिन्दूरी र राधा १४ थोरै रहेको छ ।


कस्तो जात हो गरिमा ?

गरिमा भारतमा उत्पादन गरिएको धानको जात हो । यो मध्यम अवधिको धान हो । यसको पाक्ने अवधि १ सय ३० देखि १ सय ३५ दिन रहेको प्राविधिकहरू बताउँछन् । नेपालमा यसलाई २०७२ मा मात्रै सूचीकृत गरिएको हो । सिन्दूरी पनि भारतीय जात नै हो । यो पनि मध्यम अवधिको धान हो ।


गत वर्ष किसानले रोपेको गरिमा धान राम्रै फलेको थियो । त्यही भएर यस वर्ष यसप्रतिको आकर्षण बढेको हो । तर यस वर्ष प्याकेजिङ गरिमाको भए पनि बीउ गरिमा हो वा होइन भन्नेमा आशंका उब्जिएको छ । कृषि प्राविधिकहरूका अनुसार हाइब्रिड बीउमा रोग किराको प्रकोप न्यून हुन्छ । तर कैलाली र कञ्चनपुरमा रोपएको गरिमा धानमा ब्लास्ट रोगको प्रकोप अत्यधिक देखिएको छ । ‘हाइब्रिड धानमा रोग कीरा नलाग्ने गरी जिनको विकास गरिएको हुन्छ,’ कृषि ज्ञान केन्द्रको अनुगमन टोलीमा खटिएको प्राविधिक सहायक जनक सिंहले भने, ‘तर यसमा लागेको रोग हेर्दा गरिमा होइन भन्ने छाँट देखिन्छ ।’

प्रकाशित : आश्विन २६, २०७६ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?