कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिनियाँ पर्यटक बढ्ने आस

लेकसाइडमा चिनियाँले सञ्चालन गरेका १७ होटल तथा रेस्टुरेन्ट छन् । केहीले कृषिमा लगानी गरेका छन् । यहाँ व्यवसायी गरिरहेका चिनियाँ तथा नेपाली व्यवसायीले सीको भ्रमणपछि पर्यटन आगमनमा वृद्धि हुने अनुमान गरेका छन् ।
दीपक परियार

(पोखरा) — गतवर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका क्रममा मुक्तिनाथ पुगे । मोदी मुक्तिनाथ पुगेको प्रभाव पर्यटकीय सिजनमा देखियो । पोखरा हुँदै मुक्तिनाथ पुग्ने भारतीय पर्यटक ह्वात्तै बढे । राष्ट्रपति सी चिनफिङको नेपाल आगमनसँगै चिनियाँ पर्यटक बढ्ने आशा पर्यटकीय नगरी पोखराका व्यवसायीले गरेका छन् ।

चिनियाँ पर्यटक बढ्ने आस

पर्यटन बोर्डको तथ्यांकअनुसार नेपाल आउने चिनियाँ पर्यटकको संख्या बढ्दो छ । सन् २०१४ मा एक लाख २४ हजार चिनियाँ पर्यटन नेपाल भित्रिए । ०७२ को भूकम्पपछि भने संख्या ह्वात्तै घट्यो । सन् २०१५ मा ६५ हजार चिनियाँ पर्यटक नेपाल आए । सन् २०१८ मा १ लाख ५४ हजार चिनियाँले नेपाल घुमे । चिनियाँ पर्यटक वार्षिक रूपमा वृद्धि भए पनि यो संख्या सन्तोषजनक नभएको व्यवसायी बताउँछन् ।


पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन मोदीको जस्तै प्रभाव सीको भ्रमणपछि पर्यटन क्षेत्रमा देखिने आशा गर्छन् । ‘पर्यटक आगमनको हिसाबले केही उपलब्धि हुने आशा छ,’ उनी भन्छन्, ‘पोखराको पर्यटनमा ठूलो लगानी पनि भित्रिए राम्रो ।’ चार/पाँच तारेहोटल चलाउने जग्गा खोज्न चिनियाँ व्यवसायी बेलाबेला पोखरा आउने गरेको उनले सुनाए ।


चिनियाँले स–साना लगानी भने गरेका छन् । लेकसाइडमा चिनियाँले सञ्चालन गरेका १७ होटल तथा रेस्टुरेन्ट छन् । केहीले कृषिमा लगानी गरेका छन् । होटल तथा रेस्टुरेन्टमा झन्डै ५० करोड रुपैयाँ लगानी भएको होटल संघ अध्यक्ष तुलाचन बताउँछन् । रोजगारीका अवसर सिर्जना गर्न, सरकारले करबाट आम्दानी गर्न भने ठूला पूर्वाधारमा लगानी भित्र्याउनुपर्ने उनको तर्क छ ।


पोखरामा व्यवसाय गर्ने चिनियाँ संगठित भएर ओभरसिज चाइनिज एसोसिएसन नामक संस्था नै गठन गरेका छन् । संस्थाका अध्यक्ष चान जियान सङ राष्ट्रपति सीको आगमनले नेपालको पर्यटन विकासमा फड्को मार्ने बताउँछन् । राष्ट्रपतिको आगमनपछि चिनियाँले नेपालबारे अझै धेरै जानकारी पाउने भएकोले पर्यटक बढ्ने उनको अनुमान छ । ‘केरुङ नाका सजिलो हुने र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सकिनेबित्तिकै चिनियाँ पर्यटक अत्यधिक बढ्ने देखिन्छ,’ उनी भन्छन्, ‘सीका अरू योजना पनि हुन सक्छन् ।’ त्यसले झन् पर्यटक बढ्न सक्ने उनको अनुमान छ । लेकसाइडमा रेस्टुरेन्ट सञ्चालन गरिरहेका चिनियाँ नागरिक लिआओ जिबिङ पर्यटक आकर्षित गर्न काठमाडौंबाट पोखरा र पोखराबाट लुम्बिनी पुग्ने बाटो स्तरीय बनाउनुपर्ने बताउँछन् । ‘यहाँको दृश्य, हावापानी यति राम्रो छ, यहाँका मानिस पनि मिलनसार छन्,’ उनी भन्छन्, ‘यति नजिकैको छिमेकीबाट पर्यटक आउन लालायित छन् ।’


उनका अनुसार रेस्टुरेन्टमा चाहिने धेरै सामान चीनबाटै आउँछ । चिनियाँ परिकारलाई चाहिने मसला, खाद्य पदार्थ चीनबाट आउँछ । साग, चामल, तेल, माछा, मासु यहींका खपत हुन्छन् । रेस्टुरेन्टमा आउने ग्राहक ७० प्रतिशत चिनियाँ नै हुन्छन् । १५ प्रतिशत नेपाली र १५ प्रतिशत अन्य मुलुकका पर्यटक चिनियाँ रेस्टुरेन्ट छिर्छन् । पोखरा आउने चिनियाँ पर्यटकले एक हप्ता बिताउँछन् । ‘धेरै चिनियाँले अंग्रेजी नबुझ्ने भएकाले पनि चिनियाँ रेस्टुरेन्ट खोज्दै आउँछन्,’ उनले भने, ‘भाषाकै कारण अरू रेस्टुरेन्टलाई समस्या हुने गरेको छ ।’ पोखराका होटल, रेस्टुरेन्टमा चिनियाँ भाषा बुझ्ने कर्मचारी नहुँदा पर्यटकले झन्झट मान्ने गरेको उनले सुनाए । चिनियाँ भाषा बोल्ने ट्रेकिङ गाइडको पनि कमी भएको उनले बताए । पर्यटन व्यापार विस्तारकै लागि पोखरा र चीनका विभिन्न सहरबीच भगिनी सम्बन्ध पनि कायम भएका छन् । अन्तर्राष्ट्रिय सहरका रूपमा स्थापित भइसकेका सहरबाट विभिन्न विकास निर्माण तथा आर्थिक, भौतिक सहयोग भित्र्याउने उद्देश्यसाथ सम्बन्ध कायम गरिएको हो । अहिले पोखरा महानगरपालिका र चीनको कुनमिङ, गोन्जाओ र तिब्बतस्थित लिन्जी सहरबीच भगिनी सम्बन्ध भएर सहयोगसमेत आइसकेका छन् । पहिलोपल्ट लिन्जीसँग २०६४ मा सम्बन्ध गाँसिएको थियो ।


चिनियाँले धानेको साहसिक पर्यटन

सन् २०१३ मा नेपालमा छायांकन भएको चिनियाँ फिल्म ‘अप इन द वाइन्ड’ प्रदर्शनमा आयो । सांघाईमा काम गर्ने महिला पत्रकार नेपाल यात्राबारे लेख्न काठमाडौं, चितवन र पोखरा घुमेको कथा फिल्ममा छ । काठमाडौंका पुरातात्त्विक स्थल, चितवनको जंगल सफारी र पोखराका साहसिक गतिविधि र सुन्दर दृश्य फिल्ममा देखाइएको छ । तेङ हुआताओ त्भलन ज्गबतबय को निर्देशनमा बनेको फिल्ममा नि नि र जिङ बोरान मुख्य भूमिकामा छन् ।

उक्त फिल्ममा देखाइएको लोभलाग्दा दृश्यले चिनियाँ पर्यटक पोखरा भित्र्याउन सहयोग पुगेको व्यवसायी बताउँछन् ।


फिल्ममा पोखराको सराङकोटबाट गरिने प्याराग्लाइडिङसमेत समावेश भएपछि साहसिक पर्यटनले थप फड्को मारेको व्यवसायी वसन्त दवाडी बताउँछन् । उनका अनुसार हाल प्याराग्लाइडिङ गर्ने पर्यटकमध्ये ५० प्रतिशत चिनियाँ छन् । ‘प्याराग्लाइडिङ धानेकै चिनियाँ पर्यटकले हो,’ नेपाल हवाई खेलकुद संस्था (ना) का महासचिवसमेत रहेका उनी भन्छन्, ‘पोखरा आउनेमध्ये ८० प्रतिशत चिनियाँले प्याराग्लाइडिङ गर्छन् ।’ प्याराग्लाइडिङ बाहेक अल्ट्रालाइट, बन्जिजम्प, जिपलाइन, र्‍याफ्टिङमा पनि चिनियाँ पर्यटकको योगदान रहेको उनी सुनाउँछन् । पछिल्लो समय पदयात्रा गर्ने चिनियाँ पर्यटकको संख्या बढिरहेको ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) पोखरा च्याप्टरका अध्यक्ष हरि भुजेल बताउँछन् ।


प्रकाशित : आश्विन २६, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?