कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विदेशी लगानी पाँच गुणा बढ्यो

यज्ञ बञ्जाडे

काठमाडौँ — चालू आर्थिक वर्षको पहिलो महिना (साउन) मा १ अर्ब ४४ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रिएको छ । 

विदेशी लगानी पाँच गुणा बढ्यो

गत वर्षको सोही अवधिको तुलनामा यो करिब पाँच गुणा (३ सय ८७ प्रतिशत) ले बढी हो । ०७५ को साउनमा २९ करोड ५७ लाख रुपैयाँ भित्रिएको थियो । गत वर्षका सबै महिना उच्च दरले घटेको विदेशी लगानी यो वर्षको सुरुमै धेरैले बढेको हो । सो अवधिमा जलविद्युत् आयोजनामा केही लगानी भित्रिएपछि समग्र एफडीआई बढेको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको पहिलो महिनामा विदेशी लगानी करिब साढे ९३ प्रतिशतले घटेको थियो । ‘गत साउनमा पुँजीगत ट्रान्सफर १ अर्ब ३ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४४ करोड रुपैयाँ छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ, ‘अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १ अर्ब ७० करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी २९ करोड ५७ लाख रुपैयाँ थियो ।’


गत वर्षमा नेपालमा कुल १३ अर्ब ६ करोड रुपैयाँ विदेशी लगानी आएको थियो । आर्थिक वर्ष ०७४/७५ मा यस्तो लगानी १७ अर्ब ५१ करोड रुपैयाँ थियो । मुलुकमा लगानीमैत्री वातावरण बन्दै गएको समयमा पनि गत वर्षभर ठूलो मात्रामा लगानी घटेको थियो । यो वर्ष परिस्थिति बदलिएको छ । ‘अहिले मुलुकमा लगानी वातावरण सुध्रिदो अवस्थामा छ । अब विस्तार विदेशी लगानी बढ्छ,’ राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले भने, ‘यो राम्रो संकेत हो ।’ यो वर्षमा मुलुक भित्रिएको एफडीआईमध्ये अधिकांश जलविद्युत्, पर्यटन र सिमेन्ट उद्योगमा आएको छ ।


विदेशी लगानीकर्तालाई प्रोत्साहन गर्न सरकारले उद्योग विभागमा छुट्टै एकल विन्दु सेवा सुरु गरेको छ । लगानी सम्मेलनमार्फत अन्तर्राष्ट्रिय जगत्लाई लगानीका लागि प्रोत्साहन गरिएको छ । उल्लिखित कारणले विदेशी लगानीमा सुधार आएको राष्ट्र बैंकले जनाएको छ । नेपालमा खासगरी जलविद्युत, पर्यटन, प्राविधिक शिक्षा, स्वास्थ्यमा विदेशी लगानीको ठूलो सम्भावना छ । ती क्षेत्रमा लगानी बढाउनका लागि एकद्वार लगानी नीति र लगानी परिचालन तथा व्यवस्थापनसम्बन्धी व्यवस्थामा सरलीकरण र प्रभावकारी बनाउनुपर्ने, कर प्रशासनलाई सुधार गर्नुपर्ने उनीहरूको सुझाव छ ।


विदेशी लगानी बढेकाले भुक्तानी सन्तुलनमा पनि सुधार देखिएको छ । राष्ट्र बैंकका अनुसार गत साउनमा शोधनान्तर स्थिति ६ अर्ब ५ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २४ अर्ब ७७ करोड रुपैयाँले घाटामा थियो ।

प्रकाशित : आश्विन २६, २०७६ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?