कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुटवल–लुम्बिनी प्रसारण लाइनको काम पुसभित्र

अमृता अनमोल

(बुटवल) — यसअघि कछुवा गतिमा रहेको बुटवल–गोरुसिंगे लुम्बिनी १३२ केभी प्रसारण लाइनको काम लयमा देखिएको छ । नयाँ रुट तय गरेर भौतिक व्यवस्थापनका काम अगाडि बढाइएपछि आयोजना लयमा फर्किएको हो ।

बुटवल–लुम्बिनी प्रसारण लाइनको काम पुसभित्र

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमानसिंह घिसिङले आयोजनाको अनुगमन गरेर सरकारी निकायसँग सहजीकरण थालेका छन् ।


‘जसरी पनि पुसभित्र सक्ने गरी काम भइरहेको छ,’ घिसिङले भने, ‘विद्युत् विस्तारका लागि जग्गा प्राप्ति, मुआब्जालगायतमा संघीय सरकार र प्राधिकरण केन्द्रले सहजीकरण गर्नेछ ।’ एक साताअघि अनुगमनमा आएका उनले प्रसारण लाइनबारे प्रदेश सरकार र स्थानीय तहका प्रमुखसँग छलफल गरेका थिए । छलफलपछि विवादरहित किसिमले काम अघि बढाउने प्रतिबद्धता आएको उनले जनाए । भैरहवा क्षेत्रमा रहेका उद्योग तथा पर्यटकीय क्षेत्रमा मागअनुसार विद्युत् पुर्‍याउन १ अर्ब २० करोड रुपैयाँ लगानीमा आयोजना सुरु भएको थियो । यहाँबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, बुद्ध जन्मस्थल लुम्बिनी, भैरहवा–लुम्बिनी औद्योगिक करिडोरमा विद्युत् विस्तार र स्तरोन्नतिको काम गरिनेछ ।


तीन वर्षभित्र आयोजना सक्ने लक्ष्य तीन वर्षअघि आयोजना सुरु गर्दा थियो । निर्माण अवधि सकिँदासम्म प्रसारण लाइनको भौतिक प्रगति करिब ४५ प्रतिशत भएको छ । राजमार्ग छेउबाट विद्युत् विस्तार गर्न नदिने तिलोत्तमावासीको अडानका कारण आयोजना अलपत्र परेको थियो । प्रसारण लाइन योगीकुटी सबस्टेसनबाट सुरु गरी तिनाउ नदीको छेउबाट विस्तार हुनेछ । यस रुटमा तिलोत्तमा नगरपालिकाको मगरघाट, शुद्धोधन गाउँपालिका हँॅदै सियारीको मैनहिया पुग्नेछ । यसको लम्बाइ १८ किलोमिटर छ । योगीकुटीबाट पूर्व–पश्चिम राजमार्ग र घना वस्ती छिचोल्दासम्म साढे दुई किलोमिटर भूमिगत प्रसारण लाइन हुनेछ । यसबाहेकको विद्युत् विस्तारमा टावर जडान गरिनेछ । निर्माण गर्नुपर्ने ५७ टावरमध्ये अहिलेसम्म ४० वटाको जग हालिएको छ ।


मैनहियामा स्टाफ बिल्डिङ बनाउने काम सकिएको छ । त्यही ठाउँमा ९० एमबीएको सबस्टेसन बनाउने काम भइरहेको छ । त्यसको समेत करिब ४५ प्रतिशत काम सकिएको आयोजना प्रमुख हरिप्रसाद पाण्डेले बताए । ‘विद्युत् लैजाने रुट टुंगो नलाग्दा फिल्डस्तरको काममा ढिलाइ भएको थियो । तिनाउ नदी किनारबाट लैजाने नयाँ रुट तय गरेका छौं,’ उनले भने, ‘यसले काम अघि बढाउन सहज भएको छ ।’


तिनाउ नदीकै किनार पनि अहिले बस्तीले भरिएको छ । धेरैले छुटकित्ताका नाममा लालपुर्जा निकालेका छन् । मुआब्जाका लागि प्रमुख जिल्ला अधिकारी तथा स्थानीय तहका जनप्रतिनिधिसँग छलफल चलेको छ । ‘सुरुवातमा सार्वजनिक स्थलमा पोल गाड्दै छौं,’ प्रशासन प्रमुख कल्पना थापाले भनिन्, ‘मुआब्जा निर्धारणपछि अन्य क्षेत्रमा पोल गाड्ने काम थालिनेछ ।’ विद्युत् विस्तारको विवाद पूरै सल्टेको छैन । मुख्य लाइन तान्ने योगीकुटीकै ग्रिड नजिकका बासिन्दाले आफ्नो घरछेउबाट विद्युत् नलैजान दबाब दिएका छन् । विद्युत् ग्रिड नजिकै तिलोत्तमा नगरपालिकाको हाटबजार छ । हाटबजार हटाउन र स्थानीयलाई मनाउन स्थानीय तहको सहयोग चाहिन्छ । नगर प्रमुख वासुदेव घिमिरेले साना विवादले विकासका ठूला काम नरोक्न आयोजनालाई सघाउने बताए । आयोजनाले सुरुमा योगीकुटीको ग्रिड महाशाखाबाट उत्तर–दक्षिण सिद्धार्थ राजमार्गको बुटवल–भैरहवा सडक हुँदै विद्युत् लैजाने प्रस्ताव गरेको थियो । त्यसमा सडकको किनारमा मोनोपोल (सिंगल पोल) राख्ने तयारी थियो ।


प्रकाशित : आश्विन २४, २०७६ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?