दसैंका लागि बैंकबाट ४७ अर्ब झिकियो

यज्ञ बञ्जाडे

काठमाडौँ — यो वर्षको दसैं किनमेलका लागि बैंक तथा वित्तीय संस्थाबाट ४७ अर्ब रुपैयाँ बाहिरिएको छ । यो यही असोज १ देखि १५ सम्म बैंक र वित्तीय संस्थाबाट झिकिएको पैसा हो । दसैं– तिहारको समयमा बैंक तथा वित्तीय संस्थाबाट सामान्य अवस्थामा भन्दा बढी पैसा बाहिरिने गरेको छ । अहिले पनि त्यही भएको हो । 

दसैंका लागि बैंकबाट ४७ अर्ब झिकियो

अन्य अवस्थामा भन्दा दसैं–तिहारलगायत ठूला चाडबाडमा मानिसको उपभोग प्रवृत्ति बढ्छ । यसकारण यो समयमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप धेरै झिकिन्छ । गत वर्षको भदौ मसान्तदेखि असोज मसान्तसम्म ६८ अर्ब रुपैयाँ बाहिरिएको थियो । यो वर्ष गएको २ सातामै करिब ४७ अर्ब रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ । चाडबाडको समयमा कारोबारी मुद्राको माग धेरै हुने भएकाले बैंकिङ प्रणालीबाट धेरै पैसा बाहिरिने राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले बताए ।


हरेक वर्ष भदौदेखि असोज महिनामा चलनचल्तीमा रहेको मुद्राको परिमाण बढ्नुले पनि यो पुष्टि हुने उनको भनाइ छ । ‘दसैं–तिहारमा नागरिकले किनमेल (कारोबार) का लागि धेरै मुद्रा माग गर्छन्,’ उनले भने, ‘यसकारण यो अवधिमा चलनचल्तीमा रहेको मुद्रा पनि बढ्छ ।’


राष्ट्र बैंकका अनुसार बुधबारसम्म ५ खर्ब ३९ अर्ब रुपैयाँ चलनचल्तीमा छ । दुई साताअघि (असोज १ मा) यस्तो रकम ४ खर्ब ९२ अर्ब रुपैयाँ थियो । मानिसले किनमेलका लागि मात्र बैंकबाट पैसा झिक्दैनन् । निक्षेपका रूपमा बैंकमा रहेको पैसा विभिन्न प्रयोजनका लागि झिकिन सक्छ ।


अहिले बैंकबाट पैसा बाहिरिएको मात्र छैन, गत दुई सातामा वाणिज्य बैंकहरूमा मात्र करिब ४७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । असोज १ मा २८ खर्ब ८४ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरूको निक्षेप १५ मा २९ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांक छ ।


अघिल्ला साताहरूमा वाणिज्य बैंकहरूको निक्षेप घट्दो अवस्थामा थियो । पछिल्ला दुई सातामा परिस्थिति फेरिएको छ । अहिले स्थानीय तहका सरकारको खातामा अनुदानबापतको रकम गएकाले बैंकको खातामा निक्षेप बढेको राष्ट्र बैंकले जनाएको छ । स्थानीय सरकारको खातामा रहेको रकममध्ये ५० प्रतिशत बैंक आफैंले राख्न पाउने व्यवस्था छ । बैंकमा लगानीयोग्य रकम अभाव भएपछि सरकारले यस्तो सुविधा दिएको थियो ।


वित्तीय प्रणालीमा निक्षेप बढेसँगै बैंक तथा वित्तीय संस्थामा अधिक तरलता (लगानीयोग्य रकम) पनि बढ्न थालेको छ । बुधबारसम्म बैंकिङ प्रणालीमा ४० अर्ब रुपैयाँ अधिक तरलता रहेको राष्ट्र बैंकले जनाएको छ । यो बैंकहरूले राष्ट्र बैंकमा निर्ब्याजी रूपमा राख्नुपर्ने अनिवार्य नगद मौज्दात (सीआरआर) बाहेकको हो ।


गएका दुई सातामा वाणिज्य बैंकहरूले ४९ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गरेका छन् । असोज १ मा २८ वटा वाणिज्य बैंकको कुल ऋण प्रवाह २५ खब ६० अर्ब रुपैयाँ थियो । असोज १५ सम्म आइपुग्दा यस्तो लगानी २६ खर्ब ९ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांक छ ।


बैंकका तरलता बढेको देखिए पनि केही बैंकहरू अझै सीसीडीको दबाबमा छन् । यसको अर्थ उनीहरूसँग लगानीयोग्य रकम अभाव छ भन्ने हो । यही कारण पछिल्ला दिनहरूमा अन्तर बैंक कारोबार बढ्न थालेको छ । यसले अन्तरबैंक ब्याज पनि बढाएको छ । बुधबारसम्म भारित औसत अन्तर बैंक दर ५.३७ प्रतिशत पुगेको छ । मंगलबार यस्तो दर ४.७१ प्रतिशत थियो ।


राष्ट्र बैंकले पनि निरन्तरजसो रिपोमार्फत बजारमा पैसा पठाइरहेको छ । मंगलबार राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो जारी गरेकामा १२ अर्ब रुपैयाँ मात्र बिकेको छ । बिहीबारका लागि राष्ट्र बैंकले १५ अर्बको रिपो जारी गरिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रकाशित : आश्विन १७, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?