कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गरिमा जातको हाइब्रिड बीउ 'नक्कली' 

‘गरिमा जातको हाइब्रिड धान एक सय २० देखि २५ दिनभित्रै पाक्नु पर्छ । तर, उक्त अवधीमा बाला नै नआएपछि नक्कलीको आशंका गरिएको हो’
राजु चौधरी

काठमाडौँ — गरिमा जातको हाइब्रिड धानको बीउ नक्कली रहेको आशंकासहित प्रतिवेदन तयार भएको छ । चितवन, रौतहट, नवलपरासी, नुवाकोट, लमजुङ, गोरखा र तनहुँमा किसानले लगाएको उक्त धानको जात पाक्ने पर्ने समयमा बाला नै नलागेपछि बीउ नक्कली परेको आंशका गरिएको हो ।

गरिमा जातको हाइब्रिड बीउ 'नक्कली' 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गरिमा जातको हाइब्रिड धान एक सय २० देखि २५ दिनभित्रै पाक्नु पर्छ । तर, उक्त अवधीमा बाला नै नआएपछि थप अध्ययन गर्न असोज ५ गते १८ सदस्य कार्यदल गठन भएको थियो ।


राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम हर्दिनाथ, धनुषाका धान संयोजक रामवरण यादवको संयोजकत्वमा गठित समितिले स्थलगत अनुगमन/निरीक्षण, किसानसँग छलफल/अन्तरकृया गरी तयार पारेको प्रतिवेदनले नक्कली भएको आशंका गरेको हो । बीउ नक्कली भएको हुन सक्ने आशंका सहितको अध्ययन समितिले प्रतिवेदन सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाललाई बुझाएको छ ।


मन्त्रालयका अनुसार उक्त बीउ साउथ इस्ट एसियन सिड कम्पनी प्रालिले भित्र्याएको थियो । चितवनमा भने उक्त धान प्रशान्त एग्रोभेटले वितरण गरेको थियो । उक्त एग्रोभेटबाट ९ हजार किलो बीउ चितवनमा र साढे ४ हजार किलो बीउ रौतहट, नवलपरासी, नुवाकोट, लम्जुङ, गोरखा र तनहुँमा वितरण गरेको पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार उक्त जातको बीउ २०७२ सालमा दर्ता भएको थियो । ‘यसअघि समस्या नभएपनि यो पटक भित्र्याएको बीउ गरिमा नभइ मध्यम खालको ल्याएर ठगी भएको हुन सक्छ,’ समितिको अनुमान छ । नक्कली बीउ परेपछि चितवन लगयात अन्य जिल्लाका किसानहरु मर्कामा परेका छन् ।


चितवनमा किसानहरुले साताअघि एग्रोभेटमा तालाबन्दी समेत गरेको स्थानीय बिल अधिकारीले बताए । ‘पूर्व चितवनमा रहेको अधिकांस एग्रोभेटहरुमा किसानले तालाबन्दी गरिएको थिए । किसानहरुसँगै एग्रोभेटहरु पनि समस्यामा परे,’ क्वीष्ट सिड एण्ड एग्रो कम्पनी प्रालिका अधिकारीले भने, ‘प्रशान्त एग्रोभेटबाट खरिद गरेर दमौलियमा १ सय २० किलो पठाएका थियौँ । दमौलिमा पनि समस्या भयो । किसानले क्षतिपूर्ति माग गरिरहेका छन् ।’


समितिका सदस्य तथा बीउ विजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवनका निमित्त प्रमुख केशव देवकोटाका अनुसार मोर्फोलोजिकल परीक्षणको क्रममा र बाली पाक्ने अवधिको हिसाबले दर्ता भएको गरिमा हाइब्रिडसँग मेल खाएको छैन । ‘दर्ता गरिएको हाइब्रिड जातको धान र स्थलगत निरीक्षण गरिएको गरिमा धानका जातीय विशेषता पनि फरक पाइएको छ,’ उनले भने ।

प्रतिवेदन बुझ्ने क्रममा मन्त्री खनालले उक्त धान सरकारले दर्ता नभएको पाइएमा कानूनी कारबाही गरिने बताए । ‘दोषी पाइएमा किसानलाई क्षतिपूर्ति दिन्छौ । किसान ठग्ने कम्पनीको लाइसेन्स खारेज गरी गरिमा जातलाई नेपालबाटै हटाउने छौँ,’ मन्त्री खनालले भने । धानको डीएनए रिर्पोटको आधारमा कारबाही प्रक्रिया अघि बबढाइने उनले बताए ।


बीउ नक्कली भए/नभएको एकिन विवरण धानको डीएनए फिंगर प्रिन्ट परीक्षणपछि मात्र थाहा हुन्छ । थप अनुसन्धानका लागि हाइब्रिड बीउको डीएनए परीक्षण सुरु गरिएको जनाएको छ । बीउ विज्ञान प्रविधि महाशाखा खुमलटारले डीएनए परीक्षणको प्रकृया सुरु गरिसकेको समितिले जनाएको छ ।

‘धानको बीउ रोपेको ७ दिनमा पात लाग्छ । पात लागेपछि मात्र डीएनए परीक्षण गर्न मिल्छ,’ समितिका सदस्य एवं बालिविज्ञान महाशाखा खुमलटारका वैज्ञानिक सुशीलराज सुवेदीले भने, ‘त्यसको ३ दिनमा डीएनएको नतिजा आइसक्छ ।’

प्रकाशित : आश्विन १४, २०७६ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?