कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भैरहवामा अफरको उत्साह

माधव ढुंगाना

भैरहवा — चाडपर्व नजिकिएसँगै यहाँका भैरहवा, बुटवल, तिलोत्तमा र ग्रामीण क्षेत्रमा चहलपहल बढ्न थालेको छ । सवारीसाधनको आवागमन बढ्दो छ । सडकमा सुरक्षाकर्मीको संख्या बाक्लिएको छ । चाडपर्वका लागि किनमेल गर्ने ग्राहकको स्थानीय हाटबजारदेखि विभिन्न डिपार्टमेन्टल स्टोरसम्म र स्वदेशी बजारदेखि सीमावर्ती भारतीय बजारसम्म भीड लाग्न थालेको छ ।

भैरहवामा अफरको उत्साह

यहाँस्थित बजाज मोटरसाइकल कम्पनीको आधिकारिक बिक्रेता बज अटोमोबाइल्स कम्पनीले साढे चार लाख रुपैयाँ खर्च गरेर दसैं लक्षित कार्यक्रम ‘बजाज विशेष एक्सचेन्ज मेला’ सञ्चालन गरेको छ । ‘दसैंका बेला धेरैले नयाँ सामान किन्छन्,’ कम्पनीका प्रबन्ध निर्देशक हरिबहादुर थापाले भने, ‘ग्राहकमा हुने यही मनस्थितिलाई उपयोगमा ल्याएर हामीले आफ्नो व्यवसाय प्रवर्द्धन गर्ने योजनामा जुटेका हौं ।’


असोज १२ देखि १६ गतेसम्म आयोजना गरिएको विशेष एक्सचेन्ज मेलामा विभिन्न स्किम सञ्चालनमा ल्याएर धेरै परिमाणमा मोटरसाइकल बिक्री गर्ने योजनामा कम्पनी छ । वर्षभरि हुने कारोबारमध्ये दसैंका बेलामा मात्रै ४० प्रतिशत कारोबार हुने गरेको उनले बताए । दसैं, तिहार र छठ पर्वलाई लक्षित गरेर बुटवलको अमरपथस्थित सिंह कम्प्लेक्समा यामाहाको प्रस्तुतिमा ‘सिंह कम्प्लेक्स दसैंतिहार कार्निभल’ सुरु भएको छ । सिंह कम्प्लेक्सका कुनै पनि पसलमा न्यूनतम एक हजार रुपैयाँको सामान खरिद गरेबापत उपभोक्ता उपहार कार्यक्रममा सहभागी हुन सक्नेछन् । असोज ७ बाट ३० गतेसम्म अफर चल्नेछ ।


चाडपर्व लक्षित गरेर विभिन्न व्यापारिक प्रतिष्ठानले आफ्ना अफरबारे माइकिङ गरिरहेका छन् । सडक किनार र चोकचोकमा टेन्ट टाँगेर विभिन्न अटोमोबाइल्स कम्पनीलगायत अन्य व्यापारिक तथा औद्योगिक प्रतिष्ठानले आफ्ना वस्तु तथा सेवाबारे जानकारी गराइरहेका छन् । बजारमा रौनक छाएको छ । बुटवलमा पनि आम उपभोक्तालाई एकै स्थानमा उपभोग्य सामान सुलभ मूल्यमा उपलब्ध गराउनका लागि बुटवल उद्योग वाणिज्य संघ दसैं बजार सञ्चालन गर्ने तयारीमा छ ।


असोज १२ देखि १७ सम्म सञ्चालन हुने बजारमा दसैंका लागि आवश्यक सम्पूर्ण उपभोग्य वस्तु एकै स्थानबाट बजार मूल्यभन्दा सस्तोमा उपलब्ध गराइने संघका अध्यक्ष खिमबहादुर हमालले बताए । ‘३० वटा स्टलबाट सामान हेरी बजार मूल्यभन्दा १५ देखि ४५ प्रतिशतसम्म सस्तोमा उपभोक्तालाई सामान उपलब्ध गराउनेछौं,’ अध्यक्ष हमालले भने, ‘दसैं बजारलाई लक्षित गरेर ग्राहकको सुविधालाई ध्यानमा राख्दै शनिबार र सोमबार बन्द हुने गरेको बुटवल बजारलाई दसैं, तिहार र छठ अवधिभर बन्द नगराउने भएका छौं ।’ घिउ, तेल, चिनी, मरमसला, मासुदेखि जिउँदो खसीसम्म दसैं बजारमा उपलब्ध गराइनेछ ।


सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले भने सोह्रश्राद्ध नसकिएको र सीमावर्ती भारतीय बजारको असरले गर्दा भैरहवामा अन्यत्रभन्दा कम चहलपहल भएको बताए । ‘चाडपर्वका बेलामा पनि सीमावर्ती भारतीय बजारको प्रभावले गर्दा भैरहवामा अन्तिम समयतिर बल्ल चहलपहल हुने गरेको छ,’ उनले भने, ‘अहिले सीमावर्ती भारतीय बजारतिरै चहलपहल देखिन्छ ।’ उपभोक्तालाई गुणस्तरीय वस्तु सुपथ मूल्यमा उपलब्ध गराउने संघको बैठकले निर्णय गर्दै माइकिङ गर्न थालेको उनले बताए । व्यवसायीलाई बिलबिजक जारी गर्न पनि सचेत गराइएको उनले जनाए ।


सुनौली नाका हुँदै विशेष गरी भारतबाट काम गरी घर फर्किने नेपालीको संख्या बढ्न थालेको छ । चाडपर्वका लागि सीमावर्ती भारतीय बजार सुनौलीमा किनमेल गर्न जाने नेपाली उपभोक्ताको पनि भीड लाग्न थालेको छ । घर फर्किने र सामान किनमेल गर्न भारतीय बजार पुग्ने नेपाली उपभोक्ताको भीडले सीमा नाकामा चौबिसै घण्टा चहलपहल बढ्न थालेको छ ।


चाडपर्वका बेला नेपाल भित्रिएका यात्रुलाई कुनै समस्या हुन नदिन र समस्यामा परेकालाई सहयोग गर्न सीमावर्ती क्षेत्रमा सहायता केन्द्रहरू सञ्चालनमा ल्याइन थालेका छन् । ‘चाडपर्वमा सीमानाका हुँदै आवतजावत गर्ने यात्रुलाई समस्या पर्न नदिन र परेकालाई सहयोग गर्नका लागि नागरिक सहायता केन्द्र सञ्चालनमा ल्याएका छौं,’ सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार गस्ती भैरहवा गुल्मका डीएसपी गोविन्द खातीले भने, ‘समस्यामा परेका यात्रुको सहयोगका लागि आवश्यक परेमा सीमावर्ती भारतीय सुरक्षाकर्मीसँग पनि समन्वय गरिएको छ ।’ रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले चाडपर्वलाई लक्षित गरेर सीमानाका र बजारमा हुन सक्ने विभिन्न अनियमितता रोक्न बजार अनुगमनलाई तीव्र बनाइएको बताए ।


प्रकाशित : आश्विन १३, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?