कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ज्येष्ठ नागरिकलाई हवाई भाडा छुट : एयरलाइन्सपिच्छे फरक मत

सुरज कुँवर

काठमाडौँ — सत्तरी वर्षमाथिका ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिनुपर्ने सरकारको योजनामा एयरलाइन्सहरू विभाजित छन् । दुई कम्पनी सहमत छन् भने बुद्ध र यतीसहितका प्रमुख सात कम्पनी विपक्षमा छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गत भदौ ९ मा आफ्नो पहिलो कार्यकालको १४१ वटा कार्ययोजनासहितको एकवर्षे कार्यक्रम सार्वजनिक गर्दै ज्येष्ठ नागरिकलाई हवाई भाडामा छुट दिने कार्यक्रम पनि घोषणा गरेका थिए । उक्त घोषणाको आन्तरिक उडान गर्ने वायुसेवा कम्पनीहरूको संगठन वायुसेवा सञ्चालक संघ आवनले असहमति जनाएको थियो ।


मन्त्रीले सम्बद्ध क्षेत्रसँग सल्लाह नै नगरी भाडामा छुट घोषणा गरेको टिप्पणी संघको थियो । संघमा हेलिकप्टरसहित १५ वटा एयरलाइन्स कम्पनी सदस्य छन् । मन्त्रीको उक्त कार्यक्रममा समर्थन जनाउँदै निजी क्षेत्रको श्री एयरलाइन्स र नेपाल वायुसेवा निगमले छुट दिन सकिने प्याकेज सार्वजनिक गरेका छन् । श्रीका प्रबन्धक अनिल मानन्धरले गत सोमबार विज्ञप्ति जारी गर्दै ७५ वर्ष नाघेका यात्रुलाई हवाई भाडामा ५० प्रतिशत छुट दिइने जनाएका छन् ।

नेपालबाट भारत लगायतमा छिमेकी मुलुकमा चार्टर उडान अनुमति पाइसकेको श्रीले घोषणा गरेको छुट आफ्ना आन्तरिक उडानका लागि मात्रै लागू हुने भनेको छ । फ्युल सरचार्ज र विमानस्थल सेवा शुल्कमा भने छुट नहुने विज्ञप्तिमा छ । एउटा उडानमा दुई जना ज्येष्ठ नागरिकलाई छुट दिइने भनिए पनि टिकट भने आफ्नै काउन्टरबाट खरिद गर्नुपर्ने सर्त राखेको छ ।


नेपाल वायुसेवा निगमले असोज १ मै ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत छुट दिने घोषणा गरिसकेको छ । मन्त्रीको निर्णय मान्ने दुइटा एयरलाइन्स आवनको सदस्य एयरलाइन्स भने होइनन् । आवनमा सर्वाधिक जहाज अनि उडान गर्ने बुद्ध र यतीलगायत ७ वटा आन्तरिक एयरलाइन्स सदस्य छन् । छुटको निर्णय स्वीकार नगर्ने लिखित पत्र नै मन्त्रालयमा दर्ता गराएपछि मन्त्री भट्टराईले पूर्वपर्यटन सचिव सुरेशमान श्रेष्ठको संयोजकत्वमा भदौ २५ मा ८ सदस्यीय कार्यदल गठन गरेका थिए । सरोकारवालासँग छलफल गरी भाडामा छुट दिलाउन सकिने आधारसहित एक महिनाभित्र प्रतिवेदन पेस गर्नुपर्ने जिम्मेवारी कार्यदललाई छ ।

प्रकाशित : आश्विन ८, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?