कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘तीन दिनमा २ लाख टिकट बुकिङ’

काठमाडौँ — दसैंका लागि बुकिङ खुला भएको तीन दिनमा २ लाख टिकट बुकिङ भएको छ । उपत्यकाका विभिन्न स्थानमा रहेका काउन्टरमा टिकट लिन यात्रु जम्मा हुने गरेका छन् । सबैभन्दा बढी बुकिङ गोंगबुस्थित नयाँ बसपार्कबाट भएको छ । पहिलो दिन आइतबार सबैभन्दा बढी यात्रुको भीड यही काउन्टरमा लागेको थियो ।

‘तीन दिनमा २ लाख टिकट बुकिङ’

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार उक्त काउन्टरबाट पहिलो दिन सबैभन्दा बढी ३० हजारले टिकट बुकिङ गरेका थिए । ‘पहिलो दिन सबैभन्दा बढी यात्रुको भीड भएको ठाउँ नै नयाँ बसपार्क हो,’ उनले भने, ‘बढी बुकिङ पनि यही ठाउँबाट भएको छ, जहाँ १५ वटा टिकट काउन्टर छन् ।’ काउन्टरहरूमा अहिले यात्रुको भीड कम हुँदै गएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार सबै काउन्टरमा गरेर अहिलेसम्म करिब २ लाख टिकट बुक भइसकेको छ ।


‘टिकट बुकिङको आँकडा राम्रोसँग निकालिसकेको छैन,’ महासचिव सिटौलाले भने, ‘यात्रुको चाप बढी हुने कोटेश्वर, गौशाला,चाबहिल, कलंकी, नयाँ बसपार्कलगायत काउन्टरमा मंगलबारसम्म २ लाख टिकट बुक भइसकेको छ ।’ टिकट काट्न यात्रु दैनिक काउन्टरमा पुग्ने गरेका छन् । ‘तर, भीड बिस्तारै कम हुँदै गएको छ,’ उनले भने । यता यातायात व्यवस्था विभागले असोज १२ देखि १९ सम्म सार्वजनिक सवारी साधनका लागि इजाजत पत्र (रुट परमिट) खुला गर्ने निर्णय गरेको छ । मंगलबार सूचना जारी गर्दै विभागले उक्त निर्णय गरेको हो । यातायात व्यवसायीले भने उक्त समय पर्याप्त नभएको र सल्लाह नै नगरी हतारमा निर्णय गरेको आरोप लगाएका छन् ।


‘दसैंमा एक हप्ताका लागि मात्र रुट परमिट खुला गरेका हौं,’ विभागका महानिर्देशक हमालले भने, ‘यो समयमा पूर्वका गाडी पश्चिम, सुदूरपश्चिमसम्म यात्रु बोकेर जानुपर्ने हुन्छ ।’ उनले असोज १२ देखि १९ गतेसम्म काठमाडौं भित्रिने लामा सवारी साधनलाई आवागमनमा रोक लगाउने निर्णय गरिएको बताए । ‘१८/२० चक्के सवारी साधन सामान लिएर भारतबाट आउँछन्, जसले गर्दा मुख्य राजमार्गमा जाम हुने हुन्छ,’ उनले भने, ‘पहिल्यै थाहा भएपछि त्यहीअनुसारको तयारी हुन्छ भनेर अहिले नै सूचना जारी गरेका हौं ।’ अहिले सूचना जारी गरेपछि त्यो बेला सीमा नाकाबाट सामान भित्रँदैन ।


‘विभागले रुट परमिटका सम्बन्धमा निकालेको सूचना छिटो भयो, त्यसमा पनि ७ दिनको समय कम भयो,’ महासचिव सिटौलाले भने, ‘परमिट खुला १९ गतेसम्मलाई मात्र गरिएको छ, २१ गते टिका छ, २२ गते यात्रु लिएर फर्कनुपर्ने हुन्छ छ, सल्लाह नै नगरी यस्तो निर्णय गरियो, कम्तीमा हामीलाई १५ दिनको समय चाहिन्छ ।’ त्यस्तै यातायात व्यवसायीले ग्रामीण क्षेत्रका सडक अझै नखुलेको गुनासो गरेका छन् ।


‘ग्रामीण क्षेत्रका सडक अझै बनिसकेका छैनन्, कसरी गाडी चलाउने भन्ने समस्या भएको छ,’ उनले भने, ‘त्यस्तो ठाउँमा हामीले कसरी यात्रु लग्ने ? खाल्डाखुल्डी अझै पुरिएको छैन, दसैं आइसक्यो, सडक मर्मत चाँडो नगरिए समस्या हुन्छ ।’ वर्षातले गर्दा पनि समस्या भएको उनले बताए । यातायात व्यवस्था विभागले मुख्यमुख्य सडक मर्मत भइरहेको दाबी गरेको छ । ‘गाउँ जोड्ने सडक गाउँपालिकाले, प्रदेशमा जाने प्रदेशले मर्मत गरिरहेका छन्,’ महानिर्देशक हमालले भने, ‘पानी रोकिएको छ, सडक मर्मत गर्न समस्या हुने छैन ।’


उनले सहज रूपमा यात्रुलाई गन्तव्यसम्म पुर्‍याउने दाबी गरे । बिहीबारसम्म उपत्यकाको १४ स्थानमा नागरिक सहायता कक्ष सञ्चालनमा आइसक्नेछ । गौशाला, नयाँबसपार्क, चाबहिल, कोटेश्वर, बल्खु, कलंकी, नागढुंगालगायत स्थानमा रहनेछ । जहाँ ट्राफिक प्रहरी, यातायात व्यवस्था विभागका कर्मचारी, उपभोक्ता समाजका प्रतिनिधि रहनेछन् । भाडा बढाएर लिन पाउने छैनन् । अहिले जति भाडादर छ । त्यही दरमा यात्रुले गन्तव्यसम्म पुग्न पाउनेछन् यातायात व्यवसायीका अनुसार दसैंमा १८ देखि २० लाखसम्म यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन् । अग्रिम टिकट बुकिङ गर्नेहरू घटस्थापनाबाट घर जान थाल्नेछन् । केही गाडी कम्पनीहरूले अनलाइनबाट पनि टिकट बुकिङ गर्ने व्यवस्था मिलाएका छन् ।


प्रकाशित : आश्विन ८, २०७६ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?