कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चाडपर्वमा अचाक्ली महँगी

प्रदेश ब्युरो

(जनकपुर) — प्रदेश २ का ठूला सहर जनकपुर, वीरगन्ज, कलैया, मलंगवा, राजविराज र लहानमा चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुको मूल्य अचाक्ली बढे पनि बजार अनुगमन ‘कर्मकाण्डी’ मात्रै छ । सरकारी निकायको काबुबाहिर रहेको बजार भाउ नियन्त्रण नहुँदा विपन्न वर्ग ठूलो मारमा परेका छन् । 

चाडपर्वमा अचाक्ली महँगी

जनकपुर–९ की नीतु कर्ण तरकारी किन्न जानकी चोकको हाट बजार जान्छिन् । ताजा तरकारी किन्न घरबाट १ किलोमिटर टाढाको सब्जीमण्डी पुग्ने उनी पछिल्लो बजार भाउले भने झस्किएकी छन् । ४५–५० रुपैयाँ किलोमा पाइने प्याजको मूल्य बढेर ८० रुपैयाँ पुगेको छ । आलु, टमाटर र अन्य तरकारीको मूल्य पनि आकाशिएको छ । साता अघिकै तुलनामा २० देखि ३० रुपैयाँसम्म महँगो भएपछि कर्ण दोधारमा परेको बताउँछिन् । ‘चाडपर्वमा तरकारी बढी खपत हुने र वर्षाले उत्पादन प्रभावित भएको भन्दै आफूखुसी मूल्य तोकेका छन्,’ उनले भनिन् ।


बजारमा प्रतिकिलो ५० रुपैयाँमा पाइने भिन्डी ६० रुपैयाँ पुगेको छ । ८० रुपैयाँमा पाइने गोभीको मूल्य १ सय रुपैयाँ पुगेको छ । जनकपुरको बजारमा आलु प्रतिकिलो ४० रुपैयाँ छ । केही दिनको अन्तरमा आलुको मूल्य प्रतिकिलो १० रुपैयाँले बढेको छ । टमाटर प्रतिकिलो १ सय रुपैयाँ पुगेको छ । परवल पनि प्रतिकिलो ८० देखि १ सय रुपैयाँमा बिक्री भइरहेको छ । टमाटर र प्याजको मूल्य अचाक्ली बढेपछि गृहणीहरू विखलबन्दमा परेका छन् । मूल्य वृद्धिबारे पेठियाका थोक विक्रेता मोहम्मद इसाक राइनको भने बेग्लै भनाइ छ । उनी नाकामा बिषादी परीक्षणमा कडाइ गरिएपछि बजारमा तरकारीको भाउमा उतारचढाव आएको बताउँछन् ।


राजविराजमा पनि तरकारीको मूल्य आकाशिएको छ । यहाँस्थित हटियामा साताअघि ३० देखि ५० रुपैयाँ किलोमा पाइने प्याजको मूल्य दोब्बर भएको छ । ‘हरेक तरकारीमा प्याज हाल्नैपर्छ । यसकै भाउ आकाशियो,’ राजविराज नगरपालिका ६ की हीरा राउतले भनिन्, ‘भान्साको परिकार महँगो भयो । मध्यम परिवारलाई हटियाको भाउले पिरोल्न थालेको छ ।’ सप्तरीमा खपतको थोरै प्रतिशत मात्र प्याज उत्पादन हुन्छ । यहाँको भान्सामा भारतीय प्याजकै दबदबा छ ।


राजविराजमा प्याज मात्र होइन । चाडपर्वमा तरकारीको मूल्य पनि अत्यधिक वृद्धि भएको छ । प्रभावकारी अनुगमनको अभाव, खाधान्न र तरकारीमा जिल्ला आत्मनिर्भर हुन नसक्नुका कारणले बाहिरबाट आयात गरेका तरकारीमा व्यापारीहरूले आफूखुसी मूल्य तोक्ने गरेका छन् । ‘दसै मुखमै आइसक्यो । सबैले मीठो मसिनो खाने अपेक्षा गरेका हुन्छन्,’ राजविराजकी गृहिणी प्रमिला देवीले भनिन्, ‘चाडबाडको मुखमा तरकारीको अचाक्ली मूल्यवृद्धिले उपभोक्ताको ढाड सेकेको छ ।’


प्रदेश २ का ठूला सहर जनकपुर, वीरगन्ज, कलैया, मलंगवा, राजविराज र लहानमा चाडपर्वको मुखैमा अति आवश्यक वस्तुको मूल्य बढेको छ । सरकारी निकायको काबुबाहिर रहेको बजार भाउलाई नियन्त्रण गर्न भने पहल गरिएको छैन । वस्तुको मूल्य आफूखुसी तोकिए पनि सरकारी निकायले चाडपर्वको मुखमा बजार अनुगमनलाई ‘कर्मकाण्डी’ मात्र बनाएका छन् ।


खाद्यान्न, रेडिमेड कपडा र किराना आइटमको मूल्य पनि वृद्धि भएको छ । ग्राहकले बार्गेनिङ गरेर खरिद गर्छन् । व्यवसायीले धेरै मार्जिन राखेर आफूखुसी मूल्य निर्धारण गर्ने क्रम रोकिएको छैन । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले महँगी र कालोबजारी नियन्त्रण गर्न अनुगमन टोली बजारमा खटिएको बताए । ‘चाडपर्वमा आफूखुसी वस्तुको मूल्य तोक्ने र बढी मुनाफा लिने चलन पुरानै हो । नियन्त्रणका लागि अनुगमन टोलीलाई कडाइका साथ प्रस्तुत हुन निर्देशन दिइएको छ,’ उनले भने । बजार अनुगमन, कालोबजारी र भाउ नियन्त्रण गर्न प्रदेश र स्थानीय सरकारलाई अधिकार छ । तर, प्रदेश सरकार र स्थानीय तहले बजारलाई व्यवस्थित र ग्राहकमैत्री बनाउन ध्यान दिएकै छैनन् ।


चाडपर्व नजिकिएसँगै खाद्यान्नको मूल्य बढेपछि सीमावर्ती क्षेत्रका ग्राहक भारतीय बजारमा किनमेल गर्ने क्रम बढेको छ । सप्तरीका ग्राहकहरू भारतीय सीमावर्ती बजार कुनौलीमा दाल, चिनी, खाने तेल, मसालाजन्य वस्तु खरिद गरेर ल्याउँछन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरले सोमबारदेखि बजार अनुगमन थालेको छ । वस्तुको गुणस्तर जाँच्ने यो कार्यालयले राजमार्ग क्षेत्रमा रहेका होटलको अनुगमन थालेको खाद्य निरीक्षक प्रवीण तिवारीले बताए ।


व्यापारीको एकाधिकार चाडपर्व नजिकिएसँगै रौतहटका व्यापारीले खाद्यान्न र तरकारीलगायत सामानको भाउमा मनोपोली गरिरहेका छन् । खुद्रा व्यापारीले आफूखुसी दर राखेर खुलेआम सामान बेचिरहेका छन् । सामान महँगो भएपछि ग्राहकले विरोध गर्न थालेका छन् । चन्द्रनिगाहपुर बजारमा सोमबार किनमेल गर्न गएकी राजपैडाकी सुनियादेवी चौधरी प्याजको भाउ सुनेर अचम्ममा परिन् । अघिल्लो शुक्रबार प्रतिकिलो १ सयमा खरिद गरेको प्याजको भाउ १ सय २० पुगेको छ । ‘चाडपर्व आउन थालेपछि व्यापारीहरू अचाक्ली भाउ बढाउन थाल्छन्,’ उनले भनिन्, ‘मनपरी मूल्य राखेर सामान बेच्छन् । यसलाई रोक्नुपर्छ ।’


बजारमा ग्राहक बढेपछि व्यापारीले सामानको मूल्य बढाउने चलन पुरानै हो । तरकारीका खुद्रा व्यापारी गायत्री साहले बजार भाउ घटबढ भइरहेको बताइन् । ‘कहिले बढ्ने र कहिले घट्ने भइहाल्छ नि,’ उनले भनिन्, ‘पर्वमा मात्र भाउ बढेको भन्न मिल्दैन । हरियो तरकारीको भाउ स्थिर हुँदैन ।’


बजारमा अहिले चिनीको भाउ ८० रुपैयाँ प्रतिकिलो पुगेको छ । केही समयअघिसम्म ७५ रुपैयाँ किलो थियो । कतर्नी चामलको प्रतिकिलो ६४ रुपैयाँ थियो । अहिले प्रतिकिलो ६७६ रुपैयाँ पुगेको छ । अनिल किरानाका सञ्चालक रूपेश जैसवालले केही खाद्यान्नमा मात्र सामान्य भाउ बढेको दाबी गरे ।


ग्रामीण भेगका बजारहरूमा अनुगमन हुन नसक्दा व्यापारीले मनोमानी भाउ बढाउने गरेका छन् । यहाँको मैरा, बलुवा, कनकपुर लगायत भित्री मधेसका बजारहरूमा लामो समयदेखि अनुगमन हुन सकेको छैन । यस्ता बजारहरूमा पर्वका बेला मनपर्दी भाउ बढाउने गरेको पाइन्छ । प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्लाभरिका बजारहरूमा पर्वका बेला अनुगमन जरुरी रहेको बताए । ‘अब स्थानीय तह बढी सक्रिय हुनुपर्छ,’ उनले भने, ‘बजारमा सामानको दररेट, मूल्यसूचीबारे नगरपालिका चनाखो हुनुपर्छ ।’


अनुगमनै भएन

चाडबाड नजिकिएसँगै दैनिक उपभोग्य वस्तुको बजार मूल्य आकाशिए पनि सरकारी निकायले अनुगमनमा ध्यान दिएको छैन । बजारमा उपभोक्ताले थेग्नै नसक्ने मूल्यवृद्धि भइरहँदासमेत नियमनकारी निकाय मौन बसेको आरोप उपभोक्ताहरूको छ । जसका कारण आम उपभोक्ता दैनिक चर्को मूल्यको सामना गर्न बाध्य छन् ।


१ हजार ५ सय पर्ने जिरा मसिनो चामलको मूल्य अहिले १ हजार ७ सय रुपैयाँ पुगेको छ । किलोको ६५ रुपैयाँ पर्ने चिनीको मूल्य पनि १५ रुपैयाँले बढेर किलोको ८० रुपैयाँमा बिक्री भइरहेको छ । दसैं, तिहार, छठलगायत प्रमुख पर्वमा व्यापार बढ्ने गर्छ । यही मौका छोपेर व्यापारीहरूले अस्वाभाविक रूपमा भाउ बढाउँदा सर्वसाधारण उपभोक्ता मारमा परेका छन् । ‘चाडपर्वको बेला प्रमुख बजारहरूमा उपभोक्ताको भीड बढिरहेको छ, बजारमा उपभोक्ताको भीड बढ्दो व्यापारीहरूले भाउ बढाएका छन्, यस वर्ष अनुगमन पनि नभएकाले हामी उपभोक्ताहरू प्रत्येक दिन ठगिनुपरेको छ,’ हरिवन नगरपालिाका–११ का अनिल हमालले भने, ‘उपभोक्ता ठगीमा परिरहँदा प्रशासन र स्थानीय सरकार मौन छन् ।’


चाडबाडका बेला म्याद गुज्रेका सामानको समेत बिक्री हुने गरेको छ । सदरमुकाम मलंगवासहित जिल्लाका अन्य व्यापारिक केन्द्र बरहथवा, ईश्वरपुर, हरिवन, लालबन्दी, गौरलगायतका बजारमा अनुगमन हुन नसक्दा उपभोक्ता मारमा परेको स्थानीय मनोज ठाकुरले बताए । ‘बजारमा किनमेलका लागि जान मन लाग्नै छोडेको छ, दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ,’ ठाकुरले भने ।


विपन्नलाई मार

बाराको कलैयालगायतका बजारमा प्याजको भाउ एक सय २० रुपैयाँ प्रतिकिलो पुगेको छ । एक साताअघिसम्म ७० रुपैयाँ प्रतिकिलो खुद्रा मूल्य रहेको प्याजको भाउ ५० रुपैयाँले बढेको उपभोक्ताहरूले बताए । साताअघि २५/३० रुपैयाँ प्रतिकिलो पाउने भन्टाको भाउ बढेर ८० रुपैयाँ प्रतिकिलो पुगेको कलैया उपमहानगरपालिका १७ ब्रह्मपुरीका उपभोक्ता महेन्द्र राउतले बताए । ‘अहिले बजारमा सामान्य मान्छेले तरकारी खरिद गर्न सक्ने हैसियत छैन,’ उनले भने, ‘चाडबाडकै मुखमा तरकारीको भाउ बढ्छ ।’


दैनिक ज्यालादारीमा काम गरेर परिवारको गुजारा चलाउँदै आएकी जितपुर सिमरा उपमहानगरपालिका १५ भवानीपुरकी बज्यान्ती चौधरीले महँगीको सबभन्दा बढी मार गरिबहरूलाई परेको गुनासो गरिन् । ‘हाम्रो आम्दानीअनुसारको पैसाले अहिलेको बजारमा किनमेल गर्नै सकिँदैन,’ उनले भने, ‘दिनभरि कमाएको ज्याला लिएर बजार पस्दा २/३ किलो पनि तरकारी किन्न सकिँदैन ।’ दैनिक ज्याला मजदुरी गर्दा ३ सय ७५ रुपैयाँ आम्दानी हुने उनले बताइन् ।


वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा रहेको एक चकलेट उद्योगमा मजदुरी गर्दै आएका जितपुर सिमरा १५ डुमरवानाकी विपना चौधरीले पनि बढ्दो महँगीले सबभन्दा बढी गरिब र विपन्न परिवार मारमा परेको बताइन् । महिनाभरि काम गर्दा ८/१० हजार रुपैयाँ आम्दानी गर्दै आएकी उनले घरबाट उद्योग ओहोरदोहोर गर्न दैनिक एक सय २० रुपैयाँ टेम्पोको भाडामै खर्च गर्छिन् । महिनामा ४ हजार जति खाजामै खर्च हुन्छ । कपडा, कस्मेटिक सामग्रीको भाउसमेत बढेको उनले गुनासो गरिन् । बजारको महँगीलाई नियन्त्रण गर्न सरकारले पहल गर्नुपर्ने उनले बताइन् ।


शाहीमान राई (जनकपुर), अवधेश झा (सप्तरी), ओमप्रकाश ठाकुर (सर्लाही), शिव पुरी (रौतहट) र पवन यादव (बारा)

प्रकाशित : आश्विन ७, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?