कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कृषकको गुनासो : धान पसाउने बेला मल छैन

सम्झना रसाइली

(तनहुँ) — शुक्लागण्डकी नगरपालिका–४ नयाँगाउँका कृषक वीरबहादुर थापाले गरिखान्छौं भन्दा पनि मल नपाएको गुनासो गरे । ‘न धान लगाउने बेलामा बीउ पाइन्छ,’ उनले भने, ‘न पसाउने बेला मल ?’ आवश्यक परेका बेला बीउ र मल नपाउँदा थापाजस्ता तनहुँका धेरै किसान मर्कामा परेका छन् ।

करिब ३० किलो मल आवश्यक भएकामा एक किलो पनि नपाएको थापाको गुनासो छ । मल किन्न व्यास नगरपालिका–१४ फराकचौरबाट दमौली आएका प्रेमबहादुर सुनार २ घण्टादेखि लाइन बस्दा पनि पालो नआएकामा मुर्मुरिँदै थिए । ‘धान गोडेर मल छरौंला भनेको पाउनै गाह्रो भयो । यसपटक धान कम फल्छजस्तो छ,’ उनले भने । म्याग्दे गाउँपालिका–५ अकालाकी मिना थापाले धान रोप्ने बेलामा पानी नपरेर पर्याप्त धान रोप्न नपाएको र अहिले मल नपाउँदा समस्या भएको बताइन् ।


समयमा मल नपाउँदा जिल्लाका किसान मारमा परेका छन् । सरकारले समयमै मल दिन नसकेको भन्दै उनीहरू आक्रोशित छन् । वाग्ले भेटेरिनरी खैरेनीटारका सञ्चालक दीपक वाग्लेले सिजनमा मल बिक्री गर्न नपाउँदा व्यापारमा समेत असर परेको बताए । ‘रूपान्तरण कृषि सहकारीमार्फत मल बिक्री गर्दै आएकामा गत असारदेखि नै मल नआएकाले किसानहरूलाई उपलब्ध गराउन सकिएको छैन,’ उनले भने । किसानले यो समयमा धानमा युरिया मल राख्ने गर्छन् । जिल्लामा अहिले युरियाकै अभाव छ ।


शुक्लागण्डकी नगरपालिकाका कृषि शाखा प्रमुख नवराज पौडेलले समयमै मल अभाव नहट्ने हो भने धान उत्पादनमा ह्रास आउने बताए । उनले भने, ‘किसानसँग प्रशस्त प्रांगारिक मल छैन, बिरुवालाई आवश्यक नाइट्रोजन पुर्‍याउन युरिया मल आवश्यक छ, मल पुगेन भने बिरुवा पहेंलो हुन्छ र फल लाग्दैन ।’ बजारमा युरिया मल आवश्यक मात्रामा उपलब्ध गराउने अधिकार नगरपालिकासँग नभएको तर पहल भने गरिरहेको उनले बताए । जिल्लामा ७३ टन युरिया मल आयात भएको कृषि सामग्री कम्पनी लिमिटेडका वरिष्ठ सहायक राजनबन्धु न्यौपानेले बताए । कार्यालयबाट तनहुँ, लमजुङ र गोरखाको पालुङटारलाई मल आपूर्ति हुन्छ । न्यौपानेले भने, ‘गत वर्षको भदौसम्म यी ३ जिल्लामा ५४५ टन मल बिक्री भएकामा तनहुँमा मात्रै ४२५ टन खपत भएको थियो ।’ हाल तनहुँमा मात्र ५ सय टन युरिया मल आवश्यक रहेको तर आयात भएको ७३ टन मल पनि ३ जिल्लामा बाँड्नु पर्दा अभाव भएको हुन सक्ने उनको भनाइ छ ।


जिल्लामा खेतीयोग्य जमिन कुल ६५ हजार ६१ हेक्टर छ । ५१ हजार ५ सय १० हेक्टर क्षेत्रफलमा मात्र खेती गरिएको कृषि ज्ञान केन्द्र तनहुँका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले बताए । ‘समयमा पानी नपर्नाले केही क्षेत्रमा खेती ढिला भयो भने केही बाँझै छ । कहीँकतै भएको खेतीमा पनि कृषकहरूले समयमा मल हल्न नपाउँदा यस वर्षको उत्पादन घट्ने देखिन्छ,’ उनले भने । गत आर्थिक वर्षमा ५० हजार ३ सय ७५ टन धान उत्पादन भएको थियो । ‘अहिले मौसमका कारणले गत आवको भन्दा उत्पादन घट्ने सम्भावना छ,’ उनले भने ।


प्रकाशित : आश्विन ५, २०७६ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?