कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मसला बालीमा बजेट कम

वीरेन्द्र केसी

(अर्घाखाँची) — यहाँका स्थानीय तहहरूले मसला बाली उत्पादन र प्रवर्द्धनका कार्यक्रममा बजेट छुट्याउन कन्जुस्याइँ गरेका छन् । लसुन, प्याज, खुर्सानी, अदुवा, बेसार र धनियाँलगायत बालीका लागि न कार्यक्रम छ न त बजेट नै विनियोजन गरिएको छ । अधिकांशले बारीमा थोरै भए पनि मसला बाली लगाए पनि व्यावसायिक उत्पादन भने कमै छ । 

जिल्लाभर मसला बाली उत्पादनबाट वर्षमा १८ करोड २ लाख रुपैयाँको कारोबार भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । अदुवाको भाउमा बर्सेनि उतारचढाव भएकाले व्यावसायिक रूपमा फस्टाउन सकेको छैन । सितगंगा नगरपालिकाका १४ वटै वडामा अदुवा उत्पादन हुन्छ । कहिले भाउ बढ्ने र कहिले घट्ने गरेका कारण उत्पादनमा वृद्धि हुन नसकेको केन्द्रका कृषि प्रचार अधिकृत थिरलाल गैरेले बताए । ‘तीन वर्षदेखि यहाँ अदुवा उत्पादन घट्दो छ,’ उनले भने, ‘भारतमा निर्यात हुन छाडेपछि गाउँमा उत्पादित अदुवाले बजार पाउन छाडेको हो ।’


बुटवल र तराईका बजारमा सितगंगाको अदुवा गए पनि पहिलेजस्तो बिक्री छैन । गानो कुहिने रोग नियन्त्रण भएको छैन । किसान नै खेती गर्न उत्साहित नभएको देखिएको छ । परम्परागत ढंगले खेती भइरहेको छ । सिद्धारा, जलुके र जुकेनाका कृषकले अन्नबाली मासेर अदुवा खेती गरेका थिए । लगानी नै नउठेपछि अहिले छाडेको बताउँछन् । अहिले यहाँका धेरैजसो किसानले घरको करेसाबारी र केहीले दुई/चार रोपनीमा अदुवा खेती गरेका छन् ।


जिल्लामा चार सय हेक्टर जमिनमा ३ हजार ९ सय ६८ टनसम्म अदुवा उत्पादन भएको र ११ करोड रुपैयाँको कारोबार भएको केन्द्रका सूचना अधिकारी रामबहादुर रायमाझीले बताए ।


उत्पादित अदुवा जिल्लाभित्र र बाहिर खपत भएको थियो । अदुवा एक रोपनीमा १ दशमलव ५ टनसम्म फल्छ । कपुरकोट जातको उत्पादन भइरहेको छ । अरू बालीमा नयाँ जात भए पनि अदुवामा अहिलेसम्म बढी उत्पादन हुने नयाँ जातको विकास गर्न सरकारको ध्यान नपुगेको सूचना अधिकारी रायमाझीले बताए ।


१४३ हेक्टर क्षेत्रफलमा १ हजार १ सय ४४ टन बेसार उत्पादनबाट २ करोड रुपैयाँको कारोबार भएको छ । प्याज, लसुन, खुर्सानी १ हजार १५ टनबाट ५ करोड रुपैयाँको कारोबार भएको उनले सुनाए । कृषि भन्ने बित्तिकै तरकारी बुझिन्छ । प्लास्टिकका टनेल वितरण हुन्छ, अनुदान दिइन्छ तर लसुन, प्याज, खुर्सानीजस्ता बालीमा स्थानीय तहको ध्यान नपुगेको अगुवा कृषक पुष्करनाथ बञ्जाडेले बताए ।

‘खानालाई स्वादिलो बनाउन तरकारी, दाल, मासु, अचारमा राख्नैपर्छ,’ उनले भने, ‘हाम्रा जनप्रतिनिधिको नजर यिनमा परेको छैन ।’


ठूलापोखराका कृष्णप्रसाद पाण्डेले बेसार उद्योग खोलेर कारोबार गरेका छन् । वर्षमा दस टन धुलो र दुई टन चाना र सुठो बनाएर बिक्री गर्ने गरेको उनले सुनाए । काँचो बेसार खरिद गरेर धूलो बनाएर बिक्री गर्दा वर्षमा ३ लाख रुपैयाँ कमाइ हुने उनले बताए । ‘लोकल लसुन महँगोमा बिक्री हुन्छ,’ उनले भने, ‘मुलुक बाहिरबाट भित्रिने मसला रोक्न सके स्वदेशी उत्पादन बढ्नेमा शंका छैन ।’

प्रकाशित : आश्विन ५, २०७६ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?