कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दसैंको टिकट बुकिङ खुला, अनलाइनबाट पनि बुक गर्ने व्यवस्था

विमल खतिवडा

काठमाडौँ — दसैंका लागि आज (आइतबार) बाट टिकट बुकिङ खुला गरिएको छ । बुकिङ खुला गर्नु अघिल्लो दिन शनिबार नयाँ बसपार्कमा यात्रु बोक्ने गाडीको प्राविधिक पक्षको चेकजाँच गरिएको छ । अघिपछि पनि शंका लागेको गाडीको कन्डिसन चेकजाँच गरेर मात्र गन्तव्यमा पठाइने यातायात व्यवस्था विभागले जनाएको छ ।

दसैंको टिकट बुकिङ खुला, अनलाइनबाट पनि बुक गर्ने व्यवस्था

‘शंका लागेको गाडीको पहिलोपटक हामीले आकस्मिक प्राविधिक परीक्षण सुरु गरेका छौं,’ विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, ‘यात्रु बोकेर गाडी टाढाटाढासम्म लग्नुपर्ने हुन्छ, यस्तो अवस्थामा कन्डिसनको गाडी भएन भने यात्रुले समस्या झेल्नुपर्ने हुन्छ, त्यही भएर प्राविधिक पक्ष चेक–जाँच गरेर पठाउनेछौं ।’


उनका अनुसार असोज १० गतेबाट सुरु गर्ने भनिएको नागरिक सहायता कक्ष टिकट बुकिङसँगै सुरु हुने भएको छ । बसपार्कमा भने शनिबारबाटै उक्त कक्षको सुरुवात गरिएको महानिर्देशक हमालले जानकारी दिए । ‘नागरिक सहायता कक्ष बसपार्कबाट सुरु भए पनि जहाँजहाँ टिकट काउन्टर छ, त्यहाँ राख्नेछौं,’ उनले भने, ‘यस्ता ठाउँमा ठूलो संख्यामा सादा पोसाकका प्रहरी परिचालन हुनेछन्, कसैले गडबड गरे कारबाही गर्नेछौं ।’


उनका अनुसार दसैंका लागि यात्रु बसको समस्या छैन । केही नयाँ बससमेत थपिएका छन् । ‘यात्रु बस पुग्दो छ, चिन्ता गर्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘यात्रुलाई ठगिन नदिन चाडबाडभरि दैनिक अनुगमन गर्नेछौं ।’ अहिले ठाउँठाउँमा सडक बिग्रिएर समस्या भएको छ । ती ठाउँमा मर्मत जारी राखिएको सडक विभागले जनाएको छ । सबैभन्दा बढी सवारी चाप हुने नागढुंगा–नौबिसे खण्डमा खाल्डाखुल्डीले गर्दा समस्या देखिएको छ । उक्त सडकका मर्मत जारी रहेको विभागले जनाएको छ । यो खण्ड भएर दैनिक ८ हजारभन्दा बढी सवारी साधन आवातजावत गर्छन् । दसैंमा यो संख्या दोब्बर हुन्छ । उपत्यकाको १४ स्थानमा नागरिक सहायता कक्ष सञ्चालन हुनेछ । ‘जहाँ बढी टिकट काटिन्छ, ती ठाउँमा नागरिक सहायता कक्ष आजबाट सञ्चालनमा आउनेछ,’ उनले भने, ‘१८ गतेसम्म कक्ष सञ्चालन हुनेछ ।’


उनका अनुसार टिकट बुकिङ गौशाला, नयाँ बसपार्क, चाबहिल, कोटेश्वर, बल्खु, कलंकी, नागढुंगालगायत स्थानमा रहनेछ । जहाँ ट्राफिक प्रहरी, यातायात व्यवस्था विभागका कर्मचारी, उपभोक्ता समाजका प्रतिनिधि रहनेछन् । टिकट काट्ने क्रममा यात्रुलाई अप्ठ्यारो परेमा तत्काल नागरिक सहायता कक्षले समाधान गर्नेछ । व्यवसायीले भाडा बढाएर लिन पाउने छैनन् । अहिले जति भाडादर छ । त्यही दरमा यात्रुले गन्तव्यसम्म पुग्न पाउनेछन् । सवारी साधनको भाडा दर यात्रुले थाहा पाउने गरी व्यवसायीले गाडीमा टाँस्नुपर्नेछ । महानिर्देशक हालका अनुसार केही कम्पनीहरूले अनलाइनमार्फत पनि टिकट काट्ने व्यवस्था गरेका छन् । जसले गर्दा लाइन बस्नुपर्ने झन्झटबाट यात्रुले छुटकारा पाउनेछन् । केही यात्रुले भने बुकिङ खुला हुनुअघि टिकट बुक गरिसकेका छन् । टिकट काउन्टरमा यात्रुको भीड लाग्न सुरु भइसकेको छ ।


सहायता कक्षमा यातायात कार्यालयका कर्मचारी र ट्राफिक प्रहरी पनि हुने भएकाले उनीहरूलाई व्यवसायीबाट कुनै गल्ती भेटिए तत्कालै अधिकतम जरिवाना गर्नेसम्मको अधिकार दिइएको छ । यातायात व्यवसायीका अनुसार दसैंमा १८ देखि २० लाखसम्म यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन् ।


यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार आइतबार बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म टिकट बुकिङ खुला रहनेछ । ‘यात्रुको चाप र आँकडा हेरेर बसको संख्या निर्धारण हुनेछ,’ उनले भने, ‘दसैंका लागि उपत्यकाबाट यात्रु बाहिरिन थाले पनि अग्रिम टिकट बुकिङ गर्नेहरू घटस्थापनाबाट जान थाल्छन् ।’ उनले सडक बिग्रिएकाले पटकपटक मर्मत गर्नुपर्ने माग राख्दै आएको बताए । ‘वर्षातका कारण ठाउँठाउँमा सडक बिग्रिएकाले त्यसलाई मर्मत नगरे यात्रु पुर्‍याउन समस्या हुन्छ,’ उनले भने, ‘यसबारे हामीले पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै आएका छौं, यदि सडक मर्मत नभए यात्रुलाई दसैंमा गन्तव्यसम्म पुर्‍याउन असमर्थ हुनेछौं ।’


अनलाइनबाट पनि बुकिङ

यात्रुले पहिलाजस्तो अहिले लाइन लागेरै टिकट काट्नुपर्ने अवस्था छैन । विभिन्न अनलाइनमार्फत घरमै बसेर टिकट बुकिङ गर्न सक्ने छन् । अनलाइनमा गाडी भाडादर ठाउँअनुसार राखिएको छ ।


प्रकाशित : आश्विन ५, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?