कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुल माग्दै रिले अनशन

बैतडी — भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुलको माग गर्दै जारी अनशन अझैं टुंगिएको छैन । १२ दिनदेखि रिले अनशन जारी छ । पुल निर्माणका लागि सरकारी पक्षबाट कुनै पहल नभएकाले अनशन जारी राख्न बाध्य भएको पुल निर्माण संर्घष समितिका संयोजक नरबहादुर चन्दले जानकारी दिए ।

झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि सबै दलका शीर्ष नेताले आश्वासन दिएको भए पनि कसैले पूरा नगरेकाले आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको उनले बताए । सीमा नाकामा पक्की पुल नभएकै कारण सुदूरपश्चिमका पहाडी जिल्लाको आर्थिक समृद्धिमा बाधा पुगेको बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खिमानन्द भट्टले जानकारी दिए । पुल निर्माणका लागि ठोस पहल नभएसम्म अनशन जारी रहने संर्घष समितिले जनाएको छ ।

अनशनमा बैतडीवासीले स्वस्फूर्त रूपमा सहभागिता एवं सहयोग गर्दै आएका छन् । दुई दशकदेखि पुल निर्माणका लागि विभिन्न माध्यमबाट दबाब दिए पनि कुनै सुनुवाइ नभएपछि झुलाघाट पक्की पुल निर्माण संर्घष समितिको अगुवाइमा रिले अनशन बस्न बाध्य हुनुपरेको स्थानीयले बताए ।


पुलको माग गर्दै २०५९ मा दश हजार बैतडीवासीको हस्ताक्षर संकलन गरेर तत्कालीन सरकार र भारतीय राजदूतावासलाई ज्ञापनपत्र बुझाएको भए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको स्थानीयले बताए ।

प्रकाशित : आश्विन ३, २०७६ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?