कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पसल अनुगमन गरेपछि कपडा व्यवसायीको विरोध

राजु चौधरी

काठमाडौँ — सरकारले लत्ताकपडामा अनुगमन गर्न थालेपछि व्यवसायीले विरोध जनाएका छन् । बजार अनुगमन तथा मूल्य नियन्त्रण गर्ने अधिकार पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले बिहीबार न्युरोडमा अनुगमन गर्दा व्यवसायीले नाराबाजी गरेका छन् ।

पसल अनुगमन गरेपछि कपडा व्यवसायीको विरोध

विभागले चाडबाडलाई लक्षित गरी न्युरोडमा रहेको रञ्जना कम्प्लेक्समा तीन टोली अनुगमन खटाएको थियो । विभागका निरीक्षण अधिकृत रमेशकाजी श्रेष्ठ, निरज खत्री र निरजकुमार खत्री र कपिलप्रसाद रेग्मीको टोलीले अनुगमन गरेका थिए । अनुगमनको क्रममा व्यवसायीहरूले लत्ताकपडामा मूल्यसूची नराखी मनपरी मूल्य कायम गरेको भेटिएपछि ४ व्यवसायीलाई ५० हजार रुपैयाँको दरले जरिवाना गरेको थियो । त्यसपछि व्यापारीले विरोध गरेको निरीक्षण अधिकृत श्रेष्ठले बताए ।


‘तीन टोलीले अनुगमन गरिरहेका थियो । सुरुमा ठिकै थियो । लत्ताकपडामा मूल्य थिएन । मनोमानी मूल्य लिएको भेटिएपछि जरिवना गर्‍यौं,’ श्रेष्ठले भने, ‘त्यसपछि व्यवसायीहरूले सटर बन्द गरेर विरोध सुरु गरे । उनका अनुसार व्यापारीले ‘घुसिया कर्मचारी मुर्दावाद’, ‘दसैंमा मात्रै अनुगमन गर्न पाइदैन,’ भन्दै नाराबाजी गरेका थिए ।


रन्जना कम्प्लेक्समा करिब ५ सय पसल छन । ती सबै व्यापारी विरोधमा उत्रिएको श्रेष्ठले बताए । ‘भीड अराजक भयो । खबर नगरी अनुगमन गर्न आएको भन्दै नाराबाजी गरे । अनुगमन टोलीलाई घेरे,’ श्रेष्ठले भने । रन्जना कम्प्लेक्सका अध्यक्ष अन्जन शाक्यले व्यवसायीलाई शान्त हुन अनुरोध गरेपछि पनि भीड नियन्त्रण नभएको उनले बताए । करिब आधा घण्टा नाराबाजी चलेको र थप प्रहरी आएपछि भीड नियन्त्रण भएको उनले जानकारी दिए ।


नयाँ उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार निरिक्षण अधिकृतले अनुगमन स्थलमै जरिवानाको अधिकार दिएको छ । मूल्य सूची नहुँदा ५० हजार देखि १ लाख रुपैयाँ जरिवानाको अधिकार भएको श्रेष्ठले बताए । सोही ऐन कार्यान्वयन गर्न खोज्दा व्यवसायीहरूले विरोध गरेका हुन् । भीड शान्त भएपछि कम्प्लेक्सका अध्यक्ष र अनुगमन टोलीबीच छलफल भएको थियो । थप छलफलका लागि व्यवसायीहरू विभागमै आएका थिए । ‘हुलहुज्जत गर्न खोजेपछि थप छलफलका लागि विभागमा बोलाइएका थियो,’ विभागका अर्का निरीक्षण अधिकृत दिपक पोखरेलले भने, ‘अनुगमन र कारबाही ऐन अनुसार नै हुन्छ ।’


विभागका महानिर्देशक योगेन्द्र गौचनले अनुगमन टोलीलाइ घेराउ गर्नु गलत भएको बताए । ‘बजार अनुगमन गर्दा व्यवसायीले घेराउ गरेका छन् । यो गलत हो,’ उनले भने, ‘विभाग कानुनी ढंगले अघि बढ्छ । अनुगमन रोकिदैन ।’ अनुगमनको क्रममा कैफियत भेटिए कारबाही हुने उनले बताए । करिब ५ वर्षअघि विभागको टोलीले न्युरोडमा अनुगमन गर्दा पनि व्यवसायीहरूले विरोध गरेका थिए ।


उनीहरूले अनुगमनको विरोध गर्दे तत्कालिन विभागका निर्देशक हरि नारायण बेल्बासेलाई पनि घेराबन्दी गरेका थिए । विभागको टोलीले बिशालबजारमा अनुगमन गर्दा अस्वभाविक मूल्य लिएको पाइएको थियो । त्यसपश्चात शिलबन्दी गर्न खोज्दा व्यवसायीले नाराबाजाी गरेका थिए।


करिब दुई वर्षअघि विभागकै अनुगमन टोलीले दरबारमार्गका स्टोरहरू अनुगमन गर्दा पनि अस्वभाविक मूल्य लिएको पाएको थियो । त्यसक्रममा शिलबन्दी गर्दा व्यवसायीहरूले अनुगमनको बिरोधमा अनिश्चतकालिन बन्द समेत गरेका थिए ।


नेपाल चेम्बर अफ कर्मशको पहलमा व्यवसायी र सरकारी निकाय बिच बार्ता भएपछि उनीहरूले व्यवसाय सन्चालन गरेका थिए । विभागको टोलीले कालिमाटी तरकारी बजारमा अनुगमन गर्दा पनि व्यवसायीले घेराउ गरेका थियो । अनुगमन टोलीलाई प्रहरी परिचालन गरेर छुटाइएको थियो । अनुगमनको विरोधमा व्यवसायीले कालीमाटी तरकारी पसल समेत बन्द गरेका थिए ।

प्रकाशित : आश्विन २, २०७६ २१:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?