नेप्से २२ अंकले बढ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार करिब साढे २२ अंकले बढ्यो । मंगलबार करिब २७ अंकले बढेको नेप्सेले बुधबार पनि सोही प्रवृत्ति पछ्याएको हो । बुधबारको कारोबारपछि नेप्से १ हजार १ सय ७३.४२ विन्दुमा उक्लिएको छ ।

सो दिन १ हजार १ सय ५०.६६ विन्दुबाट कारोबार सुरु भएको थियो । पहिलो ३० मिनेटमा नेप्से बढेर १ हजार १ सय ७२.५९ विन्दुसम्म पुगेको थियो । त्यो वृद्धि धेरै समय टिकेन । फेरि बजार ओरालो लाग्यो । त्यसपछि नेप्से बजार लागेको बजार तेस्रो घण्टासम्म १ हजार १ सय ५४ हाराहारीमा पुग्यो । यसपछि नेप्से केही स्थिर जस्तै भयो । अन्तिम समयमा पुनः उकालो लाग्यो । यो वृद्धिले नेप्सेलाई करिब साढे २२ अंक माथि पुर्‍यायो ।

सो दिन कारोबारमा आएकामध्ये व्यापारबाहेक सबै समूहको परिसूचक बढेपछि समग्र नेप्सेमा टेवा पुगेको हो । जसमध्ये होटल, निर्जीवन बिमा र जीवन बिमा समूहका परिसूचक ३ प्रतिशतभन्दा धेरैले बढे । उत्पादन तथा प्रशोधन, लघुवित्त, बैंकिङ, जलविद्युत् र ‘अन्य’ समूहका परिसूचक १ प्रतिशतभन्दा थोरै बढीले उकालो लागे । बाँकी समूहको परिसूचक एक प्रतिशतभन्दा थारैले बढे ।

बुधबार करिब ८ हजार कारोबारबाट १ सय ७१ कम्पनीका १६ लाख ४५ हजार ८ सय ७७ कित्ता सेयर किनबेच भए । ती किनबेचबाट ४७ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । अघिल्लो दिन मंगलबार केही बढी हो ।

परिसूचक बढेसँगै कुल बजार पुँजीकरण पनि विस्तार भएर १४ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ ।

प्रकाशित : आश्विन १, २०७६ २१:३०
प्रतिक्रिया
पठाउनुहोस्

मैत्रीपूर्ण भलिबल

कान्तिपुर संवाददाता

गण्डकी — संविधान दिवसको अवसरमा बुधबार पोखरामा मैत्रीपूर्ण भलिबल प्रतियोगिता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको आयोजनामा भएको खेलमा मन्त्री, सांसद, पत्रकार, व्यवसायीलगायतको सहभागिता थियो । विभिन्न ५ टिम मैदानमा उत्रिएका थिए ।

पहिलो खेलमा मन्त्री र सांसदको टिम निजामती कर्मचारीसँग २–१ को सेटमा पराजित भयो । मुख्यमन्त्रीबाट मन्त्रीहरू किरण गुरुङ, हरिबहादुर चुमान, रामशरण बस्नेत, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्दबहादुर नेपाली, सांसद मोहन रेग्मी, राजीव पहारी, चन्द्र बुढा र मीनप्रसाद गुरुङलगायत सहभागी थिए ।

कर्मचारीको तर्फबाट प्रमुख चिव हरिप्रसाद बस्याल, प्रदेश प्रहरी प्रमुख विनोद शर्मा घिमिरे, मुख्यमन्त्री कार्यलयाका उपसचिव डिल्लीराम सिग्देललगायत थिए ।

दोस्रो खेलमा पश्चिमाञ्चल खेलकुद संघ र उद्योग वाणिज्य संघको टोलीले प्रतिस्पर्धा गरेकोमा व्यवसायीको टोली २–० को सोझो सेटमा पराजित भयो । तेस्रो खेलमा पत्रकारको टिमलाई कर्मचारीले २–० को सोझो सेटमा हरायो ।फाइनलमा कर्मचारी र पश्चिमाञ्चल खेलकुद संघको टिम बिहीबार भिड्ने छन् ।

प्रकाशित : आश्विन १, २०७६ २१:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्