तातोपानीमा चहलपहल

अनिश तिवारी

सिन्धुपाल्चोक — भूकम्पको चार वर्षपछि खुलेको तातोपानी नाकाको व्यापार व्यवसायले गति लिन थालेको छ । सञ्चालनको तीन महिनापछि नाका भएर पाँच सय टन विभिन्न सामग्री नेपाल भित्रिएको छ । असारयता ६ करोड ६९ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका अधिकृत केशवराज ओलीका अनुसार यस अवधिमा ऊन, कपडा, इलेक्ट्रिक सामान, जुत्ता–चप्पल, खेलौनाजस्ता सामग्रीको अत्यधिक आयात भएको हो । ‘प्राविधिक रूपमा पूर्ण व्यवस्थित भइसकेपछि नाकाबाट व्यापार झनै बढ्ने अपेक्षा राखेका छौं,’ ओलीले भने ।

केही दिनअघि दसैं लक्षित गरेर तीन कन्टेनर स्याउ र लसुन भित्रिएको छ । अन्तर्राष्ट्रिस्तरको अत्याधुनिक सुक्खा बन्दरगाहमा स्टोर व्यवस्थापनबाहेक नेटवर्किङ, बिजुली, फर्निचरजस्ता महत्त्वपूर्ण प्राविधिक पक्षमा काम हुन अझै बाँकी छ ।

‘बिजुली र नेटवर्किङ भएपछि बन्दरगाह पूर्ण सञ्चालनमा आउनेछ, व्यापारिक गतिविधि बढनेछ,’ ओलीले भने । उताबाट चिनियाँ र यताबाट नेपाली कन्टेनर मात्रै आउजाउ भइरहेकाले तातोपानी नाकालाई सहजता बनाउन पहलकदमी लिएको जनप्रतिनिधिले बताए ।

नेपालबाट झन्डै १ सय ८२ प्रकारका सामग्री चीन निर्यात गर्ने सहमति छ । त्यसमा मुडा, खाद्यान्न, गलैंचा, ह्यान्डिक्राप्टलगायत सामग्री छन् । चीनबाट ऊन, जुत्ता, इलेक्टिक सामान, कपडालगायत सयौं प्रकारका सामग्री आयात हुने निश्चित गरिएको भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले बताए । ‘तातोपानी नाकालाई व्यवस्थित बनाउनका लागि सडक, भवनजस्ता भौतिक तैयारी हरसम्भव गरिरहेका छौं तर योबारे केन्द्रीय सरकारले चासो दिन जरुरी देखिन्छ,’ उनले भने ।

कोदारी राजमार्गको लार्चास्थित सुक्खा बन्दरगाहको व्यापार लक्षित गरी नेपाल बंगलादेश बैंकको काउन्टर र फुल्पिङकट्टी हिन्दी बजारमा शाखा कार्यालय स्थापना भइसकेको छ ।

व्यापारलाई भरपर्दो बनाउन भूकम्पअघि लिपिङक्षेत्रमा मात्रै ६ वटा बैंकका शाखा सञ्चालनमा थिए । तातोपानी नाकाबाट व्यापार गर्दै आएका व्यवसायीलाई खासा भएर सामान ल्याउन व्यापारिक संघसंस्था र विभिन्न ट्रान्सपोर्टेसन कम्पनीले उर्दी गर्दै सूचना नै जारी गरेको छ ।

प्रकाशित : भाद्र ३१, २०७६ ०८:१४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

तीन पुस्ता सोडा व्यापारमा

नुमा थाम्सुहाङ

काठमाडौँ — महाराजगन्जकी दुर्गादेवी गुरुङले रञ्जना गल्लीको सोडा पसलमा ‘लेमन’ सोडा बनाउन भनिन् । १५ वर्षको हुँदादेखि नै यहाँको सोडा पिउँदै आएको अनुभव उनले सुनाइन् । 

‘अहिले ५९ वर्षको भइसके अझैं पनि यहाँकै सोडा मन पर्छ,’ उनले भनिन्, ‘यो सोडा पिएपछि शीतल हुन्छ ।’बौद्धकी नीरमाया तामाङले न्युरोड आउने काम पर्दा रञ्जना गल्लीको सोडा जहिले पिएर जानेको गरेको बताइन् । ‘सानो हुँदा नै रेडियोमा यहाँको सोडा पसलको बारेमा सुनेको थिए, त्यो बेलादेखि नै पिउँदै आएको छु,’ उनले भनिन् ।

रञ्जना ट्रेड सेन्टरको अगाडि गल्लीमा छ, रञ्जना सोडा सेन्टर । बाजे बुद्धिराज, बुबा नरेश र नाति प्रज्वल सुवाल महर्जनले तीन पुस्तादेखि सोडा पसल चलाउँदै आएका छन् । १० वर्षदेखि सोडा पसलमा आफ्नो बुबालाई सघाउँदै आएको प्रज्वल बताउँछन् । ‘आफ्नो पुस्तेनी पेसा भएकाले यसलाई बचाउन र निरन्तरता दिन १२ कक्षा सकिएपछि बुबालाई काम सघाउँदै आएको छु,’ उनले भने ।

सोडाको व्यापार सुरु गर्दा जहाँ मान्छेको घुइँचो बढी हुन्थ्यो मेला तथा जात्रामा लगेर घरमै बनाएर बेच्ने गरेको उनका बुबा नरेश सुवाल महर्जन बताउँछन् । ‘पहिला विशाल बजारमा जनसेवा हल थियो । त्यही हलको अगाडि जनसेवा सोडा सेन्टर भनेर चलायौं, त्यहाँ आगो लागेपछि यहाँ रञ्जना गल्लीमा आएका हौं,’ उनले भने, ‘त्यसपछि यसको नाम रञ्जना सोडा सेन्टर रहन गएको हो ।’ उपत्यकाभित्र मात्र नभएर नुवाकोट र नेपालबाहिर पनि रञ्जना गल्लीको सोडा पुग्ने उनले बताए ।

बाहिर धूवाँधूलोमा हिँड्दा हुने थकानलाई सोडाले मेटाउने उनको दाबी छ । २००३ सालमा सुरु गर्दा ५ पैसामा सोडा बेच्ने गरेको उनले बताए । अहिले ७३ वर्षसम्म आइपुग्दा ३५ रुपैयाँमा बिक्री गरिरहेको र समयको फरकसँगै पैसाको पनि महत्त्व बढ्दै गएको उनले बताए ।

‘यसमा मेरो बुबाको एक सय रुपैयाँ मात्र लगानी भएको छ । यो हामीलाई राणाहरूले दिएका थिए,’ उनले भने, ‘त्यो समयमा राणाहरूले जुवा खेलाउँथे, त्यति बेला यो मेसिनबाट सोडा बनाएर उनीहरूले खान्थे र खुवाउँथे । यो मेसिन एकपछि अर्को गर्दै हामीलाई आएको हो । अहिले बजारमा नयाँ मेसिन आए पनि आफूहरूले पुरानै प्रयोगमा ल्याइरहेको उनले बताए ।

उनले कुनै दिन एक बोतल मात्र सोडा बेचेको अनुभव पनि सुनाए । नभए दिनको १० देखि १५ क्यारेटसम्म बिक्री हुन्थ्यो । एक क्यारेटमा २४ वटा बोतल हुन्छ ।‘अहिले हामीले नयाँ इनर्जी सोडा भनेर ल्याएका छौं । यसको मूल्य भने १ सय देखि २ सय रुपैयाँ पर्छ । पानीमा कार्बनडाइअक्साइडबाट अल्कालिन सोडा बन्छ,’ उनले भने, ‘यसबाट भिटामिन सी पाइन्छ, यसले आन्द्रा काटिने रोगबाट समेत बचाउँछ ।’ उनले ‘मेडिकेडेट’, ‘इन्स्ट्रेस्टिङ’, ‘इनर्जी’ र ‘आइसक्रिम’ सोडा पाइने बेच्ने गरेको बताए ।

सोडाको सिजन फागुनदेखि सुरु हुने उनी बताउँछन् । जाडो वा गर्मी जुनै समयका लागि सोडा उपयुक्त हुने उनको भनाइ छ । ‘यो समर ड्रिंक्स हो । अन्य चिसो पेय पदार्थमा पर्दैन । अलिक जाडो मौसममा भने केही व्यापार कम हुन्छ । नत्र यसको व्यापार राम्रो छ,’ उनले थपे ।

प्रकाशित : भाद्र ३१, २०७६ ०८:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT