कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

काठेखोलामा भण्डारण केन्द्र

प्रकाश बराल

बागलुङ — काठेखोला गाउँपालिकाका काठेखोला र ताराखोलाको अधिकांश खण्ड आलु जोनमा सूचीकृत भएको छ । सूचीकृतपछि आलु संरक्षण, उत्पादन र भण्डारणका लागि कार्यक्रम आउने आश गरेका किसानलाई चालु वर्षदेखि राहत मिल्ने भएको छ । 

गाउँपालिकाले गण्डकी प्रदेश सरकारको सहकार्यमा दुईवटा भण्डारण केन्द्र बनाउन थालेको छ । २० टन क्षमताको चिस्यान केन्द्र र ५० टन क्षमताको भण्डारण केन्द्र निर्माण भइरहेको छ ।


गाउँपालिकाको ३० लाख रुपैयाँको लागतमा स्थानीय हिउँचुली कृषि सहकारी संस्थाको अगुवाइमा चिस्यान केन्द्र बनाइएको हो । धम्जाको ओखलेमा निर्मित चिस्यान केन्द्रमा लामो समयसम्म आलु राख्न सकिन्छ । ‘किसानले मूल्य पाएको बेला र सहज यातायात खुलेका बेला बेच्न पाए भने अहिलेको तुलनामा ४ गुणासम्म नाफा कमाउन सक्छन्,’ वडाध्यक्ष यामबहादुर श्रीषले भने, ‘बिक्री नभएर कुहाएर फाल्नु पर्दैन ।’


काठेखोला गाउँपालिकाले धम्जा, भीमापोखरा, तंग्रामलगायत क्षेत्रमा फल्ने आलुलाई सहज बजारको पहुँचमा लैजान भण्डारण थालिएको गाउँपालिका अध्यक्ष अमर थापाले बताए । वडामा मात्र झन्डै २ सय घरमा व्यावसायिक आलुखेती गरिन्छ । हरेक घरमा न्यूनतम १ हजार २ सय केजीदेखि ५ हजार केजीसम्म आलु फल्छ । आलु समयमा बजार पठाउन नसक्दा किसानले मूल्य पाउन सकेका थिएनन् ।


क्रमागत बजेटबाट दुई वर्षमा निर्माण सक्ने गरी गत आर्थिक वर्षमा केन्द्रका लागि २७ लाख १५ हजार खर्च भएको छ । चालु वर्ष भण्डारणको काम सक्ने योजना बनाइएको प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकले बताए । उनका अनुसार पहिलो चरणमा ५० हजार क्विन्टलसम्म भण्डारण गर्न सकिने भवन बनाउन लागिएको हो । बजेट धेरै लाग्ने भएकाले तीनर्षे योजनामा समेट्नुपरेको उनले बताए ।


कृषिजन्य क्षेत्रमा उद्यमी बढाउने भन्दै गाउँपालिकाले लगानी बढाएपछि आलुजोन कार्यक्रमले पनि चासो बढाएको छ । ‘जोनमा परेकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको लगानी पनि आउँछ,’ अध्यक्ष थापाले भने, ‘हामीले एउटा क्षेत्रमा मात्र सम्बोधनको काम गरेका हौं ।’ आलु उत्पादन र बजारीकरण बढाएमा यहाँका सयौं किसानले काम पाउने र आम्दानी दोब्बर लिन सक्ने उनले बताए ।


काठेखोलामै सुन्तला भण्डारण केन्द्र बनाउने योजना पनि छ । वडा ५ र ६ मा मात्र झन्डै ३ करोडको सुन्तला फल्छ । त्यसैले भण्डारणगृह बनाउने तयारी भएको वडा ६ का अध्यक्ष युक्तप्रसाद कँडेलले बताए । घरघरमा सुन्तला लगाउन उत्साही किसानले आगामी वर्ष यो उत्पादनलाई दोब्बर बनाउने योजना अगाडि सारेका छन् । ‘वडामा एक–एक हेक्टरका ब्लक बनाएर उत्पादनलाई दोब्बर बनाउने लक्ष्य राखेका छौं,’ कँडेलले भने, ‘किसानलाई ५० प्रतिशत अनुदानमा बिरुवा वितरणको अभियान सुरु भइसकेको छ ।’


वडाले सुन्तला उत्पादन बढाउने अभियानका लागि ६ लाख ५० हजार रुपैयाँ बजेटको व्यवस्थापन गरेको थियो । युवा पलायन रोक्ने, उत्पादनलाई बढाउने र जिल्लाकै नमुना क्षेत्र बनाउने अभियानका लागि कृषिमा लगानी बढाएको अध्यक्ष थापाले बताए ।


केही समययता सुन्तलाको टुप्पा मर्ने, हाँगा सुक्ने जस्ता समस्या देखिएपछि संरक्षण अभियानसमेत थालिएको छ । बागलुङमा ४९७ हेक्टरमा सुन्तला लगाइएकामा यो वर्ष २३७ हेक्टर थपिएको छ । जिल्लामा वार्षिक तीन हजार टन सुन्तला उत्पादन भएको तथ्यांक छ ।

प्रकाशित : भाद्र ३०, २०७६ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?