कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुनढुंगा उत्खननमा बेवास्ता

प्रतीक्षा काफ्ले

गण्डकी — झन्डै तीन दशकअघि परीक्षण गरिए पनि स्याङ्जाको वालिङ नगरपालिका–११ गाजने, पहरे र मानडाँडास्थित चुनढुंगा खानी अझै उत्खननको सुरसार छैन । खानी तथा भूगर्भ विभागले २०४८ मा परीक्षण गरे पनि खानी अलपत्र अवस्थामा छ ।

चुनढुंगा उत्खननमा बेवास्ता

व्यक्तिगत जग्गामा रहेको खानी प्रयोगमा ल्याउन भन्दै २०६६ मा विभागले पुनः परीक्षण गरेको थियो । त्यसले पनि साकार रूप लिन सकेन ।


तीन महिना लगाएर २२० मिटर भित्रसम्म ड्रिल गरी परीक्षण गर्दा उत्कृष्ट चुनढुंगा रहेको पुष्टि भएको थियो । त्यतिबेला परीक्षण कार्यमै ४० लाख रुपैयाँ खर्च भएको थियो । ठूलो रकम खर्चेर परीक्षण गरिए पनि अहिलेसम्म खानी अलपत्र परेको स्थानीय सूर्यप्रसाद पराजुलीले बताए ।


उक्त क्षेत्रमा अहिले ७० वटा घर छन् । पराजुलीका अनुसार चुनढुंगा खानी प्रयोगमा ल्याए स्थानीयलाई रोजगारीका अवसर सिर्जना हुन्थे । परीक्षणपछि सरकारले चासो नदेखाएकाले उत्खनन हुन नसकेको पराजुलीको भनाइ छ । उनका अनुसार परीक्षण क्रममा एक सय वर्षसम्म चुनढुंगा निकाल्न सकिने जानकारी गराइएको थियो ।


स्थानीय जगनाथ पंगेनीले २/२ पटक परीक्षण गर्दा उत्कृष्ट ढुंगा रहेको पुष्टि भए पनि प्रयोगमा नआउनु दुःखदायी भएको बताए । ‘खानी उत्खनन किन हुन सकेन भन्ने थाहा भएन,’ उनले भने, ‘विभागले खानी उत्खनन गर्न सकिने प्रतिवेदन बनाएको थियो । कार्यान्वयन भए राम्रो हुन्थ्यो ।’


यो खानी सञ्चालनमा आए सोही ठाउँका ७० घर परिवार भने विस्थापित हुनेछन । उचित मुआब्जा दिए घर छाड्न स्थानीय तयार छन् ।पटकपटक खानी सञ्चालनको माग गरेका स्थानीयले आफ्ना मागको सुनुवाइ नभएको बताए । वडाध्यक्ष वसन्तकुमार मल्लले खानी विभागले यस विषयमा चासो नदेखाएको आरोप लगाए । ‘स्थानीय तहलाई सञ्चालनको अधिकार दिए काम गर्न सकिन्छ,’ उनले भने, ‘विभागले आफूले पनि काम नगर्ने र हामीलाई पनि नदिने अवस्था रह्यो ।’


ठूलो रकम खर्चेर अनुसन्धान गर्ने त्यसपछि भने कुनै प्रक्रिया अघि नबढाउनुले ‘लगानी बालुवामा पानी खनाएझैं’ बनेको वालिङ नगरप्रमुख दिलीपप्रताप खाँडले बताए । उनका अनुसार सम्बन्धित निकायले चासो दिएर काम अगाडि बढाउनु आवश्यक छ । खाँडले खानी प्रयोगमा नल्याउँदा राज्यले करोडौं घाटा व्यहोर्नुपरेको बताए । खानी प्रयोगमा आए मात्रै मुलुकको अर्थतन्त्रमा ठूलो राहात पुग्ने उनको बुझाइ छ ।

प्रकाशित : भाद्र ३०, २०७६ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?