कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिंगो गाउँमा किवी खेती

दिप्ती सिलवाल

लेकफाँट, पर्वत — यज्ञप्रसाद सुवेदीले धान फल्ने खेत मासेर किवीका बिरुवा लगाउने सल्लाह गर्दा परिवारमा ठूलै झगडा पर्‍यो । जलजला–५ का सुवेदीले ०६८ मा श्रीमती र बाबुआमासँग झगडै गरेर दुई रोपनी खेतमा किबी लगाएका थिए । 

सिंगो गाउँमा किवी खेती

परिवारलाई किवीको उपयोगिता बुझाउन उनलाई ३ वर्ष लाग्यो । परिवार सहमत भएपछि ०७१ मा उनले ११ रोपनी खेतबारीमा किवी रोपे । रोपेको २ वर्षमै फल दिन थालेको र बजार मूल्य राम्रो पाएपछि छिमेकीसमेत लोभिए ।


‘सुरुमा किवी लगाउनेभन्दा उहाँसँग कम्ती रिस उठेन,’ श्रीमती गंगा सुवेदीले भनिन, ‘फलेर बिक्रि गरेपछि बल्ल बिस्वास लाग्यो । वर्षौं फल्ने धानको मूल्य त किवीले एकै वर्षमा उठाउँदोरहेछ ।’ पहिलो वर्ष फलेको किवी पोखराका व्यवसायीले घरमै आएर साढे चार सय प्रतिकिलोमा खरिद गरेको उनले बताइन् ।


सुवेदीले किवीमा पाएको सफलता देखेर अहिले गाउँभरिका किसान आकर्षित भएका छन् । गाउँका ५० बढी घरले किवी लगाएका छन् । एकपटक लगाएपछि करिब ४० वर्षसम्म निरन्तर आम्दानी दिने किवीको बजार मूल्य पनि उच्च छ । प्रतिकिलो अढाई सयदेखि ६ सय रुपैयाँसम्ममा बिक्री हुने किसान बताउँछन् ।


‘सुरुका केही वर्ष ६ सयमा पनि बेचियो,’ सुवेदीले भने । गत वर्ष १५ क्विन्टल किवी बिक्री गरेका सुवेदीले यो वर्ष दोब्बर फलेकाले आम्दानी पनि बढ्ने बताए । प्रतिकिलो अढाई सयमा बेच्दा करिब चार लाख आम्दानी हुन्छ । ‘सबै परिवार यसैले धानेको छु,’ सुवेदीले भने, ‘वर्षमा दुईपटक गोडमेल गरेपछि अरू खेतीमा जस्तो दुःख गर्नु पर्दैन ।’ एउटै बोटमा एक क्विन्टलसम्म फल्ने भएकाले थाँक्रा व्यवस्थापन गर्न समस्या हुने उनले बताए ।


सुवेदीले हेवाड, रेड, आलिसन र बुर्नो गरी चार जातका १८० किवी लगाएका छन् । ०७१ मा उच्च पहाडी फलफूल स्रोत नर्सरीसमेत स्थापना गरेका सुवेदीले किवीबाहेक पहाडी क्षेत्रमा फल्ने सबै प्रकारका फलफूलका बिरुवा उत्पादन र बिक्री गर्छन् । भाले, मोन्टी र टोमोरी जातको किवीबाट बिरुवा उत्पादनसमेत गर्दै आएका छन् ।


लेकफाँटकै कृष्णबहादुर रन्तिजाले पनि ५ रोपनीमा किवी लगाएका छन् । ०६९ देखि व्यावसायिक खेती गर्दै आएका उनले बर्सेनि ४ देखि ५ लाख रुपैयाँ आम्दानी गर्दै आएको बताए । पछिल्लो समय जलजलाको बाँसखर्क, सालिजा, लेखफाँटमा किवीको क्षेत्रफल विस्तार हुँदै गएको छ ।


लेकफाँटका प्रेम पुन, कृष्णबहादुर रञ्तिजा, नरबहादुर पुन, बणबणेका हर्कबहादुर पुन, लेकबहादुर फगामी किवीका व्यावसायिक किसान हुन् । त्यसबाहेक बाँसखर्कमा सोमबहादुर तिलिजा, साजिलामा हेमबहादुर पुन, मायादेवी रेग्मी, पूर्णहरि रेग्मीलगायतले किवीको व्यावसायिक खेती गर्छन् ।


७ वर्षमा जलजलामा मात्रै ५० हजार बिरुवा खपत भएको यज्ञप्रसाद सुवेदीले बताए । ‘बर्सेनि १० हजार बिरुवा उत्पादन गर्छु,’ उनले भने, ‘धेरैजसो गाउँमै बिक्री हुन्छ । मैले इलामदेखि हुम्ला–जुम्लासम्म बिरुवा पठाएको छु ।’ पछिल्लो समय पर्यटकीय सहरमा किवीको माग बढी हुने किसान बताउँछन् ।


गाउँपालिका उपाध्यक्ष सिमा पुनले उत्पादन बढाउन सके बजारको सम्भावना राम्रो भएको बताउँछिन् । ‘सुरुसुरुमा किवीको बजार खासै थिएन,’ उनले भनिन्, ‘अहिले बजार मूल्य राम्रो छ । किसान हौसिएका छन् ।’ गाउँपालिकाले किवीको व्यावसायिक खेती गर्ने किसानलाई अघिल्लो वर्षदेखि सहयोग गर्दै आएको उनले बताइन् । पुनले पनि करिब ४ रोपनीमा किवी लगाएकी छिन् ।


किवीका बिरुवाको माग जिल्लाका विभिन्न गाउँका साथै बाहिरी जिल्लाबाट हुने गरेको छ । जस्तोसुकै रोगीले खान मिल्ने र नियमित रूपमा खानसकेमा पेटको रोगी र शारीरिक दुर्बलताका बिरामीलाई फाइदा पुग्ने विज्ञ बताउँछन् ।


कृषि ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले मानव शरीरलाई धेरै पौष्टिक तत्त्व दिने भएकाले किवीको मूल्य र बजारमा माग बढ्दै गइरहेको बताए । किवीको नियमित प्रयोगले उच्च रक्तचाप रोक्नुका साथै ज्यान फुर्तिलो बनाउने, मुटुरोगीलगायतका लागि फाइदा पुग्ने उनले बताए ।

प्रकाशित : भाद्र ३०, २०७६ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?