कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ढुवानी अनुदान नपाउँदा सस्तोमै स्याउ

हरि गौतम

रुकुम पूर्व — ढुवानी अनुदान नपाउने भएपछि किसानले सस्तो मूल्यमै स्याउ बिक्री गर्न थालेका छन् । प्रदेश सरकारले स्याउ बजारसम्म पुर्‍याउन ढुवानी अनुदान नदिने जनाएपछि किसानले यस्तो निर्णय गरेका हुन् ।

ढुवानी अनुदान नपाउँदा सस्तोमै स्याउ

पुथाउत्तरगंगा गाउँपालिका–२ को पेल्मा र झार्लुङका मैकोट, पुसर आसपासका किसानले सस्तो मूल्यमा स्याउ बिक्री गरिरहेका छन् । उनीहरू प्रतिकिलो ३० रुपैयाँमा बिक्री गर्न थालेका हुन् । यस वर्ष साबिकको भन्दा धेरै स्याउ फलेको छ । त्यसैले किसानले प्रदेश सरकारबाट ढ्वुानी अनुदान अपेक्षा गरेका थिए । हेलिकप्टरमार्फत ढुवानीका लागि अनुरोध गरे पनि सुनुवाइ नभएको उनीहरूले बताए ।


गाउँपालिकाका स्याउ फल्ने बस्ती सडकसित जोडिएका छैनन् । ‘सरकारले ढुवानीमा सघाउन मानेन,’ स्थानीय जिताराम कामीले भने, ‘त्यसैले सस्तो मूल्यमा बिक्री गर्न थालेका हौं ।’ सरकारले ढुवानीको सट्टा जुस उत्पादनका लागि मेसिन अनुदानमा दिने जनाएको छ । त्यसमा किसानले पनि लगानी गर्नुपर्ने सर्त छ । किसानले आफूहरूले मेसिन ल्याउन नसक्ने बताएका छन् ।


मेसिन खरिदका लागि सरकारले आठ लाख रुपैयाँ दिने भनेको छ भने त्यति नै रकम किसानले उठाउनुपर्ने छ । रकम जुटाउन मुस्किल पर्ने कामीले बताए । उनका अनुसार पेल्मादेखि बाग्लुङ ढोरपाटन नगरपालिकाको फल्लेघरसम्म खच्चडमा स्याउ ढुवानी थालिएको छ । यसरी ढुवानी गर्दा स्याउको मूल्यभन्दा महँगो परेको उनको भनाइ छ ।


अहिलेसम्म एक सय क्विन्टलभन्दा बढी स्याउ बिक्री भएको किसानले बताएका छन् । अझै १ हजार ९ सय क्विन्टल बाँकी छ पेल्मा र झार्लुङमा मात्रै दुई हजार टन स्याउ फलेको अनुमान गरिएको छ । यस वर्ष धेरै स्याउ फलेको र ढुवानी नहुँदा बिग्रिने भन्दै पेल्माको वर्षे वडा अधिवेशनले समेत स्याउको मूल्य प्रतिकिलो ३० रुपैयाँ कायम गरिदिएको छ ।


स्याउ कुहिनुभन्दा सस्तो मूल्यमै बिक्री होस् भनेर वर्षे अधिवेशनबाट प्रतिकिलो ३० रुपैयाँ कायम गरिदिएको वडाध्यक्ष सतसिङ बुढा मगरले बताए । सडक नभएका कारण अर्गानिक स्याउ ३० रुपैयाँ किलो बिक्री गर्ने गरी निर्णय गरिएको उनको भनाइ छ । सरकारले ढुवानी अनुदान दिन कञ्जुस्याइँ गरेपछि किसानले घाटा बेहोर्नुपर्ने अवस्था आएको वडाध्यक्ष बुढा मगरले बताए ।


स्याउ प्रशस्त फल्ने भए पनि स्याउ बिक्रीका लागि गाउँपालिकाले पनि कुनै अनुदान वा अन्य कार्यक्रम गराएको छैन । हरेक वर्ष स्याउका बिरुवा वितरण गरेर स्याउ फलाउन प्रोत्साहन गरिरहेको गाउँपालिकाले स्याउ बिक्रीका लागि पहल नगरेको अर्का स्याउ किसान कर्म बुढा मगरले बताए । ‘स्थानीय सरकारले हरेक वर्ष स्याउ लगाउनु भन्छ,’ उनले भने, ‘तर, बिक्री गर्दा हामी आफैं समस्यामा पर्छौं ।’


बजेट विनियोजनका क्रममा स्याउ कति फलेको छ भन्ने हिसाब आइनसकेका कारण समस्या भएको गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्ती मगरले बताए । ‘बजेट बाँडफाँट भइसकेपछि स्याउको बजारीकरण गर्नुपर्ने थियो,’ उनले भने, ‘यसपटक भएन । आगामी वर्ष यस विषयमा पहिल्यै सोचेर योजना बनाउनेछौं ।’

प्रकाशित : भाद्र ३०, २०७६ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?