कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्नभण्डारमै खडेरी

धान हरियो भएर गाँज हाल्नुपर्ने बेलामा पानी नपाएर पहेंलिन र सुक्न थालेको छ । रोपाइँका बेला वर्षा र डुबान खेपेका किसान चाहिने बेलामा वर्षा नहुँदा चिन्तित छन् । 
प्रदेश ब्युरो

जनकपुर — धान पहेंलिएको छ । पानी अभावमा खेत चिराचिरा छ । जताततै धाँजा फाटेपछि किसानहरू पुर्परोमा हात राख्न बाध्य छन् । यसपटक पर्याप्त पानी नपर्दा अन्नभण्डारमै धान उत्पादनमा निकै कमी आउने देखिएको छ । प्रदेश २ का ८ वटै जिल्लामा धान राम्रोसँग हुर्किनै पाएको छैन । 

अन्नभण्डारमै खडेरी

प्रदेश सांसद गोविन्द न्यौपानेले वर्षा नहुँदा खेतमै धान पहेंलिएको र सिँचाइको अन्य बन्दोबस्त नमिल्दा किसान समस्यामा परेको भन्दै प्रदेश सरकारको आलोचना गरे ।


आइतबार बसेको प्रदेशसभा बैठकमा करिब एक दर्जन सांसदले प्रदेश २ मा खडेरीका कारण धान उत्पादनमा कमी आउने भन्दै सिँचाइको उचित बन्दोबस्त मिलाउन सरकारसित आग्रह गरे । ‘हरेक खेतमा पानी, हरेक हातमा काम’ प्रदेश सरकारले कृषिसँग जोडेर यस्तो नारा अगाडि सारे पनि त्यो व्यवहारमा आउन सकेको छैन ।


‘खेतमा धाँजा फाटेको छ । किसानहरूलाई सिँचाइ र मलको समस्या छ,’ कांग्रेसकी सांसद मञ्जु यादवले भनिन् । आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले लामो समयदेखि पानी नपरेकाले प्रदेश २ का सबै भू–भाग खडेरीको मारमा परेको बताए । उनले छिट्टै प्रदेश २ लाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्ने र किसानलाई राहत दिन प्याकेज ल्याउन लागिएको जानकारी दिए ।


असार अन्तिम साता सबै भू–भाग डुबानमा पर्ने गरी वर्षा भएको थियो । त्यसयता ठूलो पानी परेकै छैन । बाला नलागेसम्म खेतमा पानी चाहिन्छ । तर, पर्याप्त पानी नपर्दा खडेरी छ । कृषि ज्ञान केन्द्रका अधिकारीहरूले पर्याप्त वर्षा नभएकाले यस वर्ष प्रदेशमा धान उत्पादनमा गिरावट आउने बताए ।


डुबानपछि खडेरी

रोपाइँका बेला वर्षा र डुबान खेपेका सिरहाका किसानले जसोतसो धान रोपाइँ गरे पनि चाहिने बेलामा वर्षा नहुँदा चिन्तित छन् । धान फस्टाउनका लागि पानी आवश्यक भए पनि लामो समयदेखि नपर्दा यहाँको खेतमा चिरा पर्न थालेको छ ।


अकासे–पानीको भरमा खेती हुँदै आएको छ । खडेरीले पानीका स्रोत सुकेपछि किसानले सिँचाइ गर्न पाएका छैनन् । कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार यस वर्ष सिरहामा ९५ प्रतिशत धान रोपाइँ भएको छ । जिल्लाको कुल खेतीयोग्य जग्गामध्ये सतही सिँचाइ र भूमिगत सिँचाइ (बोरिङ) बाट ३९ हजार ३ सय ४१ हेक्टर सिञ्चित हुन्छ ।


कमला सिँचाइ पूर्वी नहर प्रणालीबाट १५ हजार ५ सय हेक्टर जग्गामा सिँचाइ सुविधा पुगेको छ । यस वर्ष कमलाबाट पनि सिँचाइ भएन । बोरिङबाट सिँचाइ गरे पनि अधिकांश किसान खेतीका लागि अकासे–पानीकै भर पर्न बाध्य छन् ।


‘वर्षा नहुँदा खडेरीको सम्भावना देखिएको छ,’ कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख भगिरथ यादवले भने, ‘भदौमा पर्याप्त पानी पर्नुपर्‍यो । त्यस्तो सम्भावना देखिएको छैन ।’ डेढ बिघा जग्गामा धान खेती गरेका सिरहा पीडरबोनीका कृषक बिरेचन चौधरीले लामो समयदेखि वर्षा नहुँदा धान डढ्न थालेको दुःखेसो पोखे ।


‘खडेरीले बोरिङसमेत सुक्न थालेपछि सिँचाइ गर्न सकिएको छैन,’ उनले भने, ‘पानी नपरेकै कारण खेत चिराचिरा पर्न थालेको छ, धानका बोट पहेंलिन थाले ।’ रोपाइँका समयमा पानी र कृषि मजदुर अभाव झेलेर जसोतसो धान रोपाइँ गरे पनि बोट फस्टाउने बेलामा वर्षात नहुँदा धान उत्पादन घट्ने पिरलो किसानमा परेको छ ।


‘किसानलाई मनसुन र मजदुर जताबाट पनि दुःखै दुःख छ,’ उनले भने, ‘धान रोप्यो मल अभाव, मल जसोतसो छर्‍यो, सिँचाइ छैन, हामी किसान जताबाट पनि मारमा छौं ।’ सिरहाका कृषकहरूले स्थानीय जातको बासमती, जसवा, सोना मन्सुली, मिथिला, हर्दिनाथ, राधा–११ र सावित्री जातका धान खेती गर्दै आएका छन् । पानी नपर्दा र मौसमले साथ नदिँदा मुख्य खेती धानबालीमा बर्सेनि ह्रास आउँदा खाद्य असुरक्षा निम्तिन सक्ने कृषि प्राविधिकहरूको भनाइ छ ।


बोरिङ छ, पानी आउँदैन

सिँचाइका लागि भूमिगत जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालयले करोडौं रुपैयाँको लगानीमा जडान गरेका डिप बोरिङ बिग्रिएर थन्किएका छन् । सिरहाको सीमावर्ती भगवानपुर गाउँपालिकामा पाँचवटा, लहान नगरपालिका १४ बस्तीपुरमा दुई र वडा २४ गोविन्दपुरको झुटकीमा दुईवटा डिप बोरिङ जडान गरिएका छन् ।


वर्षौंदेखि बोरिङ बिग्रिएर थन्किएपछि किसानहरूले खेत सिञ्चित गर्न नपाएको बताए । उनीहरूले ‘सरकारको लगानी, बालुवामा पानी’ सरह भएको प्रतिक्रिया दिए । ‘सय बिघा जग्गामा सिँचाइ गर्न सक्ने बोरिङ छ, सिँचाइ भने हुँदैन, तीन वर्षदेखि बिग्रेर थन्केको छ,’ ४ बिघा जग्गामा धान खेती गरेका झुटकीका मिस्रीलाल यादवले भने, ‘चाहिने बेलामा पानी छैन, बोरिङ हेरेर आकाश फर्किएर बस्नुपरेको छ ।’ उनले डिप बोरिङ मर्मत गरेमा यस क्षेत्रको सय बिघाभन्दा बढी जग्गामा सिँचाइ पुग्ने बताए । मर्मतमा कसैले पहल भने गरेको छैन ।


‘बोरिङ बिग्रिएपछि कार्यालयमा मर्मतका लागि निवेदन दर्ता गराएँ, कर्मचारी हेर्न आए तर मर्मत भएन,’ बस्तीपुरका रामप्रसाद यादवले भने, ‘सिँचाइ नहुँदा धानबाली नउब्जिने देखिएको छ ।’ मर्मत शीर्षकमा बजेट नआएपछि काम गर्न कठिनाइ भएको भूमिगत जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालय लहानले जनाएको छ ।


पानी कुर्दै किसान

धान हरियो भएर गाँज हाल्नुपर्ने बेलामा पानी नपाएर पहेंलिन र सुक्न थालेपछि सर्लाहीका उत्तरी तथा पूर्वी क्षेत्रका किसान चिन्तित छन् । ‘पानी परेका बेला धान रोपाइँ सकें, त्यसपछि पर्याप्त पानी नै परेन,’ चन्द्रनगर गाउँपालिका–१ लघुवाको किसान सुरेश रायले भने, ‘पानीकै कारण रोपो सुक्न थालेको छ, खेतमा धाँजा फाटेका छन् ।’


उत्तरी क्षेत्रका हरिवन, लालबन्दी, ईश्वरपुर, पूर्वी भेगको हरिपूर्वा, पर्सा र चन्द्रनगर गाउँपालिकामा सिँचाइ सुविधा छैन । त्यस भेगका किसान अकासे–पानीको भरमा खेती गर्न बाध्य छन् । सिँचाइ सुविधा पुगेको जिल्लाको मध्य तथा पश्चिम क्षेत्रका किसानले केही राहत पाए पनि धान खेतमा पानी पटाउन निकै सकस भएको पिपरियाका किसान रवीन्द्र रायको दुःखेसो छ ।


अबको एक सातासम्म पनि पर्याप्त पानी नपरे सिँचाइ सुविधा नरहेका क्षेत्रमा खडेरीका कारण धान सुकेर उत्पादन घट्ने र रोग किराले समेत असर गर्ने जिल्लास्थित कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख देवानन्द यादवले जानकारी दिए । ‘अकासे–पानी नपरेकाले किराको प्रकोप देखिएको छ । यो बढ्ने क्रम तीव्र छ,’ उनले भने, ‘सातामा पानी परेन भने रोग किराले अझै आक्रमण गर्छ । यसले किसानलाई थप समस्या हुन्छ ।’


धानमारा बिरुवा

पानी नपर्दा खेतमा धानको बोटभन्दा अग्ला र बाक्ला घाँसपात उम्रिएका छन् । यस्ता घाँसपातले धानबाली बिगार्ने र बोटलाई असर पुर्‍याउने हानिकारक किरालाई निमत्याउने बाराका किसान सुनिल यादवले बताए । ‘धानका बोटलाई ढाक्ने गरी अग्ला झार उम्रेका छन्,’ उनले भने, ‘झारले खेत नै बिगारेको छ ।’


अहिले नै खेतबाट घाँसपात ननिकाले धानमा बाला लाग्दैन । समयमा पानी नपर्दा र सुक्खाले खेतमा चिरा पर्न थालेपछि बाली बिग्रिने चिन्ताले किसानलाई सताउन थालेको छ । ‘खेतमा पानी जमेको अवस्थामा अनावश्यक झारपात, खर उमि्रँदैन । सबै पानीमा मडारिएर गल्छ र खेत सफा रहन्छ,’ उनले भने ।


ठूला किसानले अहिले धान खेतीको क्षेत्रफल घटाउँदै आएका छन् । झन्डै ४/५ बिघामा खेती गर्दै आएका कलैया–२ औधापुरका भगवान यादवले यसपालि १५ कट्ठा जग्गामा मात्र खेती गरेको बताए । ‘आफूलाई खान पुग्ने गरी खेती गरेको छु,’ उनले भने, ‘यसलाई पनि महँगी र सुक्खाका कारण जोगाउन मुस्किल परेको छ ।’ सुख्खाले भाँझर बनेको खेतमा पम्पिङ सेटबाट जति पानी हाल्दा पनि चाहिनेजति पुर्‍याउन नसकिएको उनले गुनसो गरे । सिँचाइका लागि परम्परादेखि सञ्चालन हुँदै आएको बाँध पैन (कुलो) अहिले ठप्प भएका छन् ।


त्यसको विकल्पमा सामूहिक सिँचाइका लागि डिप बोरिङ गाड्नुपर्नेमा यादवले जोड दिए । खेतमा पर्याप्त पानी नपुग्दा र सुक्खाले खर बढी उम्रेको जिल्ला कृषि ज्ञान केन्द्र कलैयाका प्रमुख जितेन्द्र यादवले बताए । धानबाली सपार्न समयसमयमा खर सफा गरिनुपर्ने र गाउँ नगरको कृषि प्राविधिकसँग सल्लाह लिनुपर्ने सुझाव उनले दिए ।


सन्तोष सिंह (धनुषा), भरत जर्घामगर (सर्लाही), ओमप्रकाश ठाकुर (सर्लाही) र पवन यादव (बारा)

प्रकाशित : भाद्र २८, २०७६ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?