कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्यटन बोर्डको बजेट १ अर्ब ३६ करोड

काठमाडौँ — पर्यटन बोर्ड (एनटीबी) ले आर्थिक वर्ष ०७६/७७ का लागि १ अर्ब ३६ करोडको बजेट ल्याएको छ । बजेटअनुसार चालु आर्थिक वर्षमा बोर्डको आय १ अर्ब ३६ करोड ९० लाख हुनेछ ।

बुधबार सार्वजनिक गरिएको बजेटले नेपाल घुम्न आउने विदेशी पर्यटकबाट संकलन गरिने पर्यटन सेवा शुल्कबाट १ अर्ब ३० करोड हुने प्रक्षेपण गरिएको छ । त्यसैगरी बोर्डको दोस्रो ठूलो आयस्रोत मानिने पदयात्री पर्यटक सूचना व्यवस्थापन शुल्क (टिम्स) बाट २० करोड आम्दानी हुनेछ ।


बोर्डले चालु वर्ष २६ प्रतिशतले पर्यटक आगमन वृद्धि हुने भनेको छ । यो अनुमानअनुसार नेपाल घुम्न १६ लाख पर्यटक आउनेछन् । जसमध्ये १३ लाख पर्यटक हवाई मार्ग प्रयोग गर्ने छन् । हवाई मार्गबाट बाहिर प्रस्थान गर्ने १३ लाख पर्यटकबाट संकलन हुने रकम नै पर्यटन सेवा शुल्क हो । यो रकम विदेशी एयरलाइन्सले यात्रुबाट संकलन गरेर बोर्डलाई बुझाउनुपर्छ ।


बोर्डले यस वर्षका कार्यक्रमको मुख्य लक्ष्य सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सघाउने जनाएको छ । भ्रमण वर्ष सचिवालयलाई बोर्डले १० करोड एकमुष्ठ छुट्याएको छ । भ्रमण वर्ष सचिवालयलाई सरकारले छुट्टै ६१ करोड ७४ लाख बजेट खर्च गर्ने सैद्धान्तिक सहमति दिइसकेको छ । भ्रमण वर्षलाई प्रवर्द्धन गर्न बोर्डले २५ करोड विनियोजन गरेको छ ।

प्रत्यक्ष रूपमा बोर्डले ३५ करोड भ्रमण वर्ष २०२० का लागि खर्च गर्नेछ । नेपाल सरकारले घोषणा गरेका सयवटा गन्तव्यको प्रोफाइल तयार गरिनेछ ।


फागुनमा बोर्डले पाटा नोपाल च्याप्टरसँगको सहकार्यमा नेपालमा चीन, भारत र नेपालका पर्यटन व्यवयासीहरूको सहकार्यमा नेपाल–इन्डिया–चाइना एक्स्पो (नाइस) आयोजना गर्ने भएको छ । नेपालमा तीन वटा मुलुकहरूको मात्रै सहकार्यमा हुने एक्स्पोलाई पहिलोपटक हुन लागिएको भनिएको छ ।

प्रकाशित : भाद्र २६, २०७६ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?