कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बैंकलाई ‘आईटी अडिट’ गर्न निर्देशन

काठमाडौँ — बैंक तथा वित्तीय संस्थाले निरन्तर रूपमा सूचना प्रविधि (आईटी) अडिट गर्नुपर्ने भएको छ । सूचना प्रविधिसम्बन्धी जोखिम बढिरहेको समयमा राष्ट्र बैंकले मंगलबार यस्तो निर्देशन दिएको हो ।

बैंकलाई ‘आईटी अडिट’ गर्न निर्देशन

बैंक तथा वित्तीय संस्थामा सूचना प्रविधिसम्बन्धी जोखिम न्यूनीकरणका लागि भन्दै राष्ट्र बैंकले विभिन्न निर्देशन जारी गरेको छ । सोहीमध्ये ‘आईटी अडिट’ पनि एक हो ।


सूचना प्रविधिसम्बन्धी जोखिम न्यूनीकरणका लागि बैंक तथा वित्तीय संस्थाले आफ्नो वेबसाइट, मोबाइल एप, चुहावट तथा चोरी, आर्थिक चोरीको जोखिम, आधिकारिक चोरीको जोखिमलगायतको सुरक्षा तथा परीक्षणका लागि निरन्तर रूपमा व्यवस्था गर्नुपर्नेछ । यसका लागि प्राविधिक क्षमता सुदृढ गर्ने, अद्यावधिक गर्ने, सेवा प्रदान गर्दा बैंकले अवलम्बन गरेका प्रणालीको सत्यता र सुरक्षा जाँच गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।


‘कतिपय असम्बन्धित व्यक्ति तथा स्थानबाट नक्कली पत्राचार एवं भुक्तानी आदेशसमेतबाट प्रयुक्त प्रणालीको दुरुपयोग गर्ने प्रयासहरू भएको सन्दर्भमा प्रणालीहरूको आवश्यकता अनुगमनको व्यवस्था गर्ने, भएको घटनाको सूचना सम्बन्धित निकायमा दिने व्यवस्था गर्ने,’ राष्ट्र बैंकको परिपत्रमा उल्लेख छ ।


गत साता नक्कली एटीएम कार्डमार्फत चिनियाँ नागरिकले नेपाल र भारतका विभिन्न एटीएममार्फत रकम चोरी गरेको भेटिएपछि सूचना प्रविधिजन्य जोखिम न्यूनीकरणका लागि राष्ट्र बैंक तातेको हो ।


यस्तै बैंक तथा वित्तीय संस्थाले प्रयोग गर्दै आएको विद्युतीय भुक्तानी प्रणाली (सूचना प्रणाली) सम्बन्धित नीति नियम परिमार्जन गरिने भएको छ ।

प्रकाशित : भाद्र २५, २०७६ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?