नेपाल-भारत पेट्रोलियम पाइप लाइनको प्रधानमन्त्री ओली र मोदीद्वारा 'स्वीच' थिचेर उद्घाटन

कान्तिपुर संवाददाता

काठमाडौँ — बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको मंगलबार समुद्घाटन गरिएको छ । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा आ-आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर समुद्घाटन गरेका हुन् ।

नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट ‘भिडियो कन्फरेन्स’मार्फत एकैसाथ स्वीच थिचेर सो परियोजनाको समुद्घाटन गरे। उद्घाटनसँगै मोतिहारीबाट अमलेखगञ्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रिएको छ। यो पाइपलाइन दक्षिण एशियाकै पहिलो ‘क्रस बोर्डर’ परियोजना हो।

पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइनेछ। त्यसपछि क्रमशः पेट्रोल र मट्टितेल ल्याइनेछ। मोतिहारी-अमलेखगञ्ज पाइप लाइनको दूरी ६९.२ किलोमिटर रहेको छ। जसमा नेपालतर्फ ३६.२ र भारततर्फ ३३ किलोमिटर रहेको छ।

पाइप लाइनबाट दैनिक झण्डै चार हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने परियोजनाले जनाएको छ। सो परियोजनाबाट पेट्रोलियम पदार्थ भित्रन थालेपछि वार्षिक अर्बौं ढुवानी खर्च जोगिने बताइएको छ।

पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउँदा वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुनेछ। पाइपलाइन सञ्चालनमा आएसँगै इन्धन ढुवानी लागतको न्यूनीकरणले पेट्रोलियम पदार्थको उपभोक्ता मूल्यसमेत घटेको छ। आजै मध्याह्नदेखि निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर दुई-दुई रुपैयाँ घटाएको छ। देशभित्र खपत हुने डिजेलमध्ये ७० प्रतिशत अमलेखगञ्जबाट आपूर्ति हुँदै आएको निगमले जनाएको छ।

परियोजनाको उद्घाटनका क्रममा निगमका कार्यकारी निर्देशकसहितको उच्च प्राविधिक टोली अमलेखगञ्जमा रहेको छ। निगम र भारतीय आयल कर्पोरेशनबीच अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजना निर्माणका लागि सन् २००४ मा सम्झौता भएको थियो। सो परियोजना विविध कारणले एक दशकभन्दा बढी समय रोकिएर रहेको थियो।

सन् २०१५ को अगष्टमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा र उनका भारतीय समकक्षी धर्मेन्द्र प्रधानले हस्ताक्षर गरेसँगै परियोजना निर्माण सुरु भएको हो। सो परियोजना निर्माणमा नेपाल र भारत सरकारले अत्यन्त चासो व्यक्त गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा नयाँ दिल्लीबाट प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरूपमा पाइप लाइन परियोजनाको शिलान्यास गरेका थिए। परियोजनाको लागत दुई अर्ब ७५ करोड भारतीय रुपैयाँ रहेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित सो कार्यक्रममा मन्त्रिपरिषद्का सदस्य, विभिन्न मन्त्रालयका सचिवलगायत नेपाल सरकरका उच्चपदस्थ अधिकारीको सहभागिता रहेको थियो।
-रासस प्रकाशित : भाद्र २४, २०७६ १२:४८

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

युवतीको सामूहिक बलात्कार, ९ जना पक्राउ 

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको सुस्तामा एक युवती सामूहिक बलात्कारमा परेकी छिन् । कार्यालय हिँडेकी १९ वर्षीया युवती १० जनाको समूहबाट बलात्कारमा परेकी हुन् । 


मोटरसाइकलमा एक युवकसँग कार्यालय जाँदै गरेको अवस्थामा अन्य युवाहरुको समूहले धम्क्याएर बलात्कार गरेको प्रहरीले जनाएको छ।

सामूहिक बलात्कार घटनाका आरोपी १० जनामध्ये प्रहरीले नौ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता डिएसपी विरेन्द्र थापाले बताए।

लघुवित्त संस्थामा काम गर्ने युवती आइतबार बिहान सुस्ता गाउँपालिका–३ सेखुवाना गाउँ नजिकै उखुबारीमा बलात्कारमा परेकी हुन्।

सीमा क्षेत्रमा लुकीछिपी बसेको अवस्थामा प्रहरी निरीक्षक प्रकाश श्रीमल नेतृत्वको टोलीले आरोपितहरुलाई पक्राउ गरेको हो।

जबरजस्ती करणीको आरोपमा सुस्ता गाउँपालिका–३ का २२ वर्षीय सन्दीप यादव, ३७ वर्षीय भिमलाल मुसहर, ४५ वर्षीय सुरेन्द्र यादव, २५ वर्षीय मनमोहन राजभर, २२ वर्षीय शिवराज राजभर, २२ वर्षीय राजु मुसहर, ४० वर्षीय नेत्र चौधरी, १९ वर्षीय पिन्टु राजभर, र १९ वर्षीय अमरनाथ भेडीहार पक्राउ परेका छन्।

किशोरीलाई धम्की दिएर उखुबारीमा लगेर बलात्कार गरेको उजुरी प्रहरीमा परेको छ। युवतीको लुम्बिनी मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ।

प्रकाशित : भाद्र २४, २०७६ १२:४८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×