दूधको मूल्य बढ्ने : किसानले पाउलान् लिटरमा थप ४ रुपैयाँ १४ पैसा ?

राजु चौधरी

काठमाडौँ — दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मूल्य बढाउन सिफारिस गरेपछि संस्थानको बोर्ड बैठकले बिहीबार प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको हो । बढेको मूल्य भने भदौ २१ (शनिबार) देखि लागू हुने संस्थानले जनाएको छ । 

दूधको मूल्य बढ्ने : किसानले पाउलान् लिटरमा थप ४ रुपैयाँ १४ पैसा ?

‘मन्त्रालयको सिफारिसअनुसार बोर्डले सहमति जनाएको छ,’ डीडीसीका कार्ययोजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सञ्जीव झाले भने, ‘मूल्य भने शनिबारदेखि लागू हून्छ ।’ यसअघि केन्द्रीय दुग्ध सहकारी संघ, डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनले मूल्य बढाउन दबाब दिँदै आएका थिए ।


सहकारीले भदौ १ गतेदेखि मूल्य नबढाए चरणबद्ध आन्दोनल गर्ने धम्की दिँदै आएका थिए । उनीहरूले प्रतिलिटर १० रुपैयाँसम्म बढाउन दबाब दिएका थिए । व्यवसायीको दबाबपछि मन्त्रालय पनि मूल्य बढाउने तयारी गरेको थियो । सोहीअनुसार राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयोजकत्वमा कार्यदल गठन भएको थियो ।


कार्यदलले कम दूध उत्पादन हुने मौसममा १० रुपैयाँ र बढी उत्पादन हुने मौसमका लागि ६ रुपैयाँ मूल्य बढाउन मन्त्रालयमा सिफारिस गरेको थियो । कार्यदलको सिफारिसअनुसार कृषि मन्त्रालयले पनि मूल्य बढाउन डीडीसीलाई सिफारिस गरेको हो । ‘कार्यदलको रिपोर्टअनुसार ६ रुपैयाँ बढाउन सिफारिस गरिएको थियो,’ मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले भने, ‘मूल्य कार्यान्वयन गर्ने/नगर्ने डीडीसीको बोर्डले निर्धारण गर्छ ।’ मन्त्रालयको सिफारिसअनुसार बोर्ड पनि स्वीकृत मूल्य बढाउन सहमत भएको हो । मन्त्रालय र बोर्डबाट सुझावबाट अन्तिम रूप दिने विगतकै परम्परा हो । सामन्यतय मन्त्रालयले सिफारिस गरेपछि सोहीअनुसार निर्णय हुन्छ ।


मन्त्रालयलले मौसमअनुसार दुईपटक मूल्य बढाउन भने स्वीकृत दिएको छैन । डीडीसीका अनुसार नयाँ मूल्यसूचीअनुसार शनिबारदेखि प्रतिलिटर दूध खरिद गर्दा ७६ रुपैयाँ तिर्नुपर्छ । यसअघि प्रतिलिटर ७० रुपैयाँ तोकिएको थियो । डीडीसीका बजार व्यवस्थापन विभाग प्रमुख झाका अनुसार बढेको मूल्यमा ६९ प्रतिशत किसानले पाउनेछन् । जसअनुसार प्रतिलिटर ४.१४ रुपैयाँ हुन्छ । बाँकी ३१ प्रतिशत (१.८६ रुपैयाँ) डेरी उद्योगीहरूले पाउने डीडीसीले जनाएको छ ।


डीडीसीले मूल्य किसानले पाउने दाबी गरे पनि जानकारहरू भने किसानले पाउनेमा शंका गर्छन् । ‘किसानको नाममा कतिपय सहकारीले व्यवस्थापन खर्चका नाममा राख्ने गरेका छन्,’ डीडीसीका पूर्वसञ्चालक समिति अध्यक्ष रघु गौतमले भने, ‘यसको नियमन हुन जरुरी छ ।’ उनका अनुसार भारत र नेपालबीचको मूल्य अन्तरले बजारमा केही समस्या हुने बताए । गौतमका अनुसार नेपालको तुलनामा भारतीय सीमामा दूधको मूल्य प्रतिलिटर ५/६ रुपैयाँ सस्तो छ ।


सीमामा सस्तो हुँदा घिउ, आइसक्रिम, दूधलगायत प्रशस्तै आउँछ । यहाँ दूधको मूल्य महँगो हुँदा किसानको दूध बिक्दैन । ‘प्रतिलिटर ६ रुपैयाँ बढाउँदा किसानलाई केही फाइदा भएको जस्तो देखिन्छ । तर, सीमाको मूल्य पनि सोच्नुपर्छ,’ उनले भने, ‘प्रतिलिटर ४ रुपैयाँसम्म बढाउँदा उचित हुन्थ्यो । अहिलेको हिसाबले दीर्घकालीन रूपमा किसानलाई नै बेफाइदा छ ।’


हाल डेरी र डीडीसीले सहकारीमार्फत दूध खरिद गर्छन् । सहकारी सञ्चालका लागि सरकारले प्रतिलिटर २ रुपैयाँ दिन्छ । सरकारले निर्धारण गरेको मूल्यमा सहकारीले केही प्रतिशत कमिसन राखेर किसानलाई दिन्छन् । सरकारले तोकेको मूल्य फ्याटको आधारमा किसानले पाउँछन् । सहकारीले किसानलाई चिल्लो पदार्थ (एसएनएफ) र ठोस पदार्थ (फ्याट) को आधारमा दिन्छन् । सहकारीले प्रतिलिटर ४५ देखि बढीमा ५० रुपैयाँमा खरिद गर्दै आएका छन् । तर, उपभोक्ता भने चर्को मूल्य तिर्न बाध्य छन् ।


डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालले पनि एक–दुईजना सहकारीले बद्मासीका कारण समस्या भएको बताए । उनले दर्ता नगरी दूध उठाउने सहकारीले किसानलाई बढी मूल्य दिएको बताए । ‘एक–दुई जना दर्ता नभएका सहकारीले बद्मासी गर्दा कसलाई समात्ने भन्ने मात्रै प्रश्न हो । नभए बढी मूल्य दर्ता नभएका सहकारीले दिन्छन्,’ उनले भने । हाल सरकारले बढाएको मूल्य किसानले पाउने उनले दाबी गरे । उनका अनुसार उद्योगीले पाउने १.८६ रुपैयाँमध्ये केही प्रतिशत दूध बेच्ने (बुथ म्यान) लाई पनि दिनुपर्छ । जसले गर्दा उद्योगीलाई मुनाफा नहुने उनले बताए ।


केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायण देवकोटाले मूल्य किसानले नै पाउने दाबी गरे । ‘अहिले बढेको मूल्यमा सहकारीले लिँदैन । किसानलाई नै धेरैभन्दा धेरै दिनुपर्ने माग हो,’ उनले भने, ‘किसानको नाममा आएको एक पैसा पनि कतै जाँदैन । डीडीसीलाई पनि सोहीअनुसार निर्णय गर्न आग्रह गरेका थियौं ।’ देवकोटाले शतप्रशितत मूल्य पाउने दाबी गरे पनि उपभोक्ताकर्मीहरूले भने मूल्य बिचौलियाको हातमा पर्ने बताउँछन् । यसअघि १ भदौ २०७४ मा प्रतिलिटर ६ रुपैयाँ बढाइएको थियो ।

प्रकाशित : भाद्र २०, २०७६ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?