कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई वर्षपछि दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढ्यो, शनिबारदेखि लागू हुने

राजु चौधरी

काठमाडौँ — सरकारको निर्देशनमा दुग्ध विकास संस्थान (डीडीसी)ले दुई वर्षपछि दूधको मूल्य बढाएको छ । दुग्ध सहकारीहरु र डेरी उद्योग संघको दबाबमा सरकारले दूध प्रतिलिटर ६ रुपैयाँले बढाएको हो ।

दुई वर्षपछि दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढ्यो, शनिबारदेखि लागू हुने

बढेको मूल्य पर्सि २१ गते शनिबारदेखि लागू हुने डीडीसीका योजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सञ्जीव झाले बताए ।

कृषि तथा पशुपन्छी मन्त्रालयले बिहीबार दूधको मूल्य बढाउने निर्णय गरी कार्यान्वयनका लागि डीडीसीलाई पत्र पठाएको व्यवस्थापन विभाग प्रमुख सञ्जीव झाले कान्तिपुरलाई बताए ।

मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले पनि मूल्य बढाउन सिफारिस गरेको बताए । तर, नयाँ मूल्य डीडीसीको बोर्ड बैठकबाट पास भएपछि लागू हुने उनले बताए

तर, कृषि सचिव युवकध्वज जिसीले भने मूल्य बढाउने निर्णयबारे आफूलाई कुनै जानकारी नभएको बताए । उनले भने, 'मूल्य बढेको कुरा थाहा छैन, भेरिफाइ गर्छु ।'

उपभोक्ताले अब प्रतिलिटर दूधको ७६ रुपैयाँ तिर्नुपर्नेछ । यसअघि ७० रुपैयाँमा बिक्री वितरण हुँदै आएको थियो । नयाँ भाउ अनुसार ६९ प्रतिशत किसानले र ३१ प्रतिशत उद्योगीले पाउनेछन् ।


झाका अनुसार यसअघि २०७४ भदौ १ मा दूध प्रतिलिटर ६ रुपैयाँ बढाइएको थियो ।


दुग्ध सहकारीहरुले मूल्य नबढाए भदौ १ गतेदेखि आन्दोलन गर्ने चेतावनी दिएका थिए । उनीहरुको आन्दोलनमा डेरी उद्योग संघहरुले पनि समर्थन जनाएका थिए ।


सरकार, उद्योगी, किसानका प्रतिनिधिबीच पटक पटकको वार्ताबाट दूध प्रतिलिटर १० रुपैयाँ बढाउने सिफारिस गरेको थियो ।

प्रकाशित : भाद्र १९, २०७६ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?