कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डिपोबाट इन्धन चोरी

राजु चौधरी

काठमाडौँ — नेपालगन्ज डिपोबाट पेट्रोलियम पदार्थको स्टक ट्रान्सफरमा इन्धन चोरी हुने गरेको पाइएको छ । स्टक ट्रान्सफर भैसकेका टैंक ट्रकहरूलाई डिपोबाहिर पाकिङ गर्दा सबैजसो टैक ट्रकहरूमा अस्वाभाविक परिमाणमा नोक्सान देखिएको हो । 

डिपोबाट इन्धन चोरी

राप्ती अञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनले भदौ महिनामा चेकजाँच गर्दा अधिकाश ट्यांकरबाट इन्धन चोरी भएको पाइएको हो । ‘डिपोबाहिर पार्किङको अवस्था हेर्दा गैर कानुनी कार्य सबै रातको समयमा हुने देखिन्छ,’ एसोसिएसनले आयल निगमलाई पठाएको पत्रमा भनिएको छ, ‘स्टक ट्रान्सफर भैसकेका सम्पूर्ण ट्यांकर–ट्रकहरूलाई नेपालगन्ज डिपोभित्र पार्किङ गर्न व्यवस्थाका साथै आवश्यक छानबिन गरी कारबाहीका लागि पहल गरिदिन अनुरोध छ ।’

निगमका अनुसार नेपालगन्जमा भारतको गोन्डाबाट इन्धन आयात हुन्छ । गोन्डाबाट नेपालगन्ज डिपोसम्म आउँदा सबै ट्यांकरमा लकिङको व्यवस्था गरिएको छ । तर आन्तरिक ढुवानीमा लकिङ नहुँदा समस्या भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । ‘गोन्डाबाट आयात हुने इन्धन १ सय २० ट्यांकर मार्फत दाङ, नेपालगन्ज र सुर्खेतमा ढुवानी हुन्छ,’ प्रवक्ता गोइतले भने, ‘गोन्डाबाट आयात हुँदा लकिङ हुन्छ । नेपालगन्ज डिपोबाट दाङ पठाउँदा लकिङको सुविधा छैन । त्यसैले चोरी भएको हुन सक्छ ।’ उनले चोरी भएको पुष्टि भए कानुनअनुसार कारबाही हुने बताए ।

तापक्रम बढ्दा इन्धनको मात्रा बढ्छ । तापक्रम घट्दा इन्धन खुम्चिने हुँदा तौलमा फरक पर्दैन । चेकजाँचको क्रममा तापक्रम बढ्दा पनि इन्धन घटेको पाइएको हो । एसोसिएसनका अनुसार भदौ महिनामा ट्यांकर–ट्रकहरू दाङ डिपोभित्र चेकजाँच गर्दा भे१ख २६३८ ले स्टक ट्रान्सफर भई ल्याएको तापक्रममा १.५ डिग्री सेन्टिग्रेड तापक्रम नोक्सान थियो । १.५ डिग्री नोक्सान हुँदा डिजेलको मात्रा २२ देखि २३ लिटर घटेको थियो ।

ना४ख मा ५१६२ नम्बरको ट्यांकरको तापक्रम लस २ डिग्री थियो । तर, डिजेल प्रतिचेम्बर २ पोइन्टका दरले बढेको उल्लेख थियो । ना४ख ६२२६ नम्बरको ट्यांकरमा तापक्रम लस ३.५ डिग्री पुगेको थियो । ३.५ डिग्री नोक्सान हुँदा पेट्रोलको मात्रा १ सय ९५ लिटर घटेको पत्रमा उल्लेख छ । यो अस्वाभाविक रहेको एसोसिएसनका अधिकारीहरू बताउँछन् ।

ना४ख ७१४ मा तापक्रम ३ डिग्री बढेको थियो । सामान्यतया तापक्रम बढ्दा इन्धनको मात्रा बढ्ने पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले बताए । तर, उक्त ट्यांकरमा तापक्रम बढेको पाइए पनि डिजेलको मात्रा ४२ लिटर घटेको उल्लेख छ ।

मिक्सलोड भएको ना५ख ९४६ ट्यांकरमा तापक्रम बराबर भए पनि चारवटा चेम्बरमा ३९ लिटर डिजेल घटेको उल्लेख छ । पेट्रोलको तापक्रम ७ डिग्री बढ्दा पनि २ पोइन्ट मात्र बढेको एसोसिएसनले जनाएको छ । ना४ख ७३ नम्बरको ट्यांकरको तापक्रम लस १ डिग्री भएकोमा ५१ लिटर पेट्रोल घटेको जनाएको छ । ना५ख ७३६ नम्बरको ट्यांकरको तापक्रम ३ डिग्री बढे पनि डिजेलको मात्रा २१ लिटर घटेको छ ।

ना६ख ११२ नम्बरको ट्यांकरमा तापक्रम २ डिग्री बढेको थियो । उक्त ट्यांकरमा डिजल बराबर रहेको उल्लेख छ । मिक्सलोड मा ना७ख ९५४३ मा तापक्रम २ डिग्री बढेर पनि डिजल बराबर नै छ । पेट्रोलको तापक्रम ५ डिग्री बढ्दा भने उक्त ट्यांकरमा रहेको पेट्रोल १५ लिटरले घटेको उल्लेख छ ।

‘ना५ख ७२३ नम्बरको ट्यांकर मा तापक्रम १ डिग्री घट्दा पेट्रोल ४८ लिटर घटेको छ । ना३ख १०५८ मा तापक्रम १ डिग्री मात्र बढ्दा पेट्रोल ९० लिटर बढेको छ । ना३ख ९७७१ मा चेम्बर नम्बर ५ मा मात्र अस्वाभाविक १.१ सेमि घटेको देखिन्छ,’ पत्रमा भनिएको छ ।

अध्यक्ष प्रधानका अनुसार लकिङबाटै चोरी हुनु दुर्भाग्य भएको बताए । ‘बाहिर पठाउने गाडी कम्पान्डबाहिर राख्ने । त्यस क्रममा चोरी नै भएको छ,’ अध्यक्ष प्रधानले भने, ‘लकिङबाटै चोरी भएको छ । त्यो राम्रो होइन ।’

उनले बाटोमा हुने चोरी तत्काल नियन्त्रण गर्नुपर्ने बताए । निगमका प्रवक्ता गोइतका अनुसार यसअघि दाङमा नोक्सानको मापदण्ड तोकिएको थिएन । अब २० किलोलिटरको ट्यांकरमा वार्षिक ३० लिटर नोक्सानको मान्यता दिइएको छ । उक्त परिमाणभन्दा बढी नोक्सान भए ट्यांकर चालक वा ट्रान्सपोर्टरबाटै भर्पाई गरिने बताए ।

‘दाङमा पेट्रोल ढुवानी गर्दा नोसानको मापदण्ड थिएन । ढुवानीको क्रममा इन्धनको मात्रा घटिरहेको थियो,’ उनने भने, ‘निगम बोर्डबाट वार्षिक नोक्सानको मापदण्ड स्वीकृत भएको छ । अब मापदण्डभन्दा बढी भए कारबाही हुन्छ ।’

प्रकाशित : भाद्र १७, २०७६ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?