कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भ्रमण वर्ष : पूर्वमा पुगेन प्रचार

इलाम/ताप्लेजुङ — भदौ ९ गते इलाम सदरमुकाममा मेची क्षेत्रका व्यवसायीको एकदिने भेला सम्पन्न भयो । भेलामा अधिकांश होटल व्यवसायी सहभागी थिए । आयोजनाको अगुवाइ उनीहरूले नै गरेका थिए ।

भ्रमण वर्ष : पूर्वमा पुगेन प्रचार

मेची अञ्चलका चार जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम र झापालाई पर्यटकीय करिडोरका रूपमा विकास गर्ने उद्देश्य भेलाको थियो । चारै जिल्लाका व्यवसायी समेटिएको समिति पनि गठन गरियो । भेलाले करिडोरमा के कुरालाई समेट्ने र कसरी योजना बनाउने निर्णय भने भएन ।


दुई वर्षअघि पनि चार जिल्लाको करिडोरका लागि समिति गठन भएको थियो । सक्रिय भएर काम गर्न सकेन । समितिले एउटै बैठक राख्न नसकेको गुनासो व्यवसायीको छ । आयोजकले सार्वजनिक रूपमा नभने पनि यो समिति भने भ्रमण वर्षलाई नै लक्षित गरी गठन गरिएको धेरैले आकलन गरे ।


‘मेची क्षेत्रका पर्यटन व्यवसायीको छलफल तथा अन्तर्क्रिया कार्यक्रम’ भनेर बोलाइएको भेलामा भ्रमण वर्षका प्रदेश संयोजक राजन श्रेष्ठ र अन्य सदस्य पनि आएका थिए । उनीहरूले नवगठित समितिलाई बधाई दिए । करिडोरको सचिवमा त भ्रमण वर्ष समितिका सदस्य अर्जुन कार्की आफैं बसे ।


भ्रमण वर्ष नजिकिए पनि पर्यटकीय महत्त्वका जिल्लामा यसबारे खासै चासो देखिएको छैन । ठूलै संख्यामा पर्यटक आए भने कहाँ राख्ने श्रेष्ठले भने, ‘हाम्रो कमजोर पक्ष भनेको मार्केटिङ गर्न नसक्नु हो । यसमा जोड दिन जरुरी छ ।’ भारतका पर्यटक नेपालको तीर्थस्थलमा आउन रुचाउने भएकाले त्यसतर्फ जोड दिनुपर्ने श्रेष्ठ बताउँछन् ।


धरानमा आगामी असोज ५ देखि ७ गतेसम्म तीन दिने ‘इस्ट टुरिज्म मार्ट’ गर्ने र त्यहाँ भारतका एक सय जनालाई ल्याउने तयारी रहेको उनले बताए । ‘विहार, बंगाल, सिक्किमका सय जनालाई खाने, बस्ने व्यवस्था हामीले नै गरेर ल्याउने तयारीमा छौं,’ श्रेष्ठले भने, ‘फर्केर जाँदा उहाँहरूले भ्रमण वर्षको सन्देश लिएर जानुहुन्छ ।’


पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समिति उपाध्यक्ष नारायण श्रेष्ठ असोज महिनामा भारतको आसाम, सिक्किम, मनिपुर र पश्चिम बंगालमा प्रचारका लागि जाने तयारी रहेको बताउँछन् । ‘ठ्याक्कै मिति तय भएको छैन, पोस्टर, पम्प्लेट बनाएर सिक्किमका प्रत्येक घरमा र अरू क्षेत्रका टोलटोलमा पुग्ने गरी प्रचारमा जाने तयारीमा छौं,’ उनले भने, ‘भ्रमण वर्षमा पाथीभरा आउने भारतीय पर्यटक बढाउने हाम्रो मुख्य उद्देश्य हो ।’


यसका लागि नेपाली, अंग्रेजी, हिन्दी र बंगाली भाषामा ब्रोसर बनाउने, होटलको प्याकेज बनाउने काम भइरहेको उनको दाबी छ । पाथीभरामा भारतबाट अधिक तीर्थयात्री आउँछन् तर संख्या भने यकिन छैन । वार्षिक ३ लाख पर्यटक आउने आकलन गरिएको छ ।


पाथीभरा क्षेत्र विकास समितिका सदस्य गोपाल न्यौपाने पर्यटन बोर्डसँग मिलेर क्षेत्र विकासले प्रचारको तयारी गरिरहेको बताउँछन् । क्षेत्र विकासको आफ्नै योजनामा पनि प्रचारको कार्यक्रम रहेको उनले बताए । भावेश श्रेष्ठ भने एकीकृत योजना नबनाउँदा ताप्लेजुङले पाथीभरा, खोटाङले हलेसी महादेव, सुनसरीले बराह क्षेत्रजस्तै फकर जिल्लाबाट फरक प्रचार हुँदा आउनेहरू अलमलिने बताउँछन् ।


‘यसरी अलमलिए भने कहाँ जाने भनेर झनै नआउन सक्छन् । त्यसैले ठोस योजना आवश्यक छ,’ श्रेष्ठले भने । एक नम्बर प्रदेश संयोजक राजन श्रेष्ठ सरकारले समितिमा सबै जिल्लालाई नसमेटेका कारण समस्या भएको बताउँछन् । यस प्रदेशमा १३ जनालाई व्यक्तिगत र चारवटा उद्योग वाणिज्य संघलाई संस्थागत रूपमा भ्रमण वर्षको सदस्य राखिएको छ । समितिमा विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा, पाथीभरा भएको जिल्ला नै छुटेको छ ।


व्यक्तिगत छानिएकामा एकै जिल्लाका धेरैजना छन् । सदस्य थप गर्नका लागि पर्यटन मन्त्रालयसँग अनुरोध गरिएको तर प्रधानमन्त्रीकै सक्रियतामा समिति बनेकाले फेरबदल गर्न समस्या भएको जानकारी आफूले पाएको उनले बताए ।

प्रकाशित : भाद्र १७, २०७६ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?