कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रेल स्टेसनका लागि २ सय कर्मचारी माग

कात्तिक अन्तिमसम्म रेल आउँछ : महानिर्देशक मिश्र
विमल खतिवडा

काठमाडौँ — रेल आउने समय नजिकिए पनि विभिन्न स्टेसनका लागि चाहिने कर्मचारीको व्यवस्थापन अहिलेसम्म हुन सकेको छैन । रेल विभागले कार्त्तिक अन्तिमसम्म रेल आउने दाबी गर्दै कर्मचारी माग गरेको छ । विभागका महानिर्देशक बलराम मिश्रका अनुसार दुई महिनाअघि नै करिब २ सयभन्दा बढी कर्मचारी माग गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पठाइएको छ ।

रेल स्टेसनका लागि २ सय कर्मचारी माग

‘रेल स्टेसनका लागि संगठनको संरचना बनाएरै कर्मचारी माग गरेका छौं,’ उनले भने, ‘सबै कर्मचारी रेल सञ्चालनका लागि हो, माग स्वीकृतिको क्रममा छ,’ उनले कर्मचारी राख्ने प्रक्रिया लामो हुने बताए ।


भौतिकले कर्मचारी मागबारे अर्थ मन्त्रालय, कानुन न्याय तथा संसदीय मन्त्रालय, लोकसेवा आयोगमा पठाएको छ । ‘हामीलाई २ सयभन्दा बढी कर्मचारी चाहिन्छ,’ मिश्रले भने, ‘एउटा स्टेसनमा १२ देखि १५ जनासम्म कर्मचारी चाहिने हुन्छ ।’ जयनगर–जनकपुरदेखि बर्दिबाससम्म रहेका स्टेसनका लागि कर्मचारी चाहिएको हो । ‘स्टेसनअनुसार कर्मचारी थप्नुपर्ने हुन्छ,’ उनले भने, ‘तर माथिल्लो तहमा कर्मचारी थपिने छैनन ।’ कार्यस्थलमा मात्र कर्मचारी थपिँदै जानेछन् । जयनगर, इनरुवा, खजुरी, मैनाथपुर, बैदेही, पर्वा, जनकपुर, कुर्था, प्रिपाडी, बिजलपुरासम्ममा कर्मचारी चाहिने हुन्छ ।


‘कात्तिक अन्तिमसम्म रेल आउने निश्चित छ,’ उनले भने, ‘हामीलाई जति सक्दो चाँडो कर्मचारीको माग स्वीकृत भइदिए हुन्थ्यो भन्ने हो, चाँडो भर्ना प्रक्रिया अगाडि बढाउने थियौं ।’ विशिष्ट प्राविधिक कर्मचारी भारतबाटै ल्याइनेछ । ‘यसका लागि प्रस्ताव पनि आइसकेको छ,’ उनले भने, ‘त्यसैले जति कर्मचारी माग गरेका छौं, ती सबै नेपालका लागि मात्र हो ।’


पहिलो चरणमा रेल भारतको जयनगर–जनकपुरअन्तर्गत कुर्था खण्डसम्म चल्नेछ । पछि कुर्थादेखि बिजलपुरासम्म पुग्नेछ । ३४ किमि क्षेत्रको कुर्थासम्म काम सकिसकेको छ । उक्त खण्डमा रेल गुडाएर परीक्षणसमेत गरिसकिएको छ । कुर्थादेखि बिजलपुरासम्म १७ किमि छ । बिजलपुरादेखि बर्दिबाससम्म रेल गुड्न भने समय लाग्नेछ । जयनगरबाट बर्दिबाससम्म ६९ किमिको रेल्वे नेटवर्क बन्नेछ ।


उक्त स्थानमा गुड्ने दुई सेट रेलको अहिले भारतमा निर्माण भइरहेको छ । ‘रेल गुड्ने ठाउँ तयार भइसकेको छ,’ उनले भने, ‘दुई सेट रेलको निर्माण चाँडो सक्न हामीले ताकेता गर्दै आएका छौं, काम तीव्र रूपमा भइरहेको जानकारी पाएका छौं ।’ रेल सेट खरिदका लागि कुल ८४ करोड ६५ लाखमध्ये २० प्रतिशत रकम बैंक खाता मार्फत पठाइसकिएको छ । रेलको एक सेटमा पाँचवटा डिब्बा रहनेछन् । ती डिब्बामा एक पटकमा करिब १३ सय यात्रु अटाउनेछन् ।


भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीका अनुसार नियम कानुनका लागि अर्थ, कानुन, लोकसेवा पठाइएकोमा अर्थबाट स्वीकृत भएर आइसकेको छ । ‘सहमति गर्ने ठाउँहरूमा पठाइसकिएको छ, कहीँबाट आएको छ, कहीँबाट आएको छैन,’ उनले भने, ‘कर्मचारीका सम्बन्धमा छिट्टै टुंगिएला, धेरै समय लाग्ने छैन ।’नाउनु जरुरी छ ।’

प्रकाशित : भाद्र १६, २०७६ २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?