कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दूधको चरम अभाव

पाउडर दूधको बन्देजसँगै उत्पादित दूध स्थानीय तहमा खपत हुँदा बजारमा अभाव
पनिर पनि छैन
राजु चौधरी

काठमाडौँ — तीजमा दूधको चरम अभाव भएको छ । दुग्ध विकास संस्थान (डीडीसी), राष्ट्रिय दुग्ध विकास बोर्ड र उद्योगीहरूका अनुसार पाउडर दूधको बन्देजसँगै उत्पादित दूध स्थानीय तहमा खपत हुँदा बजारमा अभाव भएको हो ।

दूधको चरम अभाव

बजारमा दूध अभाव भएपछि महिलाहरूको तीजलाई चाहिने पनिर, मिठाई उत्पादनमा समस्या देखिएको छ ।

डीडीसीका अनुसार दूध अभाव भएपछि पनिर उत्पादन हुन सकेको छैन । मिठाईको उत्पादनमा पनि कटौती गरिएको छ । ‘आइतबार दूधको माग १ लाख ४० हजार लिटर थियो । ९५ हजार लिटर मात्रै पठाउन सक्यौं । सोमबार ६५ हजार लिटर मात्रै पठाउन सक्ने अवस्थामा छौं,’ डीडीसीका योजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सञ्जीव झाले भने, ‘दूध उत्पादन घट्दा त्यसले अन्य उत्पादनमा पनि असर पुगेको छ ।’

झाका अनुसार गत वर्षको तीजमा ७० हजार बट्टा मिठाई उत्पादन भएको थियो । अहिले ७ सय ५५ बट्टामै सीमित भएको छ । पनिर १५ सय किलो उत्पादन भएको थियो । अहिले ३ सय किलो पनि मुस्किलले उत्पादन भएको उनले बताए । ‘चरम अभावका कारण दूध हारालुछ नै छ । अवस्था थप बिग्रिँदै गएको छ,’ उनले भने । उनका अनुसार दूध अभाव हुनुको मुख्य कारण पाउडर आयातमा बन्देज नै हो । स्थानीय उत्पादन घटेको बेला पाउडर दूधको अयात बन्द छ ।

पाउडर दूध आयात नहुँदा बजारको अवस्था बिग्रँदै गएको उनको दाबी छ । ‘असोजबाट दूध संकलन केही बढे पनि उपभोक्ताको आवश्यकता पूरा हुनेमा शंका छ,’ उनले भने, ‘सीमित परिमाणका लागि पाउडर दूध आयात खुला नहुन्जेलसम्म अवस्था सामान्य हुँदैन ।’

डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालले पनि पाउडर दूध नभएर बजारमा व्यापक अभाव भएको बताए । तत्काल आयात खुला नभए दसैंतिहारसम्म दूधको अभाव कायमै हुने उननले बताए । ‘बजारमा दूध छैन, दूध नहुँदा पनिर छैन । तीजमा मिठाई चाहिन्छ, मिठाई बनाउन दूध छैन,’ उनले भने, ‘यस्तो अवस्थामा स्वदेशी उद्योग बन्द हुन्छ । उद्योग नै बन्द हुने अवस्थामा पुग्यो ।’

किसानलाई प्रोत्साहन गर्ने भन्दै हाल कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाउडर दूध आयात बन्देज गरेको छ । पाउडर दूध आयात बन्द हुँदा पनि बजारमा समस्या देखिएको उनीहरूको दाबी छ । एसोसिएसनका अनुसार आइतबार मुलुकभरि करिब ८ लाख लिटरको माग छ । मागको ५० प्रतिशत पनि आपूर्ति गर्न नसकेको बताए ।

डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारीको भनाइ पनि उस्तै छ । उनले पनि दूध अभावकै कारण पनिर नभएको बताए । ‘दूध नहुँदा पनिर बन्ने सम्भावना पनि भएन । उद्योगमा दुई सय ग्राम पनि पनिर छैन । दही पनि छैन,’ उनले भने, ‘पनिर,दही, मिठाईका लागि आवश्यक कच्चा पदार्थ नहुँदा डेरी उद्योग बन्द गर्ने अवस्थामा पुगेका छौं ।’

संघका अनुसार साना, मझौला र ठूला गरी २५ सय डेरी उद्योग छन् । ती उद्योगहरू दूध अभाव भएको हो । अभाव हुनुमा अध्यक्ष राजभण्डारीको तर्क भने अर्के छ । उनले भारत र नेपालबीचको मूल्य अन्तरका कारण दूध भारत गएको बताउँछन् । ‘सीमा क्षेत्रमा दूधको मूल्यमा केही अन्तर छ । मूल्य वारि र पारि बराबर नहुँदा स्वदेशी दूध भारत गयो,’ उनले भने ।

संस्थानका अनुसार अहिले दूधको सिजन नै हो । साउनमा माछामासु कम उपयोग गर्ने हुँदा खपत अत्यधिक बढेको छ । किसानले उत्पादन गर्ने दूध आइपुगेको छैन ।

राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तले चाडबाडका कारण केही अभाव भएको बताए । उनले असोजको दोस्रो साताबाट केही सहज हुने बताए । ‘मिल्क होलिडे हुन नदिन र किसानले बजार पाओस् भन्ने उद्देश्यले पाउडर आयात रोकेको हो । दही, आइसक्रिमलगायत पाउडर दूधले बन्छ । अहिले पाउडर पनि अभाव छ,’ पन्तले भने, ‘बोर्डले सहजीकरण गर्ने हो । कृषि मन्त्रालयमा छलफल गरेर समस्या समाधान गर्छौं ।’

उनका अनुसार डेरी एसोसिएसन र संघले कात्तिकसम्म करिब ६ सय टन आयात गर्नुपर्ने माग राखेका छन् । त्यसका लागि बोर्ड र मन्त्रालयमा पत्रचारसमेत गरिसकेका छन् । ‘किसानको दूध खरिद गर्ने र मिल्क होलिडे हुन नदिने सर्तमा पाउडर आयातको निर्णय गर्न सक्छौं,’ उनले भने ।


पटनाबाट आयात हुन सकेन

बजारमा दूध अभाव भएपछि सरकारले पटनाबाट आयात गर्न स्वीकृति दिए पनि आयात हुन सकेन । संस्थानले पटनाको सहकारी डेरीबाट दूध आयात गर्ने तयारी गरेको थियो । त्यहाँ पनि अभाव भएकाले आयात गर्न नसकेको झाले बताए । ‘पटनामा पनि अभाव छ,’ उनले भने ।

प्रकाशित : भाद्र १६, २०७६ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?