स्वदेश फर्केर तरकारी खेती

सुम्निमा चाम्लिङ

इटहरी — बराहक्षेत्र ९ प्रकाशपुर ढोलबजियाका छविलाल चौधरी, रघुवीर चन्द्रवंशी र अमिर निरौला कृषि पेसामा रमाउन थालेको डेढ वर्ष भयो । कृषि पेसा अगाल्नुअघि चौधरी अफगानिस्तानमा, चन्द्रवंशी र निरौला भने रोजगारीका क्रममा दक्षिण कोरिया पुगेका थिए ।

वैदेशिक रोजगारका क्रममा आर्थिक रूपमा सबल भए पनि स्वदेशमै केही गर्ने चाहना भने अधुरो थियो । विदेशमा रहँदा उनीहरूबीच सामाजिक सञ्जालमार्फत तरकारी खेती गर्ने योजना बन्यो । विदेशबाट फर्किएलगतै सञ्चालकमध्येका छविलालको जमिन करारमा लिएर खेती सुरु गरे । उनीहरूले १ बिघा ८ कट्ठामा टनेल बनाएर तरकारी खेती गर्दै आएका छन् । ६ लाख रुपैयाँ लगानीबाट खेती सुरु गरेका थिए । उनीहरूको दैनिकी अहिले फार्ममै बित्ने गरेको छ ।

बेमौसमी खेती गर्न मिल्ने, रोग र किराको संक्रमण कम हुने भएकाले टनेल बनाएर तरकारी खेती गर्दै आएको छविलाल चौधरीले बताए । बेमौसमी तरकारी उत्पादन गर्न सके राम्रो आम्दानी हुने भएकाले टनेलको प्रयोग गरेको उनको भनाइ छ । टनेलभित्र खुर्सानी, बोडी, साग, करेला, परवललगायतका तरकारी हुर्किरहेका छन् । खुला ठाउँको तुलनामा टनेलभित्र खेती गर्दा दोब्बर बढी उत्पादन र आम्दानी लिन सकिने उनी बताउँछन् ।

रघुवीर र अमिर कोरियामा रहँदा बिदाको समयमा कृषि फार्म पुग्थे । त्यहाँको आधुनिक प्रविधिद्वारा गरिएको कृषि फार्म देख्दा उनीहरूलाई नेपालमा समेत गर्न सकिन्छ भन्ने सोच थियो । रघुवीरले भने, ‘विदेशमा प्रविधिबाट खेती भइरहँदा नेपालमा भने परम्परागत रूपमा खेती हुँदा निकै दुःख लाग्थ्यो ।’ छविलालको सामान्य तरकारी खेतीको अनुभवलाई आधार मानेर निरौला र चन्दवंशीले ‘सुन्दर कृषि फार्म’ सुरु गरे ।

गत वर्ष उनीहरू २० लाखको कारोबार गर्न सफल भएका छन् । तरकारी खेतीबाट हाल मासिक १ लाख रुपैयाँ कमाइ भइरहेको छ । तीनजनालाई रोजगारी प्रदान गरेका छन् । अमिरले भने, ‘बिरुवा उमार्न र तापक्रम मिलाउन नसक्दा सुरुवाती दिनमा घाटा सहनुपर्‍यो । अहिले भने एक वर्षको अनुभवले धेरै कुरा सिकाएको छ ।’ बिरुवामा लाग्ने किराहरूबारे समेत सचेत हुनुपर्ने उनको भनाइ छ ।

अत्यधिक नोक्सानी भएपछि भने उनीहरूले जेटीएको परामर्श लिन थालेका छन् । तरकारी खेतीमा मौसम मुख्य चुनौती हुने गरेको छ । समयअनुसार तरकारी उत्पादन गर्न सफल भए राम्रो मुनाफा आर्जन गर्न सकिने अमिर निरौला बताउँछन् । अर्गानिक तरकारी खेतीमा उनीहरूले जोड दिएका छन् । जैविक मलको प्रयोग बढी गर्छन् ।

विषादीरहित तरकारी खुवाउने योजनाका साथ काममा खटेका छन् । ‘नगरवासीलाई सकेसम्म अर्गानिक तरकारी खुवाउने प्रयास गरेका छौं,’ रघुवीरले भने । हाल उनीहरूले सुनसरीभित्र तरकारी निर्यात गर्दै आएका छन् । मागअनुसार उत्पादन गर्न भने अझै नसकेको उनले बताए ।

प्रकाशित : भाद्र ११, २०७६ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्

बन्दाले जोड्यो खेतबारी

चन्द्र कार्की

तेह्रथुम — डेढ दशकअघि बन्दा खेती सुरु गर्दा धनकुटाको महालक्ष्मी नगरपालिका १ का ४४ वर्षीय किसान टेकबहादुर गुरुङसँग एक गह्रा बारी थियो । बन्दाको व्यावसायिक खेती सुरु गरेको डेढ दशकमा गुरुङले १ करोड ५० लाख रुपैयाँभन्दा बढीको सम्पत्ति जोडेका छन् ।

उनी आफ्नो उत्पादन आफैं भारतीय बजारमा पुर्‍याउने यस क्षेत्रकै अगुवा कृषकमा गनिन्छन् । सोही वडाका ५६ वर्षीय जगत काफ्ले १५ वर्षअघिसम्म काठको काम गर्थे । काठमा आरा लगाउने कामले परिवार पाल्न मुस्किल भएपछि उनले पनि पाखोबारीमा व्यावसायिक बन्दा खेती सुरु गरे । अहिले उनीसँग तरकारी ढुवानीका लागि २ वटा ट्रक छन् । झापामा एक बिघा खेती जोडेका छन् ।

पहाडमा बन्दा खेतीका लागि ३० रोपनी बढी जग्गा जोडेका छन् । यो सम्पूर्ण सफलताको श्रेय उनलाई बेमौसममा लगाइने बन्दाले नै दिएको हो । तेह्रथुमको लालीगुराँस नगरपालिका ४ चित्रेका अर्का किसान होम रायमाझी पनि बन्दा खेती सुरु गरेको १२ वर्षमा तीनवटा गाडीका मालिक बनेका छन् । बन्दा खेतीबाट भएको आम्दानीले उनले ट्रक, ट्याक्टर र मोटरसाइकल जोडेको बताए । खेतीका लागि जग्गा जमिन प्रशस्त किनेका छन् ।

दुःखले परिवार पाल्ने यी किसान परिवारलाई बन्दा खेतीले छोटै समयमा करोडौंको मालिक बनाएको छ । धनकुटाको छथर जोरपाटी गाउँपालिका, महालक्ष्मी नगरपालिका, तेह्रथुमको लालीगुराँस र म्याङलुङ नगरपालिका, छथर गाउँपालिका र संखुवासभाको धर्मदेवी नगरपालिकाका ३० हजार बढी किसान बेमौसमी बन्दा खेती गरेर लखपती बनेका छन् ।

यहाँका किसानले एक वर्षमा ५ लाख रुपैयाँदेखि ३० लाख रुपैयाँसम्मको बन्दा बिक्री गरिरहेका छन् । बन्दा बिक्रीबाट आएको पैसाले पहाडका धेरै किसानले पूर्वीतराईमा घरघडेरीदेखि खेतीसम्म किनेको छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए । व्यापारीले आफ्नो उत्पादन बिक्रीका लागि सहकारी संस्था समेत सञ्चालनमा ल्याएका छन् । सहकारीले यस क्षेत्रमा उत्पादन हुने बन्दालाई सोझै भारतीय बजारमा पुर्‍याउने काम गरीरहेको छ ।

सहकारी संस्था सञ्चालनमा ल्याएपछि किसानले आफ्नो उत्पादन व्यापारीलाई दिन छाडेको सिंधुवा कृषि भण्डारका प्रमुख बजार व्यवस्थापक मेघेन्द्र गुरुङले बताए । सहकारी संस्थामार्फत बन्दा बिक्री गर्दा तौलमा नठगिने र मूल्य पनि बढी पाइने गरेको किसानको भनाइ छ ।

तेह्रथुम, धनकुटा र संखुवासभाका ३० हजारभन्दा बढी किसान व्यावसायिक रूपमा बन्दा खेतीमा लागेपछि धेरै परिवर्तन भएको छ । धनकुटाको सिंधुवाको बाटो भएर दैनिक २५ ट्रक बन्दा भारतीय बजारतर्फ जाने गरेको सिंधुवा बहुउद्देश्यीय सहकारी संस्थाले जनाएको छ । साउन महिनाको पहिलो साताबाट माघ महिनाको अन्त्यसम्म बन्दाको धन्दा हुने यो क्षेत्रमा ६ महिनाको अवधिमा ४५ करोडभन्दा बढी भारतीय मुद्रा भित्रिने गरेको बजार व्यवस्थापक गुरुङको भनाइ छ ।

प्रकाशित : भाद्र ११, २०७६ ०७:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्