कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थपिँदै बैंक वित्तीय संस्था

माधव अर्याल

पाल्पा — जिल्लामा बैंक तथा वित्तीय संस्था थपिएको थपियै छन् । आइतबार मात्र नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले तिनाउ मिसन डेभलपमेन्ट बैंकको शाखा, नेपाल बैंक लिमिटेडको छहरा शाखा, नेपाल बैंककै युनाइटेड मिसन अस्पतालमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरे ।

थपिँदै बैंक वित्तीय संस्था

योसँगै जिल्लामा ४८ भन्दा बढी स्थानमा बैंक तथा वित्तीय संस्थाले कारोबार गरेका छन् । सबै १० तहमै बैंकबाट सेवा पुगेको छ । तानसेन, रामपुर, छहरा, ताहुँमा थपिने क्रम जारी छ ।


राष्ट्र बैंकका गभर्नर नेपालले बैंक तथा वित्तीय संस्थाहरू विकास निर्माणका संवाहक भएको बताए । उनले बैंकहरूले उत्पादन बढाउने क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए । तानसेनमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास र नेपाल बैंक लिमिटेडबाहेक पनि २३ वटा निजी क्षेत्रका बैंकले शाखा खोलेका छन् । विकास बैंक पनि छन् । दर्जनभन्दा बढी सहकारीले पनि बैंकले जस्तै कारोबार गर्छन् ।


तानसेनमा निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाले धमाधम शाखा विस्तार गरेका छन् । अझै बैंक थपिने क्रम जारी छ । कतिपयले अध्ययन गरेर फर्केका छन् । राष्ट्रिय वाणिज्य, कृषि विकास र नेपाल बैंकले सेवा दिइरहेको तानसेनमा २०६५ सालमा निजी क्षेत्रका वाणिज्य बैंकको प्रवेश भएको हो । त्यसबेलामा तत्कालीन उवासंघका अध्यक्ष भूषणध्वज राजलवटले निजी बैंक तानसेनमा ल्याउन पहल गरेका हुन् ।


उनले नेपाल इन्भेस्टमेन्ट बैंक संघकै भवनमा ल्याएर राखेका हुन् । प्रक्रिया अघि बढदा बढदै पहिलो पटक भने हिमालयन बैंकले शाखा विस्तार गर्न सफल भएको हो । ‘हामीले तयारी गर्दागर्दै हिमालयनले पहिला शाखा विस्तार गरेको हो,’ नेपाल इन्भेस्टमेन्ट बैंकका शाखा प्रबन्धक बाबुराम कँडेलले भने, ‘जे होस् १० वर्षदेखि नै बैंक तथा वित्तीय संस्थाका विषयमा बुझ्ने मौका मिलेको छ ।’


२०६५ अघिसम्म तानसेनमा एउटा भए पनि निजी बैंक चाहियो भन्दै उद्योग वाणिज्य संघका पदाधिकारी अनुरोधका लागि दौडधुप गर्थे । १० वर्षको अन्तरालमा बैंक तथा वित्तीय संस्था प्रवेशको लहड नै चल्यो । ‘अहिले बैंकको जिल्लामा शाखा विस्तार नगरी उपत्यकामा खोल्न नपाइने भएर पनि बढी शाखा बाहिर आएका होलान्जस्तो लाग्छ,’ उवासंघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले भने, ‘त्यो पनि एउटा कारण हुन सक्छ ।’ उद्योगी तथा व्यापारीले व्यापार व्यवसाय सञ्चालन गर्न समस्या भएपछि निजी बैंकका लागि माग गर्न काठमाडौं धाउने अवस्थामा अहिले ठूलो परिवर्तन आएको उनले बताए ।


‘बैंक आएनन् भन्दाभन्दै अहिले जतासुकै बैंक नै बैंक भइसकेका छन्,’ उनले भने, ‘अझ कति आउने हुन् भन्ने अवस्था आइसकेको छ ।’ विगतमा तानसेनमा सेवा दिने पश्चिमाञ्चल फाइनान्स लिमिटेड कुमारी बैंक भइसकेको छ । पश्चिमाञ्चल डेभलपमेन्ट बैंक मेगामा परिवर्तन भइसक्यो । हिमालयन, इन्भेस्टमेन्ट हुँदै एसबीआई बैंकले शाखा खोलेका थिए । किस्ट बैंक अहिले प्रभु बैंक भयो । बैंकको संख्या बढिरहँदा ग्राहक र सेवाग्राही भने द्रुततर गतिमा बढ्न सकेका छैनन् ।


इन्भेस्टमेन्ट बैंकका मात्रै झन्डै १४ हजार ग्राहक रहेको प्रबन्धक कँडेलले बताए । तर, उनको कर्जा लिने सेवाग्राही भने ४ सय मात्र छन् । ‘बैंक तथा वित्तीय संस्थालाई काम गर्न त्यति सहज भने छैन,’ उनले भने, ‘जति धेरै बैंक तथा वित्तीय संस्था थपियो, उति धेरै बैंकका कर्मचारीले दुःख पाउने अवस्था भएको छ ।’ १० वर्षअघि खुलेको र अहिले खोल्नेलाई त्यसै पनि सहज नहुने उनले बताए । ‘उद्योगधन्दा नभएकाले यहाँ लगानी निकै कम छ,’ उनले भने, ‘लगानी गर्नेभन्दा पनि निक्षेप संकलन गर्ने स्थान बनेको छ ।’ घर निर्माण, व्यापार कर्जामा बढी रकम जाने गरेको उनले बताए ।


तानसेन बजारका सेवाग्राही कुनै न कुनै बैंकमा आबद्ध भइसकेका छन् । पुरानो बैंकभन्दा नयाँ बैंकले के सुविधा दिन सक्छ भन्ने सेवाग्राहीले खोज्छन् । जनता बैंकको जिल्लामा पाँच स्थानमा शाखा खोलिसकेको छ । सरकारी नेपाल बैंक, रावाबैंकका पनि गाउँमा शाखा छन् । मेघा बैंकको तानसेन र रामपुर शाखा छ । अहिले बैंकको ऋण लगानीमा ध्यान छैन ।


नगरोन्मुख रामपुरमा पनि लगानी गर्नेछन् । अहिले रामपुरमा पनि आधा दर्जन बैंक छन् । त्यहीका सहकारीले बैंकले जस्तै लगानी गर्छन् । ‘तानसेनको बजार क्षेत्र पहिलाभन्दा धेरै साँघुरिएको छ,’ व्यापारी यादवसिंह कार्कीले भने, ‘पहिलाजस्तो अहिले व्यापार पनि छैन र लगानी गर्न पनि चाहँदैनन् ।’ उनका अनुसार तानसेनको बजारक्षेत्र खुम्चिएको छ । गाउँगाउँमा बजार फैलिएको छ ।

प्रकाशित : भाद्र १०, २०७६ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?