कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्यटनमन्त्रीको घोषणा : ज्येष्ठ नागरिकलाई हवाई यात्रामा ५० प्रतिशत छुट

आन्तरिक उडानमा यात्रु बिमांक रकम वृद्धि 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबीसै घण्टा सञ्चालन
सुरज कुँवर

काठमाडौँ — निजी क्षेत्रका वायुसेवा कम्पनी सहमत भएमा तीन महिनापछि ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत छुट दिइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सोमबार एकवर्षे कार्यक्रम सार्वजनिक गर्दै नागरिक उड्डयन प्राधिकरण र मन्त्रालयलाई यसबारे टुंगो लगाउन भनेका छन् ।

पर्यटनमन्त्रीको घोषणा : ज्येष्ठ नागरिकलाई हवाई यात्रामा ५० प्रतिशत छुट

आफ्नो कार्यकालमा पूरा गर्ने गरी १ सय ४१ वटा कार्ययोजना सार्वजनिक गरेका उनले आन्तरिक उडानमा यात्रु बिमांक रकम वृद्धिको विषय पनि उल्लेख गरेका छन् । ‘नेपाली यात्रुलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको बिमासम्बन्धी व्यवस्था गर्ने गरी कानुनको व्यवस्था गर्ने,’ भट्टराईले सार्वजनिक गरेको कार्ययोजनामा भनिएको छ । मन्त्रालयले ४ महिनामा कानुनको मस्यौदा बनाई मन्त्रिपरिषद्मा पेस गर्ने उल्लेख गरेको छ ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालनमा ल्याइने जनाउँदै उनले नेपाली वायुसेवा कम्पनीलाई युरोपियन युनियनले आफ्ना सदस्य मुलुकमा लगाएको प्रतिबन्ध हटाउन पहल गर्ने प्रतिबद्धता पनि जनाएका छन् । ६ महिनाभित्र यो काम सक्ने उनको योजना छ ।


‘विमानस्थल एप्रोन’ क्षेत्रमा गाडी निषेध

विमानस्थलको ‘एप्रोन क्षेत्र’मा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रधानन्यायाधीशका गाडीबाहेकलाई प्रवेश गर्न दिइनेछैन । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीलाई १५ दिनभित्र यसबारे कार्ययोजना बनाई लागू गर्न भनिएको छ । विमानस्थलमा हुने भीआईपी आवागमनबारे पनि २ महिनाभित्र नयाँ मापदण्ड बनाइसक्न निर्देशन दिइएको छ ।


विमानस्थलभित्र सञ्चालित पसलले खानेकुरा र पेयपदार्थको मूल्य मनपरी राख्न नपाउने भएका छन् । यात्रुहरूले चर्को मूल्य तिर्नुपरेको गुनासो गरेकाले यसबारे सुझाव दिन कार्यदल गठन गरिँदै छ । कार्यदलले प्रतिवेदन बुझाएपछि सोहीअनुसार मूल्यमा एकरूपता दिने तयारी छ ।


विदेशबाट फर्केका यात्रुलाई ३० मिनेटभित्र ब्यागेज उपलब्ध गराइने व्यवस्था गरिँदै छ । त्यसका लागि नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई ब्यागेज उपलब्धतामा ढिलाइ नगर्न मन्त्री भट्टराईले निर्देशन दिएका छन् । विमानस्थलका महाप्रबन्धक क्षेत्रीलाई पनि आन्तरिक टर्मिनल भवनमा पनि ब्यागेज बेल्ट जडान गर्ने व्यवस्था मिलाउन उनले भनेका छन् । यात्रु आउने र शव ल्याउने बाटो एउटै भएकाले मृतकका आफन्तका लागि छुट्टै प्रतीक्षालय र बाटो बनाउन पनि भट्टराईले निर्देशन दिएका छन् ।


विमानस्थलबाट सञ्चालन हुने ट्याक्सीको एकाधिकार तोड्न सार्वजनिक र पर्यटक बसलाई पनि भित्रैसम्म पहुँच दिने व्यवस्था गरिँदै छ । यसबारे अध्ययन गर्न नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशीसहित तीनवटा निकायलाई तीन महिनाको समयसीमा दिइएको छ । भम्रण वर्षअघि नै विमानस्थलसँग जोडिएको तीनकुनेदेखि गौशालासम्मको सडकको सौन्दर्यीकरण गरिनेछ । विमानस्थलभित्र रहेको नेपाल आयल निगमको इन्धन भण्डारण हटाउने विषय पनि मन्त्रीले कार्ययोजनामा समेटेका छन् । इन्धन भण्डारणलाई भूमिगत गर्न आवश्यक जमिन विमानस्थलले प्रबन्ध गरिदिने मन्त्रीको कार्ययोजनामा उल्लेख छ ।


मन्त्री भट्टराईले निगमका कार्यकारी अध्यक्ष खरेललाई ३ महिनाभित्र सबै विमान उडानमा ल्याउन भनेका छन् । तीन महिनाभित्रै निगमको वाइडबडी विमानको रियाद र गोन्जाउमा पनि उडान सञ्चालन गर्ने व्यवस्था मिलाउन भनिएको छ । कार्ययोजनामा निगमलाई सबै टिकट बिक्री प्रणालीलाई अनलाइनमा पनि लगेर यात्रुलाई उडानबारेका सूचना एसएमएस, इमेल अथवा टेलिफोनबाट उपलब्ध गराउन आग्रह गरिएको छ ।


मन्त्री भट्टराईले पशुपतिमा पूजा गर्न चाहने अशक्त तथा वृद्धवृद्धालाई चारै ढोकामा पुर्‍याउन तीन महिनाभित्र पूर्वाधार र हिवलचेयर राखिने भनेका छन् । पशुपतिनाथबारे एप बनाई ६ महिनाभित्र ई–पूजा गराउने योजना पनि उनको छ । देशभित्रै पाइलटलगायत जनशक्ति उत्पादन गर्न अन्तर्राष्ट्रियस्तरको फ्लाइङ स्कुल सञ्चालनमा ल्याउन सम्भाव्यता अध्ययन गरिने पनि कार्ययोजनामा उल्लेख छ ।


भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तथा प्राविधिक कार्य सन् २०१९ डिसेम्बरभित्र सम्पन्न गरिने र ३ महिनाभित्र परीक्षण उडान गरिने उनको दाबी छ । सबै प्रदेश राजधानीका विमानस्थललाई कम्तीमा ७० सिटभन्दा माथिका जहाज उडान तथा अवतरण गर्न सक्ने गरी स्तरोन्नति एवं विस्तार गरिने मन्त्री भट्टराईको योजना छ । प्रयोगमा नआएका विमानस्थललाई ‘एयर स्पोर्ट्स एक्टिभिटी सेन्टर’का रूपमा विकास गरिने उनको कार्ययोजनामा उल्लेख छ ।

प्रकाशित : भाद्र ९, २०७६ २१:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?