कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चार वर्षमा प्राधिकरणको आम्दानी दोब्बर

आम्दानी बढोत्तरीमा ग्राहक संख्या र विद्युत् खपतले योगदान गर्‍यो 
विमल खतिवडा

काठमाडौँ — चार वर्षमा नेपाल विद्युत् प्राधिकरणको आम्दानी दोब्बर भएको छ । ग्राहक संख्या र विद्युत् खपत बढेसँगै प्राधिकरणको अम्दानी वृद्धि भएको हो ।

चार वर्षमा प्राधिकरणको आम्दानी दोब्बर

आर्थिक वर्ष ०७२/०७३ मा प्राधिकरणको आम्दानी ३५ अर्ब ७२ करोड २३ लाख थियो गत वर्ष यो बढेर ७४ अर्ब ३४ करोड पुगेको छ । यो अवधिमा प्राधिकरणले ग्राहक संख्या पनि १० लाखले बढाएको छ ।


गत आर्थिक वर्ष प्राधिकरणले औद्योगिक ग्राहकबाट मात्रै २६ अर्ब ७० करोड २४ लाख आम्दानी गरेको थियो । यो प्राधिकरणले गत वर्ष गरेको कुल आम्दानीको करिब ३५ प्रतिशत हो ।


प्राधिकरणले गत वर्ष घरायसी ग्राहकबाट २५ अर्ब १९ करोड ८८ लाख आम्दानी गरेको छ । यो प्राधिकरणको गत वर्षको कुल आम्दानीको करिब ३४ प्रतिशत हो । प्राधिकरणका ३६ लाख ५७ हजार बढी घरायसी उपभोक्ता छन् । औद्योगिक ग्राहकतर्फ प्राधिकरणको ५२ हजार बढी ग्राहक छन् ।


प्राधिकरणका अनुसार सन् ०७२/०७३ मा औद्योगिक ग्राहकबाट १० अर्ब १८ करोड आम्दानी गरेको थियो । उक्त अवधिपछि प्राधिकरणले औद्योगिक ग्राहकबाट गर्ने आम्दानी निरन्तर वृद्धि भइरहेको छ । निरन्तर विद्युत्को आपूर्तिपछि औद्योगिक ग्राहकबाट प्राप्त हुने आम्दानी बढेको प्राधिकरणको विश्लेषण छ । औद्योगिक ग्राहकले बढी विद्युत्् माग हुने ‘पिक आवर’ मा विद्युत्् उपभोग गरेबापत बढी शुल्क तिर्नुपर्ने हुन्छ ।


प्राधिकरणका अनुसार पछिल्लो चार वर्षमा विद्युत् खपत पनि झन्डै दोब्बर भएको छ । आर्थिक वर्ष २०७२/७३ मा प्राधिकरणले कुल ३ हजार ७ सय गिगावाट आवर विद्युत् बिक्री गरेको थियो । गत आर्थिक वर्षमा यो बढेर ६ हजार ३ सय गिगावाट आवर पुगेको छ ।


उपभोक्ताले फ्रिज, एसीजस्ता बढी विद्युत् खपत गर्ने उपकरण प्रयोग गर्ने क्रम बढेसँगै विद्युत् खपत बढेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘सहरी क्षेत्रमा बढी विद्युत् खपत गर्ने उपकरणको प्रयोग बढदो छ,’ उनले भने, ‘आगामी वर्ष यस्तो क्रम झन् बढ्नेछ ।’


निर्माणाधीन विद्युत् आयोजना सम्पन्न भएसँगै आगामी वर्षदेखि उत्पादित विद्युत् वर्षायाममा खेर जाने प्राधिकरणको विश्लेषण छ । प्राधिकरणले चालु आर्थिक वर्षदेखि उपभोक्तालाई बढी विद्युत् खपत गर्न अभियान नै सञ्चालन गर्ने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।


चालु आर्थिक वर्षभित्रै निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसीलगायत विद्युत् आयोजना राष्ट्रिय प्रणालीमा जोडिए आन्तरिक खपतभन्दा बढी विद्युत् उत्पादन हुने भन्दै प्राधिकरणले भारतमा इनर्जी बैंकिङको प्रक्रिया अघि बढाएको उनले जानकारी दिए ।


‘हामी चार्जिङ स्टेसनको निर्माण र औद्योगिक ग्राहकलाई चाहिएजति विद्युत् उपलब्ध गराएर आन्तरिक खपत बढाउने योजनामा छौं,’ उनले भने, ‘अहिले पनि उद्योगहरूले मागेको करिब ३ सय मेगावाट विद्युत् उपलब्ध गराउन सकिएको छैन ।’ विराटनगर, बुटवल, नेपालगन्ज, नवलपरासीजस्ता उद्योग बढी भएका क्षेत्रमा विद्युत् वितरण लाइन अभावका कारण उद्योगले मागेअनुसारको विद्युत् पुर्‍याउन नसकिएको उनले जानकारी दिए ।


ऊर्जा मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा प्रतिव्यक्ति विद्युत् खपत १७७ बाट बढेर २४५ किलोवाट आवर पुगेको छ । मन्त्रालयले आगामी चार वर्षमा यसलाई बढाएर प्रतिव्यक्ति विद्युत् खपत दर १ हजार ५ सय किलोवाट आवर पुर्‍याउने लक्ष्य राखेको छ ।


गत वर्ष सबैभन्दा बढी विद्युत् घरायसी उपभोक्ताले खपत गरेको प्राधिकरणको तथ्यांक छ । घरायसी ग्राहकलाई गत वर्ष २ हजार ६ सय ८३ दशमलव ९७ गिवावाट आवर विद्युत् बिक्री गरिएको प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।


अघिल्लो वर्ष औद्योगिक क्षेत्रमा भने २ हजार ४ सय ३८ दशमलव ६ गिवावाट आवर बिक्री भएको थियो । पछिल्लो ४ वर्षमा औद्योगिक क्षेत्रले खपत गर्ने ऊर्जा दोब्बर भएको प्राधिकरणले जनाएको छ । तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ मा औद्योगिक क्षेत्रले १ हजार २ सय ५ गिगावाट आवर विद्युत् खपत गरेका थिए । गत आर्थिक वर्षमा भने यो बढेर २ हजार ४ सय ३८ गिगावाट आवर पुगेको छ ।

प्रकाशित : भाद्र ७, २०७६ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?