कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महँगियो सुन : रहर मेटाउन नक्कलीको भर

नुमा थाम्सुहाङ

काठमाडौँ — सक्कली सुन महँगिए पनि नक्कलीको भने बिक्री हवात्तै बढेको छ । सुनको जलप लगाइएका गहनाको व्यापार दुई सातामै २५ प्रतिशतले बढेको छ । झट्ट हेर्दा सक्कलीझैं देखिने भएकाले सस्तोमा नक्कली सुनका गहना खरिद गर्ने बढेका छन् ।

महँगियो सुन : रहर मेटाउन नक्कलीको भर
महिलाहरूको महत्त्वपूर्ण चाड तीजको समयमै सुनको भाउ अकासिएपछि रहर मेटाउन पनि नक्कली सुन किन्ने बढेका हुन् ।


सितापाइलाकी सानु शाक्यले मखन टोलको सोना शृंगार पसलबाट नक्कली सुनको गहना किनेको बताइन् । ‘सुन महँगो भयो त्यसैले यो किनेर लगाउने,’ उनले भनिन्, ‘सुन लाउनैपर्ने भो, अहिले महँगिएको अवस्थामा किन्न पनि नसकिने भो ।’ सस्तोमा नयाँ डिजाइनको गहना फेरीफेरी लगाउन पाइने उनको अनुभव छ ।

सुनका गहना बिक्री गर्ने ओमहरि श्रेष्ठ अहिले नक्कली सुनको व्यापार फस्टाएको बताउँछन् । ‘सक्कली सुन महँगिएपछि नक्कलीको व्यापार २५ प्रतिशतले बढेको छ । तीज पनि नजिक भएकाले व्यापार बढेको हो । सबैले सुन किनेर लगाउन पनि सक्दैनन्,’ श्रेष्ठले भने । ‘सुनभन्दा कम छैन, हराएमा डर छैन,’ भनेर सबैले नक्कली किनेर लगाउने गरेको उनले बताए ।

नक्कली सुनमा आफूलाई मन परेको डिजाइन रोजेर लगाउन पाइने भएकाले पनि ग्राहकहरूको आकर्षण बढेको छ । यसमा ग्राहक र व्यापारी दुवैलाई फाइदा हुने श्रेष्ठको बुझाइ छ । तीजको बेला गहना लगाएर मन्दिर वा बाहिर जाँदा कसैले चोरे पनि सुन नै हरायो भनेर डर मान्नु नपर्ने उनले बताए ।

कीर्तिपुरकी समीक्षा थापाले पनि इन्द्रचोकको पसलबाट नक्कली सुन किनिन् । सुनको रहर मेट्न नक्कली सुन किनेको उनले बताइन् । ‘सुनभन्दा सस्तो अनि लाउन नि राम्रो,’ थापाले भनिन्, ‘डिजाइन पनि फेरी फेरी लाउन पाइने । सुनको भाउ घडबढ भइरहन्छ यसमा त्यस्तो हुँदैन ।’

सुनको मूल्य बढिरहे रहे पनि नक्कली सुन किनेर लगाउनेलाई केही फरक नपर्ने उनले बताइन् । इन्द्रचोककै एनसीएस हाउसका रमेश पराजुलीका अनुसार सुनको भाउले नक्कलीलाई असर नपरे पनि केही मात्रामा भने व्यापार बढेको बताए । दिनमा २० हजार रुपैयाँ बराबरको कारोबार हुने पराजुलीको भनाइ छ । ‘कम मूल्यमा सुनजस्तै गहना लगाउन पाइन्छ,’ उनले भने ।

खस्कियो पोतेको व्यापार

नक्कली सुनको व्यापार बढे पनि पोतेको भने घटेको छ । तीज नजिकिए पनि पोतेले बजार लिन सकेको छैन । गत वर्ष साउनदेखि नै पोतेको व्यापार सुरु हुन्थ्यो । यो वर्ष भने भदौ लाग्दासमेत व्यापार हुन नसकेको पोते बजारका व्यापारीले बताए ।

‘गएको वर्षभन्दा ५० प्रतिशतले बजार घटेको छ,’ इन्द्रचोक पोते बजारका व्यापारी मुन्ना खानले भने, ‘साउनबाटै व्यापार बढ्नुपर्ने हो तर यसपालि भदौ लाग्दासमेत व्यापार हुन सकेको छैन ।’

अहिले दिनको १० हजार रुपैयाँसम्मको व्यापार हुने गरेको उनले बताए । ‘सुनको भाउ बढेकाले पनि पोतेको व्यापारमा असर परेको हो । पोते भनेकै सुनमा लगाउने हो । सुनको भाउ बढेलगत्तै यसको व्यापार पनि खस्किएको छ,’ खानले भने, ‘अहिले महँगी पनि बढेको छ । सुन नै महँगो भएपछि सुनको व्यापार पनि घटेको छ । अब ग्राहकलाई पुरानो तिलहरी भए पनि पोतेचैं नयाँ लिनुपर्छ भन्ने बेला आएको छ ।’

पेप्सीकोलाबाट तिलहरीका लागि पोते बनाउन आएकी सुभद्रा राजभण्डारी भन्छिन्, ‘महँगी भएर सुन किन्न नि मन छैन । त्यसैले पुरानो तिलहरीलाई नयाँ पोते बनाउन आएकी हुँ ।’ तीजमा सुनको छड्के तिलहरी फेसनजस्तै हो अब बनाएर लगाउने उनले बताइन् ।

चुरा, पोते सुनको व्यापार हुने भनेकै तीज नजिकिँदै गर्दा हो । तर सुनको भाउ बढेसँगै यसको बजार पनि सुस्ताएको छ । यो सँगै पोतेको बजारमा समेत असर परेको छ । सुनको भाउले चुरालाई प्रभाव नपारे पनि महँगीले यसको व्यापारमा पनि कमी आएको छ । साउनबाटै सुरु हुने चुराको व्यापार यो वर्ष भदौ लाग्दासमेत बढ्न नसकेको व्यापारीहरूको भनाइ छ ।

प्रकाशित : भाद्र ६, २०७६ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?