कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रेसम खेतीमा न प्रविधि न मूल्य

प्रमिता ढकाल

भरतपुर — चितवनमा व्यावसायिक रेसम खेती घट्दै गएको छ । जिल्लास्थित किम्बु नर्सरी विकास केन्द्रमा खेती गर्ने कृषक आउनै छाडेका छन् । गत वर्ष उनीहरूले केन्द्रबाट ४ लाख २६ हजार ७ सय किम्बुका बिरुवा खरिद गरे ।

नर्सरीमा रेसम खेती गर्ने कृषक आउन छाडेपछि बिरुवा बिक्री गरिएको केन्द्रले जनाएको छ ।


६ लाख २४ हजारभन्दा बढी बिरुवा माग भए पनि केन्द्रले दुई लाख कम बिरुवा मात्रै उपलब्ध गराएको छ । किम्बु नर्सरी विकास केन्द्रका प्राविधिक जीवन सापकोटाले बिरुवा उत्पादन कार्यक्रम नआएकाले थोरै मात्रामा तयार पारिएका मध्ये कृषकहरूलाई उपलब्ध गराएको बताए । मंसिरमा नर्सरी तयार गरी बिरुवा हुर्काएपछि जेठ–असारमा बिक्री गरिन्छ ।


आव ०७४/७५ मा १८ लाख बिरुवा लगाइएकामा १२ लाख ६७ हजार मात्र बिकेका थिए । जिल्लामा रेसम खेतीप्रति कृषकको आकर्षण पछिल्ला दिनमा घटदै गएको छ । केही वर्षअघिसम्म चितवनमा ३ सयको हाराहारीमा व्यावसायिक रेसम खेती गर्ने कृषक थिए ।


अहिले १५–२० जना मात्र छन् । मकवानपुरको बुढीचौरमा पनि १५ देखि २० जना कृषकले मात्रै उक्त व्यवसायलाई निरन्तरता दिँदै छन् । चितवनको माडीमा भने पछिल्ला दिनमा उत्साहपूर्ण माहोल छ । कृषकहरूरेसम खेतीतर्फ आकर्षित भइरहेका छन् ।


रेसम किराले किम्बु घाँस खाएपछि कोकुन उत्पादन गर्छ । कलिलो किम्बुको पातमा २४ प्रतिशत प्रोटिन पाइन्छ । एक बक्सा किराका लागि एक हजार किम्बुका बिरुवा आवश्यक पर्छ । काभ्रेको खोपासीस्थित रेसम विकास केन्द्रबाट किराका बक्सा ल्याएर चितवनका कृषकलाई उपलब्ध गराइन्छ । चितवनका कृषकले भने रेसमको कोकुन (रेसम कीराले किम्बु खाएर बनेको डल्लो) मात्र उत्पादन गर्छन् ।


ती कोकुन धागो उत्पादन गर्ने कार्यक्रम भएका जिल्लामा बिक्री गरिन्छ । कोकुनको मूल्य नहुँदा कृषकहरू निरुत्साहित भएको केन्द्रका अधिकृत एकबहादुर सापकोटाले बताए । ‘रेसम खेती कार्यक्रममा थुप्रै समस्या देखिएका छन्,’ सापकोटाले भने, ‘न त नयाँ प्रविधि भित्र्याउन सकिएको छ, न कृषकलाई आकर्षित गर्न मूल्य बढाउन सकिएको छ ।’


कृषकहरूले प्रतिकिलो २ सय ५० रुपैयाँमा कोकुन बेच्दै छन् । आम्दानीको दरिलो स्रोत बन्न नसकेकै कारण रेसम खेतीको आकर्षण घटेको कृषक उमानाथ सुवेदीले बताए । ‘पहिला निकै राम्रो आम्दानी हुन्छ भनेर खेती सुरु गरेका थियौं,’ सुवेदीले भने, ‘कोकुन मात्र उत्पादन गरेर नहुने रहेछ ।’


चितवनमा नै कोकुन उत्पादन गरी धागो तथा कपडा बनाउने उद्योग खोल्न सके केही आर्थिक परिवर्तन हुने उनले बताए । रेसम खेती नगदेबाली भए पनि सरकारले बेवास्ता गरेको सुवेदीको गुनासो छ । २०४९ मा रेसम खेती विकास कार्यालयका रूपमा चितवनमा स्थापना भएको कार्यालय २०६१ मा किम्बु नर्सरी व्यवस्थापन केन्द्र बनेको थियो ।


सोही कार्यालय २०७५ मा किम्बु नर्सरी विकास केन्द्रका रूपमा स्थापना भएको हो । सुरुमा कोरियाली संस्था कोइका र जापानी संस्था जाइकाले प्रवर्द्धन गरेको रेसम खेती ती निकायले साथ छोडेपछि सरकार आफैंले हेर्दै छ ।

प्रकाशित : भाद्र ६, २०७६ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?