कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बारीमै तरकारी बिक्री

चन्द्र कार्की

तेह्रथुम — लालीगुराँस नगरपालिका ४ फुलेकका किसान लिलम सुवेदीले ३ वटा प्लास्टिक टनेलमा टमाटर खेती गर्न थालेको ३ वर्ष भयो । प्लास्टिक घरभित्र टमाटर, बैगन, खुर्सानी, भिन्डीलगायत तरकारी बेमौसममा पनि खेती गरेर उनले वार्षिक १ लाख २० हजार रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन् ।

सुवेदीले उत्पादन गरेका तरकारी बिक्रीका लागि बजारसम्म पुर्‍याउनु पर्दैन । बारीबाटै बजारकै मूल्यमा बिक्री हुने गरेको उनले बताए । तरकारी खेतीबाट भएको आम्दानीले सुवेदीका ६ जना परिवारको पालनपोषण र पढाइ लेखाई राम्ररी चलेको छ ।


सोही वडाकी यामकुमारी सुवदीले घरसँगै जोडिएको २ रोपनी क्षेत्रफलमा अकबरे खुर्सानी खेती गरेर वर्षमा १ लाख रुपैयाँको हाराहारीमा आम्दानी गरिरहेकी छन् । खुर्सानी बिक्रीबाट हुने आम्दानीले उनले पनि ६ जनाको परिवारका लागि घर खर्च मजाले चलाइरहेकी छन् ।


सोही वडाको चित्रे गाउँका पोस्टराज रायमाझीले पनि झन्डै १५ रोपनी जग्गामा व्यावसायिक रूपमा बन्दा, काउली र मुला खेती गरिरहेका छन् । उनले व्यावसायिक तरकारी खेती सुरु गरेको दशक बढी समय हुन लागेको छ । तरकारी खेतीबाट उनले वार्षिक ७ देखि १० लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् ।


उनीहरू मात्र होइन, यहाँका हरेक घरका किसानले व्यावसायिक तरकारी खेती गरिरहेका छन् । यो गाउँबाट मात्र वार्षिक १२ करोड रुपैयाँ बढीको ताजा तरकारी पूर्वी तराई र भारतीय बजारतर्फ निर्यात हुने गरेको वडाध्यक्ष प्रेम गौतमले बताए ।


व्यावसायिक तरकारी खेतीबाटै फुलेकसहित लालीगुराँस नगरपालिकाका किसान आत्मर्निभर बन्दै गएका छन् । तरकारी खेतीबाट यहाँका प्रत्येक किसानले वार्षिक ३ लाखदेखि १५ लाख रुपैयाँसम्म घर भित्र्याउँदै आएको वडाध्यक्ष गौतमको भनाइ छ ।


किसानका अनुसार बेर्ना राखेर बारीमा रोपेपछि ३ देखि ४ महिनाको अवधिमा घरमा पैसा भित्रिन थाल्छ । नगर क्षेत्रका ४ भन्दा बढी गाउँ ताजा तरकारी उत्पादनका हिसाबले जिल्लामै अब्बल मानिन्छन् । यहाँका किसानले मकै र कोदो खेती छोडेर व्यावसायिक तरकारी लगाएका हुन् । तरकारी खेतीबाट भएको आम्दानीले पूर्वका बजारमा तरकारी बिक्रीका लागि ट्रकसमेत खरिद गरेको किसान रायमाझीले बताए । उनले पूर्वी तराईमा घडेरीसमेत जोडेका छन् ।


चित्रेकै श्याम गुरुङले पनि ३० रोपनी बढी क्षेत्रफलमा तरकारी खेती गरेका छन् । उनी प्रत्येक वर्ष १० लाख रुपैयाँभन्दा बढी तरकारी खेतीबाट आम्दानी गरिरहेका छन् । गुरुङका अनुसार फुलेक र चित्रका ९० प्रतिशत किसानले व्यावसायिक तरकारी खेती गरिरहेका छन् । यहाँका धेरै किसानले ताजा तरकारीलाई नै आम्दानीको मुख्य स्रोत बनाएका छन् ।


यहाँका किसान एकल मात्र नभई सामूहिक रूपमा समेत तरकारी खेतीमा लागेका छन् । किसान समूह र सहकारीमार्फत पनि व्यावसायिक तरकारी खेतीमा लगानी बढाएका छन् । तरकारी खेतीप्रति किसानको उत्साह देखेर तत्कालीन कृषि विकास कार्यालयले लामो समयसम्म गाउँमै आएर कृषक समूह र कृषि सहकारी गठनमा सहयोग गरेको थियो ।


कृषक समूह र सहकारीलाई तरकारीको बीउ, विषादी, अनुदानमा मल, सिँचाइका लागि पोलिथिन पाइप, प्लास्टिक पोखरी, बेमौसमी तरकारी खेतीका लागि प्लास्टिक घर, खेतबारी जोत्न हाते ट्याक्टर तथा प्राविधिक सल्लाह दिएर सहयोग गरिरहेको लालीगुराँस नगरपालिकाका कृषि शाखाकी प्राविधिक दिलकुमारी राईले बताइन् ।


तरकारीमा किसानको लगाव देखेर फुलेक गाउँलाई ताजा तरकारी उत्पादन पकेटका रूपमा विकास गरिरहेको प्राविधिक राईको भनाइ छ ।

प्रकाशित : भाद्र ६, २०७६ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?