सरकारी निकायबाट मात्रै चिनी आयात गर्ने तयारी

भन्सार छुटमा ३० हजार टन आयात गर्न मन्त्रिपरिषद्मा प्रस्ताव
राजु चौधरी

काठमाडौँ — व्यवसायीको दबाबमा सरकारले सरकारी निकायबाट मात्रै चिनी आयात गर्ने गृहकार्य सुरु गरेको छ । चिनी उद्योगीहरूले मौज्दात पर्याप्त रहेको जनाउँदै सरकारी निकाय वा सरकारबाट मात्रै आयात गर्न दबाब दिएपछि सरकारले पनि सोहीअनुसार तयारी गरेको हो ।


‘चाडबाडका लागि करिब ३० हजार टन चिनी अपुग देखिन्छ । उक्त परिमाण सरकारीको स्वामित्व रहेको साल्ट ट्रेडिङ र खाद्य संस्थान (खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड) बाट मात्रै आयात गर्न दिने गृहकार्य भएको छ,’ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले भने, ‘प्रस्ताव मन्त्रिपरिषद्मा दर्ता भइसकेको छ ।’

चिनी उद्योगलाई संरक्षण गर्ने नाममा गत असार मसान्तसम्म लगाइएको बन्देज साउन १ गतेदेखि स्वत: हटेको छ । परिमाणत्मक बन्देज साउनबाट स्वत: हटे पनि सरकारले परिपत्र गरेको छैन । व्यवसायीका अनुसार परिपत्र जारी नहुँदा आयातमा अन्योल नै छ । पुन: बन्देज हुने त्रासमा व्यवसायीहरूले आयात गरेका छैनन् ।

यही बीचमा चिनी उद्योग संघका उपाध्यक्ष राजकुमार अग्रवालले हस्ताक्षर गरेको निवेदनमा सरकार आफैं वा सरकारको अर्ध स्वामित्वमा रहेका निकायमार्फत ‘बफर स्टक’ का लागि बढीमा १० हजारदेखि १५ हजार टन चिनी आयात गर्न पत्रचार गरेको थियो । संघले अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि विकास तथा पशुपन्छी मन्त्रालयलामा निवेदन दिएको थियो । सरकारले सोहीअनुसार सरकारी निकायमार्फत मात्रै आयात गरेर पुन: नियन्त्रण गर्न खोजेको हो ।

ती अधिकारीका अनुुसार आयातका लागि तीन विकल्पमा छलफल भएको छ । पहिलो विकल्प सबैका लागि खुला गर्ने, दोस्रो मन्त्रालयले आफ्नो निकायमार्फत मात्रै आयात गरेर पुन: बन्देज लगाउने वा सबैका लागि खुला गरी सरकारी निकायलाई सहुलियत भन्सारमा आयात गर्न दिने मन्त्रालयले प्रस्ताव गरेको जनाएको छ ।

‘अहिले चिनी आयातमा ४० प्रतिशत भन्सार दर छ ।कतिपय कृषिजन्य वस्तु आयातमा भन्सार दर १ देखि ५ प्रतिशत मात्रै छ,’ ती अधिकारीले भने, ‘दसैंतिहारलाई लक्षित गरेर ४० प्रतिशतबाट छुट गरेर आयात गर्न सकिन्छ । उल्लेखित तीन बुँदामध्ये एउटा हुन्छ ।’ मन्त्रालयका सहसचिव नवराज ढकालले सरकारी संस्थानबाट चिनी आयातको सन्दर्भमा मन्त्रिपरिषद्मा दर्ता सुनेको बताए । ‘भन्सार छुटमा आयात गर्न दिने सन्दर्भमा मन्त्रिपरिषद्मा प्रस्ताव पेस भएको सुनेको छ,’ उनले भने, ‘कति छुट हुने सन्दर्भमा जानकारी छैन ।’

वाणिज्य अपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार घरायसी र उद्योग गरी मासिक २० हजार टन चिनी खपत हुन्छ । दसैं, तिहार र छठका लागि दुई महिना थप १० हजार टन चाहिन्छ । अहिले उद्योगीसग करिब ८५ हजार टन मौज्दात छ । खुद्रा बजारमा करिब २५ हजार टन रहेको जनाएको छ । ‘चाडबाड र नयाँ क्रसिङ सुरु नहुन्जेल करिब ३० हजार टन अपुग देखिन्छ,’ विभागका महानिर्देशक योगेन्द्र गौचनले भने, ‘उक्त परिमाण आयात सन्दर्भमा छलफलभएको छ ।’

हाल सरकारी स्वामित्वमा रहेको साल्ट्र ट्रेडिङ कर्पोरेसन्ससँग करिब २५ सय टन मात्रै मौज्दात छ । ‘छुटमा आयात गर्ने सन्दर्भमा चिठी प्राप्त भएको छैन,’ कर्पोरेसन्सका उपमहाप्रबन्धक कुमार राजभण्डारीले भने, ‘चिठी आए पनि एलसी खोलेर टेन्डर प्रत्रियाबाट आयात गर्दा दसैंअगाडि सस्तो मूल्यमा आयात सम्भव छैन ।’

उनका अनुसार सरकारी निर्णयकै कारण गत वर्ष आयात हुने क्रममा रहेको चिनी भन्सारमै रोकियो । गत वर्षको चिनी ३ महिनाअघि ६ करोड बुझाएर भन्सार छुटाएको राजभण्डारीले बताए । ‘त्यसमा प्रतिकिलो २० रुपैयाँ नोक्सान भएको छ,’ उनले भने, ‘सबै लागत जोडेर बिक्री गर्दा केही महँगो हुन्छ ।’

सरकारी निकायले चिनी अपुग भएको बताए पनि उद्योगीहरू भने बिक्री हुन नसकेको बताउँछन् । भारतमा प्रतिकिलो ३४ रुपैयाँमै पाइने हुँदा चिनीको तस्करी भइरहेको उनीहरू बताउँछन् । तस्करीबाट आयातित चिनीका कारण उद्योगीहरूको बिक्री हुन नसकेको उनीहरू बताउँछन् । संघका अनुसार उद्योगीहरूसँग मात्रै करिब ८५ हजार टन चिनी मौज्दात छ ।

प्रकाशित : भाद्र ५, २०७६ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्

फेसबुकबाटै लाखौं ठगी

२ सयजनाको उजुरी
८ सय ठगिएको अनुमान
पर्वत पोर्तेल

काँकडभिट्टा — बुटवलका २४ वर्षीय गुन्जबहादुर पल्लीलाई फेसबुक मेसेन्जरमा कसैले हेल्लो भन्यो । अपरिचित भए पनि उनले अभिवादन फर्काए । गफ हुँदै थियो, महेशजंग थापा नामका ती व्यक्तिले पल्लीलाई केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटेको कुरा सुनाए ।



उनले पनि ‘हुन सक्छ’ भने । दिनदिनै गफ हुँदै थियो । महेशको फ्रेन्ड रिक्वेस्ट उनले स्विकारे । एक दिन मेसेन्जरमा महेशले भने, ‘म क्यानाडा बस्छु, उतैको पीआर छ । तपाईं पनि जानुहुन्छ भने म स्पोन्सर गर्न सक्छु ।’ छक्क परेका पल्लीले सोधे, ‘कति पैसा लाग्छ ?’ महेशले भने, ‘पैसाको चिन्ता लिनु पर्दैन, पैसा ठूलो कुरा हैन ।’

मेसेन्जर कुराकानीबाटै पल्ली क्यानाडा जान मञ्जुर भए । सुरुमा ३ लाख दिने, बाँकी एक लाख पछि कमाएर दिँदा हुन्छ भनेर उनलाई महेशले झापा बोलाए । तीन लाख बोकेर उनी आए । बिर्तामोडमा भेट भयो । ‘भारत जान पैसा साट्नुपर्छ, तपाईं कपाल काट्दै गर्नुस्’ भन्दै सबै पैसा लिएर उनी बेपत्ता भए । फोन गरे, लागेन । लामो समय पर्खिंदा पनि नआएपछि पल्लीले आफूठगिएको भन्दै प्रहरीलाई उजुरी दिएर घर फर्किए ।

बुटवलकै २३ वर्षीय सुविन अर्यालको कथा पनि उस्तै छ । ४ वर्ष दुबई बसेर फर्किएका थिए । हालैको एक दिन अपरिचितको फ्रेन्ड रिक्वेस्ट आयो महेशजंग थापा नामको फेसबुक आईडीबाट । पल्ली जसरी नै अर्यालले पनि मित्रसूचीमा जोड्नुअघि थापा भनिएकासँग म्यासेन्जरमा कुरा गरेका थिए । महेशले उनलाई पनि क्यानाडा जाने अफर गरे । आफू क्यानाडाको पीआर भएको र जान चाहँदा स्पोन्सर गर्न सक्ने बताए ।

अहिले २ लाख दिए हुने सल्लाह मिलेपछि अर्याल सस्तोमै क्यानाडा जान पाइनेमा मक्ख परे । गत साउन १९ मा पैसा बुझाउन १२ घण्टा लामो यात्रा गरेर उनी झापाको काँकडभिट्टा ओर्लिए । फोनमा महेशले पैसा लिएर मेची पुलपारि आउन भनेपछि अर्यालले वारि नै बोलाए । महेश आए ।

पैसा लेनदेन हुनै लाग्दा दुवैलाई सादा पोसाकका प्रहरीले नाकाबाटै नियन्त्रणमा लियो । अर्याल भोलिपल्टै छुटे, थापा प्रहरीको हिरासतमा छन् । आफूलाई महेशजंग थापा बताउने मोरङको उर्लाबारी–७ बरगाछीका ३५ वर्षीय रामबहादुर खड्का भएको खुलेको छ ।

फिल्मी कथाजस्तो लाग्ने यी दुई घटनाले वैदेशिक रोजगारीका नाममा ठगी गर्नेले कसरी नयाँ शैलीबाट ठगी गरिरहेका छन् भन्ने खुल्छ । खड्काले महेशजंग, विश्वजित थापा, आरभ थापा, उज्ज्वल थापा र प्रवीण थापालगायत नामका फेसबुक आईडीबाट पल्ली र अर्यालजस्ता धेरैलाई ठगी गर्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

खासगरी खाडी मुलुकमा काम गर्दै गरेका र घर फर्किएर बेरोजगार बसेका युवालाई लक्षित गरेर यस्तो ठगी गरेको देखिन्छ ।

खड्काले १४ वर्षदेखि अध्ययनका लागि क्यानाडा आएको र बिहे गरी पीआर लिएको भन्दै युवालाई ठग्दै आएको खुलेको छ । उनले ठग्ने क्रममा क्यानाडामा आफ्नै लगानीमा २/४ वटा क्याफे सञ्चालन गरेको र नेपालीहरूलाई रोजगारी दिइरहेको बताउने गरेका थिए । आफू गैरआवासीय नेपाली संघ क्यानाडाको पदाधिकारीसमेत रहेको उनले बताउने गरेका छन् ।

उनले क्यानाडा जान जम्मा ३ लाख भिसाका लागि र १ लाख जति टिकटका लागि लाग्ने भन्दै २ देखि ३ लाखसम्म असुलेको प्रहरीले फेला पारेको छ । खडकाले सन् २०१२ देखि नै फेसबुकमा पाँचवटा ‘फेक एकाउन्ट’ खोलेर त्यसमार्फत सम्पर्क गर्दै ठगी गर्दै आएको खुलेको प्रहरीले जनाएको छ । हालसम्म करिब ८ सय जनालाई ठगी गरेको हुन सक्ने भन्दै प्रहरी अनुसन्धान गरिरहेको छ ।

‘उनको फेसबुक आईडी हेर्दा आठ सयजना जतिलाई ब्लक गरेको देखिन्छ,’ इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी मोहन थापाले भने, ‘यसलाई आधार मान्दा करोडांै रुपैयाँ असुली गरेको हुन सक्छ ।’ खड्काविरुद्ध इलाका प्रहरी कार्यालय बिर्तामोड, दमक, धुलाबारी र काँकडभिट्टामा सय वटाभन्दा बढी उजुरी परेका छन् ।

प्रहरीका अनुसार उनले मेसेन्जरमा फकाएपछि क्यानाडा जान इच्छुकको डकुमेन्ट माग्ने र तिनै डकुमेन्टका आधारमा सिम कार्ड लिएर फोन गर्ने गरेको खुलेको छ । ‘पैसा लिइसकेकापछि सिम कार्ड नष्ट गर्ने र फेसबुकबाट तिनीहरूलाई ब्लक गर्ने गरेको पाइयो,’ डीएसपी थापाले भने । खडकाविरुद्ध प्रहरीले ठगी मुद्दा दायर गरेको छ । एउटा ठगी मुद्दा फैसला हुँदा कसुरवार ठहर भए ७ वर्ष जेल र ७० हजारसम्म जरिवाना हुने व्यवस्था छ ।

प्रकाशित : भाद्र ५, २०७६ ११:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्