कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उद्योग बन्द, निर्यात सुस्त

सुवास बिडारी

मकवानपुर — देशकै ठूलो क्षेत्रफलमा फैलिएको हेटौंडा औद्योगिक क्षेत्रभित्रका उद्योगहरू धमाधम बन्द भएपछि निर्यात व्यापारमा कमी आएको छ । दस वर्षअघिको तुलनामा दर्जनाैं निर्यातजन्य उद्योग बन्द भइसकेका छन् ।

उद्योग बन्द, निर्यात सुस्त

भएका केही ठूला उद्योगहरू पनि थिलोथिलो अवस्थामा छन् । भारतीय तथा तेस्रो मुलुकका उद्योगहरूसँग प्रतिस्पर्धा गर्न सकिरहेका छैनन् ।

औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति सोप लामो समय बन्द भयो । करिब ६ महिनाअघिदेखि पुन: उत्पादन थाले पनि भारत तथा तेस्रो मुलुकमा निर्यात भने गर्न सकेको छैन । युनिलिभर नेपाल, एसियन पेन्टस, एन्टार्टिक बिस्कुटजस्ता बहुराष्ट्रिय उद्योगले पनि करिब पाँच वर्षदेखि आफ्नो उत्पादन निर्यात नगरी नेपालमा मात्रै व्यापार सीमित राखेका छन् । गोर्खा लाहारी प्रालिले पनि एक वर्षदेखि आफ्नो उत्पादन भारत निकासी बन्द गरेको छ ।

बर्सेनि करोडौंको उत्पादन निकासी गर्ने बहुराष्ट्रिय कम्पनी कोलगेट पाल्मोलाइभ नेपाल प्रालि, एभरेस्ट मिनरल प्रोडक्ट, मकवानपुर इन्जिनियरिङजस्ता उद्योगहरू बन्द भइसकेका छन् । यस्तै एभरेस्ट पोलिमर्स, एभरेस्ट भिनाइल, रिज्वाइन क्वालिटी फुड, एसिएन लेदर आर्टस एन्ड टानिङ जस्ता उद्योगहरू पनि केही वर्षअघिदेखि अस्तित्वमा छैनन् ।

दशकअघिको तुलनामा मकवानपुरको निर्यात व्यापारमा झन्डै ७७ प्रतिशतले गिरावट आएको मकवानपुर उद्योग वाणिज्य संघको तथ्यांकमा उल्लेख छ । आव ०६५/६६ मा मकवानपुरबाट २८ वटा उद्योगले भारत तथा तेस्रो मुलुकमा आफ्नो उत्पादन निकासी गरेकामा आव ०७५/७६ सम्म आइपुग्दा ४ वटा मात्र उद्योगले निर्यात गरेका छन् ।

संघको तथ्यांकअनुसार आव ०६५/६६ मा मकवानपुरबाट १ अर्ब २७ करोड १५ लाख ६५ हजार रुपैयाँको उत्पादन भारत तथा तेस्रो मुलुकमा निकासी भएकामा ०७५/७६ सम्म आइपुग्दा २८ करोड ३४ लाख ७६ हजारमा झरेको छ ।

दशकअघि मकवानपुरका क्रसरजन्य सामग्री निकासीबाट पनि निर्यात व्यापारमा टेवा पुगेको थियो । सरकारले क्रसरजन्य उत्पादन भारतलगायत तेस्रो मुलुकमा निकासी गर्न बन्द गरेसँगै निर्यात व्यापारमा भारी गिरावट आएको संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिए ।

कटुवालका अनुसार गत वर्ष चारवटा उद्योगले मात्र भारतमा आफ्ना उत्पादन निकासी गरेका छन् । सीएसआई नेपाल प्रालिले बोतलको बिर्को करिब २५ करोड १५ लाख २२ हजार रुपैयाँका, नेपाल इकरात इन्जिनियरिङले ३ करोड ७ लाख ४४ हजार रुपैयाँको ट्रान्सफरमर, टेन माइक्रोन्स नेपाल प्रालिले पनि ११ लाख ७० हजारको तथा एमएम पोलिमर्सले ३८ हजार रुपैयाँको सामान मात्र भारत निर्यात गरेको छ । ठूला विदेशी उद्योगहरूसँग प्रतिस्पर्धा गर्न नसकेकै कारण नेपालको औद्योगिक उत्पादनको निकासी घटेको उद्योग संघ हेटौंडाका अध्यक्ष नवराज अर्यालको भनाइ छ ।

प्रकाशित : भाद्र ५, २०७६ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?