कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाइडबडीको ओसाका उडान भदौ १२ मै

काठमाडौँ — नेपाल वायुसेवा निगमले भदौ १२ गते तय गरेको काठमाडौं–ओसाका–काठमाडौं उडान रद्द नहुने जनाएको छ । निगममा मंगलबार पत्रकार सम्मेलन गर्दै कार्यकारी अध्यक्ष मदन खरेलले १२ वर्षपछि सुचारु हुन लागेको उडानको मिति अब नसर्ने दाबी गरे । ‘सबै तयारी सकियो, वाइडबडीबाट भदौ १२ गते पहिलो उडान हुन्छ,’ उनले भने ।

वाइडबडीको ओसाका उडान भदौ १२ मै

निगमले ०५१ कात्तिक १३ गते काठमाडौंबाट चीनको सांघाई हुँदै जापानमा १२ वर्ष उडान गरेको थियो । निगमसँग भएका दुईवटा अमेरिकी बोइङ कम्पनीका न्यारोबडी ७५७ बाट निगमले सांघाईमा इन्धन भरेर (इन–डाइरेक्ट) उडान गर्थ्यो । तर, जहाज अभाव तथा व्यवस्थापकीय कमजोरीका कारण निगमले ०६३ चैत २९ मा ओसाका उडान स्थगन गरेको थियो ।


निगमले यसअघि असार १९ गतेदेखि ओसाका उडान गर्ने घोषणा गर्दै टिकट बिक्री खुला गरेको थियो । २ सय ७४ सिट क्षमताको वाइडबडीका लागि दर्जन हाराहारी पनि टिकट बिक्री नभएपछि निगमले मिति सारेको थियो । निगमको वाणिज्य विभागका निर्देशक टंकनिधि दाहालले यसपटक उडानको तालिका नसारिने बताए । उनले यसअघिको उडान रद्द हुनुको प्रमुख कारणमध्ये गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष देवमान हिराचन भएको बताए । ‘असारमा उडान रद्द गर्नुमा कमजोर लोडिङ त थियो नै, जापानमा संयोजन गर्न तोकिएको कम्पनीले धोका दियो,’ उनले भने ।


निगमले ०७४ जेठमा जापानमा प्राविधिकलगायत सहायतका लागि हिराचनको अशुका ट्राभल एन्ड टुर्स प्रालिसँग समझदारी गरेको थियो । यस कम्पनीले जापानका लागि सोलो बिक्री एजेन्ट माग्दै आएको थियो । निगमले नदिएपछि सर्वोच्च पुगेको अशुकाको रिट खारेज भएको छ ।


निगमका एक अधिकारीका अनुसार मंगलबारसम्म दर्जन हाराहारी टिकट मात्रै बिक्री भएका छन् । ‘पहिलो उडानमा निगम, मन्त्रालय, प्राधिकरणलगायत निकायका कर्मचारी निगमकै निम्तोमा भ्रमणमा जान लागेकाले करिब दर्जन टिकट बिक्री भएको देखिएको हो, वास्तविक बिक्री भएको छैन,’ ती अधिकारीले भने, ‘एक सातामा कति हुन्छ, हेरौं ?’


पत्रकार सम्मेलनमा वाणिज्य निर्देशक दाहालले पहिलो उडानमा १ सय हाराहारी यात्रु रहने दाबी गरे । जापान सरकारले निगमलाई ओसाकामा मात्रै नियमित उडानको अनुमति दिएको छ । ओसाका राजधानी टोकियोदेखि ६ सय किलोमिटर दूरीमा पर्छ ।


यी दुई सहरको सडक यात्रा साढे ७ घण्टा हाराहारीको पर्छ । सातामा तीन दिन हुने उडानका लागि एकतर्फी भाडा ३६ हजार ९ सय ९९ रुपैयाँ कायम गरिएको छ । दसैंअघिसम्मका लागि यो प्रवर्दनात्मक भाडादर हो । मंगलबार, बिहीबार र शनिबार हुने उडानको एकतर्फी हवाई समय साढे सात घण्टा हाराहारीको हुने भनिएको छ ।


प्रकाशित : भाद्र ४, २०७६ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?