कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

असिनाले मकै सोत्तर, खडेरीले धान

दिप्ती सिलवाल

पर्वत — गत जेठ पहिलो साता आएको असिनाले मकै सोत्तर पार्दा फलेबास–३ की भीमकुमारी जैसी उतिसारो हतोत्साही थिइनन् । १२ रोपनी खेतमा धान रोप्न बाँकी थियो । धानको बीउ उम्रेर हरियो भइसकेको थियो । ‘मकै राम्रै फल्दा पनि बाँदरले राख्दैनथ्यो,’ उनले भनिन्, ‘बाँदरले खाने मकै असिनाले खायो भनेर चित्त बुझाएँ । अहिले धानको बीउ काटेर भैंसीलाई खुवाउनुपरेको छ । हिउँदमा के खाने ?’ 

असिनाले मकै सोत्तर, खडेरीले धान

भीमकुमारीको मात्रै होइन, स्थानीय धेरै किसान रोपाइँ गर्न नपाएर चिन्तित छन् । यज्ञ पौडेल, होमप्रसाद भुसाल, क्षेत्रप्रसाद गौंडेललगायत २५ जनाभन्दा बढी किसानले यो वर्ष धान रोप्न पाएनन् । गत वर्ष कृषि प्राविधिकले सिफारिस गरेको धानमा बाला नलागेपछि रन्थनिएका किसान हिउँदको असिना र अहिलेको खडेरीले झनै पीडित छन् ।

असिनापानीले क्षति पुर्‍याएका फलेबासको रुग्दी, पुर्कोट, चाम्लेस्वाँरा, कार्कीथर, मैदान, डाँडाका किसानले धान रोप्न पाएका छैनन् । त्यस्तै मोदी गाउँपालिकाको भुम, ओखलढुङ्गा, बाउसे, खबरा, बाजुङ, ठाँटी, साउनेपानी, धारापानी, चित्रेका अधिकांश किसानले धान रोपेनन् । कुश्मा नगरपालिकाको चुवा, परादी, ठुलीपोखरी, छमर्के, खौलालगायतमा पनि अधिकांश खेत बाँझै छन् ।

बिहादीको रानीपानी, बर्राचौर, कुँडादी, पराजुलीथर लगायतमा रोपेको धान पनि सुक्दै गएको किसानले बताए । ‘आठ हलमध्ये तीन हलमा मुस्किलले गाबो गाडेका थियौं,’ बिहादी–३ का केशव पराजुलीले भने, ‘त्यो पनि भिजाउनै सकिएन । धान रोपेको ठाउँमा बोके फुलेको छ । रोपो हरायो ।’ मोदी–६ तिलाहारका गजेन्द्रबहादुर मल्लले भएभरको खेत बाँझिएको बताए । ‘असिनाले मकै सोत्तर पार्‍यो,’ मल्लले भने, ‘खडेरीले धान । अब कसरी परिवार पाल्ने ?’

कृषि ज्ञानकेन्द्रका अनुसार असिनाले मोदीमा मात्रै ३ करोड ७३ लाख ९० हजार ७८० रुपैयाँको बाली नष्ट गरेको थियो । फलेबास नगरपालिकामा २ करोड २० लाख २९ हजार ४२० रुपैयाँको बालीनाली नष्ट गरेको थियो । साउन सकिएर भदौ लाग्दा समेत असिनाले क्षति पुर्‍याएकै गाउँमा वर्षा भएको छैन । एक–दुई दिन बिराएर भएको हल्का वर्षामा पनि मनसुनको झल्को छैन । ‘पल्लो गाउँमा परेको पानी यता आउँदैन,’ मोदीका रामबहादुर परियारले भने, ‘बिहान पानी पर्लाजस्तो भएर हलगोरु लिएर खेतमा जान्छौं । दिउँसो टन्टलापुर घाम लाग्छ । धेरै दिन यस्तो भएपछि सबै खेत बाँझै छ ।’

असार र साउनमा परेको पानीले लेकाली क्षेत्रमा समेत मूल फुट्नुपर्ने हो तर विगतका वर्षमा ठुल्ठुला मूल फुट्ने ठाउँ अहिले सुक्खा छन् । वर्षाले धानखेती नभएपछि हिउँदमा भोकभोकै बस्नुपर्ने समस्या भएको किसानको गुनासो छ । असार र साउनमा पर्याप्त वर्षा नभएका कारण जिल्लाको १५ प्रतिशत बढी धानखेतमा रोपाइँ हुन नसकेको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।

रोपाइँका लागि आवश्यक पानी नभएकाले खेत ढिलो रोपिएको र केही खेत बाँझो रहेको ज्ञानकेन्द्र प्रमुख बासुदेव रेग्मीले बताए ।

जिल्लाका मुख्य धान फल्ने क्षेत्रको स्थलगत अवलोकन गरेका रेग्मीले बुढो बीउ, ढिलो रोपाइँ र खडेरीले रोप्न नपाउँदा उत्पादन पनि घट्ने सम्भावना रहेको बताए । पर्वतमा करिब ९ हजार हेक्टर क्षेत्रफल वर्षे धानखेतीका लागि योग्य छ ।

पानी अभाव, उत्पादनयोग्य जमिनको प्लटिङ, सडक विस्तारका नाममा भएको भूक्षय र खेतको नोक्सान, बसाइँसराइ, कृषि मजदुर अभावलगायत कारण ८ हजार ७ सय हेक्टर क्षेत्रफलमा मात्र धान लगाउने गरिएको तथ्यांक छ । पर्वतमा प्रतिहेक्टर जमिनमा २.८ मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।

प्रकाशित : भाद्र ३, २०७६ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?