दूध किसानलाई आधा मूल्य

अमृता अनमोल

बुटवल — रूपन्देहीको तिलोत्तमा नगरपालिका शंकरनगरका किसान खिमलाल पाण्डेले दैनिक ८० देखि ९० लिटर गाईको दूध बेच्छन् । उक्त दूध शंकरनगर दुग्ध उत्पादक सहकारी संस्थाले ४५ देखि ५० रुपैयाँ प्रतिलिटरमा किन्छ ।

रुपन्देहीको शंकरनगरकी किसान कमला कुमारी वस्याल दूध दुहुँदै । तस्बिर : अमृता/कान्तिपुर

सहकारीले भने किनेको केहीछिनमै ६५ रुपैयाँ प्रतिलिटरमा बेच्छ । करिब ३ किलोमिटर परको बुटवल बजारमा आउँदा त्यही दूधको मूल्य ८० रुपैयाँ प्रतिलिटर पर्छ ।

‘आँखैअगाडि ठगिएको छु तैपनि सहकारीमै दूध नबेची सुख छैन,’ उनले भने, ‘एकैपटक धेरै दूधबेच्नुपर्ने भएकाले अरू उपाय छैन ।’ भैंसीको दूध बेच्ने किसानले पनि दूधअनुसारको मूल्य पाएका छैनन् । यसमध्येकी हुन् सैनामैना नगरपालिका–१० सालझन्डीकी किसान गीता शर्मा । उनले दैनिक २० लिटर भैंसीको दूध बेच्छिन् । उक्त दूध सालझन्डी दुग्ध उत्पादक सहकारी संस्थाले किन्छ ।

फ्याट र ठोस पदार्थअनुसार त्यसको मूल्य ५५ देखि ६० रुपैयाँ पर्छ । त्यही दूध बजारमा ८० रुपैयाँ प्रतिलिटरमा खोसाखास छ ।
सहकारी तथा निजी डेरीहरूले किसानको दूधको मूल्य चिल्लो र ठोस पदार्थ (फ्याट) का आधारमा तय गर्छन् । उपभोक्ताले भने जस्तोसुकै दूधलाई पनि उही मूल्य तिर्नुपरेको छ ।

रूपन्देहीका डेरीहरूमा दूधको दुईथरी मूल्यसूची राखिएको छ । त्यसमा गाई वा मिक्स दूध ७० र भैंसीको दूध प्रतिलिटर ८० रुपैयाँ उल्लेख छ । यसअनुसार तीन प्रतिशत चिल्लो पदार्थ र आठ प्रतिशत ठोस रहेको दूधको बजार मूल्य ७० रुपैयाँ प्रतिलिटर हुनुपर्ने हो ।

यहाँका अधिकांश डेरीले गाई र भैंसीको भनेर छुट्टाछुट्टै दरमा दूध बेच्दैनन् । सबै दूध भैंसीको मूल्यअनुसार ८० रुपैयाँ प्रतिलिटरमा बेचेका छन् । यसले किसान र उपभोक्ता ठगिएका छन् । बिचौलिया मात्रै मालामाल भएका छन् ।

डेरी एसोसिएसन प्रदेश ५ का अध्यक्ष कृष्ण भट्टराईले सरकारले सहकारी र डेरीहरूको अनुगमन नगर्दा बिचौलिया प्रवृत्ति मौलाउँदै गएको बताए । ‘फ्याट र चिल्लो पदार्थका आधारमा दूधको गुणस्तर र मूल्य कायम हुन्छ । सबै सहकारी र व्यापारीले यसैगरी दूध किनेका हुन्छन्,’ उनले भने, ‘आफूले गाईको वा कम फ्याटको किनेर बढी फ्याट हुने भैंसीकोदूधका नाममा बेच्नु गलत हो ।’

सहकारीले कति र डेरी व्यवसायीले कति फाइदा राखेर दूध बेच्ने सरकारले स्पष्टखाका नबनाउँदा पनि किसानहरू समस्यामा परेको उनले दाबी गरे ।

तीनै तहका सरकारले किसानलाई ठगिन नदिन सरकारीमार्फत उत्पादन र बजारीकरणको योजना अगाडि सारेका छन् । कतिपय नाम चलेकै सहकारी किसानमैत्री छैनन् । केही जान्नेबुझ्नेले दूधको मूल्य तय गर्ने र किसानलाई ठग्ने गरेका छन् । यसले गर्दा दूध किसान मर्कामा परेका हुन् ।

सैनामैनाको रामापुरका दूध उत्पादक किसान नारायण पौडेलले सहकारी सञ्चालक प्रत्यक्ष रूपमा दूध उत्पादनमा सहभागी नभएका हुँदा दूध उत्पादक सहकारीबाटै पनि किसान ठगिएको बताए । ‘धेरै सहकारी व्यापारी र बिचौलियाको जिम्मामा छन्,’ उनले भने, ‘यसमा सुधार्न सके किसान ठगिनबाट बच्नेछन् ।’

दूधमा कति फाइदा लिने ? यसको स्पष्ट सरकारी नीति छैन । प्रदेश ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पशुपन्छी शाखा प्रमुख डा. प्रदीप शर्मा पौडेलले किसानबाट किनेको दूधको १० प्रतिशतभन्दा धेरै फाइदा राख्न नहुने बताए ।

प्रकाशित : श्रावण ३०, २०७६ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्

‘विषादी प्रयोगबारे कृषकमा जानकारी कम’

कान्तिपुर संवाददाता

सुनसरी — विषादी प्रयोगबारे कृषकमा कम ज्ञान रहेको एक सर्वेक्षणमा पाइएको छ । कृषकहरूले लगाएको बालीनालीमा लाग्ने कीटपतंग नाश गरेर बढी उत्पादन गर्न कीटनाशक विषादी प्रयोग गर्दै आएका छन् ।

पूर्वका विभिन्न स्थानमा हालै भएको सर्भेका अनुसार विषादी प्रयोगबारे कृषकहरूमा खासै ज्ञान नभएको पाइएको छ । फोरम फर हेल्थ रिसर्च एन्ड डेभलपमेन्ट (एफएचआरडी) का अध्यक्षसमेत रहेका केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका माइक्रोबायोलोजी विभाग प्रमुख धिरेन लिम्बुले भने, ‘सर्भेमा विषादी प्रयोग गर्ने कृषकमध्ये विषादीले मानव स्वास्थ्यमा पार्ने असरबारे ६३ दशमलव ८ प्रतिशत अनभिज्ञ रहेको पाइयो ।’

कतिपय विषादीको असर तत्कालै नदेखिने भएकाले जथाभावी बिक्री वितरण र प्रयोगलाई निरुत्साहित गर्नुपर्ने लिम्बुले बताए । उनले भने, ‘आज प्रयोग गरिएको विषादीको परिणाम लामो समयपछि पनि देखिन सक्छ ।’

कतिपयले विषादी प्रयोग गर्दा सुरक्षाको उपायबारे जानकार नभएको बताएका थिए । ८५ दशमलव ४१ प्रतिशत कृषकलाई विषादी प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षाबारे कुनै जनाकारी नभएको पाइएको लिम्बुले बताए । कृषकले विषादी प्रयोग गर्दा विषादी बिक्री गर्ने पसलले र छिमेकीले भनेको भरमा अन्नबाली फलफूल तरकारीमा प्रयोग गर्ने गरेको पाइएको छ । उनले भने, ‘विषादी प्रयोग गर्ने तर तालिम भने १ दशमलव ३८ प्रतिशतले मात्र लिएको पाइयो ।’ सर्भेमा १ सय ४४ कृषक सहभागी थिए ।

धनकुटामा रहेका ७ विषादी पसल सबैले आधिकारिक रूपमा दर्ता गरेका भए पनि धरानका २० विषादी पसलमध्ये सातवटाले दर्ता नगरी सञ्चालन गरेको पाइएको थियो । सर्भेमा किराना पसलले पनि विषादी बिक्री गर्ने गरेको पाइएको थियो ।

कृषकहरूलाई विषादी प्रयोग गर्ने सही तरिका सिकाउनु जरुरी छ । रासायनिक विषादीको सट्टा जैविक विषादीको प्रयोग गर्न सरोकारवालाहरूले प्रेरित गर्नुपर्ने एफएचआरडीले सुझाव दिएको छ । रासायनिक विषादीको सट्टा जैविक विषादीका रूपमा विभिन्न जीवजन्तुको मूत्र, सिस्नु, तितेपाती, अंगेरी, निम, मौवा, टिमुर, अदुवा, लसुन, मित्र शक्ति जीवाणु वेसिलस थुरेनजेनेसिस, विभिन्न ढुसीहरू प्रयोग गर्न सकिन्छ । कृषकहरूलाई रासायनिक विषादीको असर र प्रयोगबारे जानकारी दिनु आवश्यक छ ।

विषादीको अत्यधिक प्रयोगले क्यान्सर, स्नायु विकासमा असर, छालामा समस्या, गर्भपतन, विकलांग बच्चा जन्मने, बच्चाको वृद्धि विकासमा अनियमितता, वातावरणीय असर पुर्‍याउने भएकाले सरकारले विभिन्न १४ कडाखाले विषादी प्रयोग गर्न पूर्ण प्रतिबन्ध गरेको छ ।

प्रतिबन्धित विषादी जमिनमा लामो समयसम्म रहने र त्यसले विभिन्न असर पार्ने विभिन्न अध्ययनले देखाएका छन् ।नेपालमा क्लोरोडेन, टोक्साफेन, डीडीटी, बीएचसी, डाइअल्ड्रिन, लिण्डेन, इन्डिन, फस्मामिडन, अल्ड्रिन, मिथायल पाराथायन, हेप्टाक्लोर, अर्गेनो मर्करी क्लोराइड, मिरेक्स र मेनोक्रोटोफसलगायत विषादी पूर्ण प्रतिबन्ध गरिएको छ ।

प्रकाशित : श्रावण ३०, २०७६ ०७:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्